काठमाडौ,फाल्गुन-२,शिक्षक महासंघले पुनः आन्तरिक विज्ञापन गर्न माग गरेको छ । महासंघले परीक्षा दिनबाट बञ्चित एवं असफल शिक्षकहरुका लागि एकपल्ट फेरी आन्तरिक विज्ञापन गर्न माग गरेको हो ।शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले समय र अनशनका कारण परीक्षामा सहभागी हुन नपाएका छुट, करार अस्थायी शिक्षकहरुका लागि पुनः आन्तरिक विज्ञापन गर्न सरकारसँग माग गरे । यस मुद्दालाई महासंघले प्रधावकारी ढंगले अगाडि बढाउने उद्घोष गर्दै अध्यक्ष थापाले एकजनापनि अस्थायी शिक्षकहरुलाई अन्याय हुन नदिइने स्पष्ट पारे ।
छुट अस्थायी/करार शिक्षकहरुले आयोजना गरेको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै महासंघका अध्यक्ष थापाले शिक्षक महासंघले अस्थायी शिक्षकहरुका लागि अर्को आन्तरिक विज्ञापन गराएरै छाड्ने उद्घोष गरे ।
महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले सरकारसँगको वार्तामा प्रस्तुत मागमा महासंघले समसामयिक मुद्दा थप गरेर अस्थायी शिक्षकको माग पनि थपेको भन्दै छुट, करार, उच्चमाविमा कार्यरत शिक्षकहरुको लागि पनि पुन आन्तरिक विज्ञापनको माग राखेको स्पष्ट पारे ।
संविधानले समेत सकारात्मक विभेदको कुरा गरेको र त्यो भनेको आन्तरिक विज्ञापन भएको भन्दै सुवेदीले अस्थायी शिक्षकहरुमात्रै होइन स्रोव्यक्ति र तालीम केन्द्रमा कार्यरत शिक्षकहरुका लागि सेवाअवधि सहितको अर्को आन्तरिक विज्ञापन हुनुपर्नेमा जोड दिए ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष लक्ष्मण शर्माले स्थायी शिक्षकको ग्रेड थपिने तर, समान योग्यता र सेवाका अस्थायी शिक्षकहरुको किन नथपिने प्रश्न गर्दै राज्य र मिडियाले अस्थायीलाई अयोग्य भनेर भन्नु गलत भएको बताए । अनसन बसेर, विभिन्न कारणले परीक्षामा सहभागी हुन नपाएका अस्थायी शिक्षकहरुका लागि अर्को आन्तरिक विज्ञापनका लागि वातावरण बन्दै गएकोमा उनको जोड थियो ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनका महासचिव निमबहादुर केसीले संविधानमै रोजगारी र रोजगार छनोटको अधिकार भएकाले अस्थायी शिक्षकलाई जागिरबाट विस्थापित गर्दा संविधान विपरित हुने दावी गरे । बाँकी अस्थायी शिक्षकहरुका लागि अर्को आन्तरिक विज्ञापन गर्नुपर्नेमा उनको जोड थियो ।
अखिल नेपाल शिक्षक संगठनका वरिष्ठ उपाध्यक्ष लक्षीराम ढकालले अस्थायी शिक्षकको माग महासंघले पुरा गर्ने नभइ महासंघले सरकारसग पहल गर्ने बताउनुभयो।