
माघ २४ काठमाडौं –भारतीय श्रमिकले नेपालमा काम गर्दा श्रम स्वीकृति लिनु पर्ने भन्दै परिपत्र गर्ने श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका प्रमुखलाई मन्त्रालयले स्पष्टीकरण सोधेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार विभागका निमित्त महानिर्देशक उदय गुप्तालाई यस बारेमा स्पष्टीकरण मागेको हो । बुधबार मन्त्रालयको महाशाखामा विषयको गम्भीरता नबुझी पत्र काटेको र आफूबाट गल्ती भएको भन्दै लिखित स्पष्टीकरण बुझाएको मन्त्रालय श्रोतले जनाएको छ ।
श्रोतका अनुसार विभागका कारखाना निरीक्षक प्रशान्त शाहलाई समेत काठमाडौं झिकाइएको छ । हाल काजमा वुटवल पुगेका शाहले श्रम कार्यालयहरुलाई काटिएको पत्रमा हस्ताक्षर गरेका थिए । गत माघ १० गते भारतीय श्रमिकहरुले नेपालमा काम गर्दा श्रम स्वीकृति लिनुपर्ने सूूचना विभागले जारी गरेको थियो । तर यसबारे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई कुनै जानकारी गराइएको थिएन । मंगलबार संचार माध्यम मार्फत मन्त्रालयले थाहा पाएपछि आपत्ति जनाउँदै यस विषयमा छानविन गर्ने जनाएको थियो ।
भारतीय नागरिकलाई नेपालमा श्रम स्वीकृति अनिवार्य नरहेको र पहिलेकै अवस्था यथावत रहेको पनि मन्त्रालयले प्रस्ट पारेको छ । मन्त्रालयले यसप्रकारको आधारहिन हल्लाको पछि नलाग्न अनुरोध गर्दै श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले प्रधानमन्त्री तथा मन्त्री परिषद्को गत पुुष २६ गतेको परिपत्र भन्दै श्रम कार्यालयलाई गरेको पत्र त्रुटिपुर्ण भनेको छ ।जनसवालदैनिक


