ललितपुर, माघ २९- सांस्कृतिक नगरी ललितपुरमा हस्तकला नगर बिषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
विश्व कला परिषदले ललितपुरलाई ३५ औं हस्तकला नगरी घोषणा गरे पस्चात ललितपुर महानगरपालिकाले सोमबार सो कार्यक्रम आयोजना गरेको हो । ललितपुरलाई विश्व कला परिषदले ४ महिना अघि विश्वको ३५ औं कला नगरी घोषणा गरेको थियो ।
अन्तरक्रियामा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले हस्तकला नगरी घोषणा हुनु धेरै महत्वपूर्ण उपलब्धी भएको बताउदै प्राप्त उपलब्धीबाट महानगरबासीले उचित लाभ लिन सक्ने वातावरण तय भएको बताए । उनले हस्तकलामा नयाँ पुस्तालाई आकर्षित गरेर समृद्ध ललितपुर बनाउन सकिने राय पेश गरेका थिए ।
ललितपुर महानगरपालिकाका उपमेयर गीता सत्यालले हस्तकला नगरी घोषणाबाट ललितपुर महानगर क्षेत्र विश्व कै एक नमुना नगर रहेको प्रमाणित भएको छ भन्दै कलाको जगेर्ना गर्न यसले अझ उत्प्रेरणा र उर्जा मिल्ने धारणा ब्यक्त गरिन ।
विश्व हस्तकला महासंघका एसिया प्यासिफिक क्षेत्रका उपाध्यक्ष धर्मराज शाक्यले हस्तकला मार्फत आर्थिक स्तर उकास्नका लागि ललितपुरमा उत्पादन हुने सामग्रीहरुलाई ब्राण्डिङ गर्न ललितपुर महानगरपालिकाले उचित व्यवस्था गर्नुपर्ने वताए ।
उद्योग बाणिज्य संघ ललितपुरका अध्यक्ष कृष्णलाल महर्जनले नेपाल बाहिर निर्यात हुने ८० प्रतिशत हस्तकलाका सामग्रीहरु ललितपुरको उत्पादन भएको प्रष्ट पारेका छन् । यी सामग्रीहरुलाई विशिष्टिकृत गर्न सके हस्तकलाकर्मीहरुको आर्थिक अवस्था सुधार हुने उनले बताए ।
ललितपुर महानगरका पर्यटन सल्लाहकार दिलेन्द्रराज श्रेष्ठले पर्यटकलाई ललितपुरमा भित्र्याउन कला नगरी घोषणा महत्वपूर्ण भएको बताए । ललितपुरलाई आर्थिक रुपमा समृद्ध बनाउन यसको महत्वपूर्ण भूमिका हुने उनको दावी थियो ।
सो अवसरमा सरोकारवालाहरुले ललितपुरका वासिन्दाको आर्थिक उन्नति हुनुपर्ने तर्फ जोड दिएका छन । उनीहरुले कला नगरीको आधार नै सांस्कृतिक पहिचान रहेको र नगरको आर्थिक अवस्थामा सुधार ल्याउन उल्लेख्य योगदान पुग्दै आएको अौल्याउदै कलाको जगेर्ना गर्न महानगरपालिकाले स्पष्ट कार्ययोजना सहित लगानी गर्नुपर्नेमा जोड दिए ।