
काठमाडौं–एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ६९ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ ।
प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै अहिले हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल पाएका छौँ । यस वर्ष पनि दिवस तीन दिनसम्म विविध कार्यक्रम गरी मनाइँदैछ । प्रजातन्त्र दिवस मूल समारोह समितिले मङ्गलबार ८ बजे सैनिक मञ्च टुँडिखेलमा औपचारिक समारोहको आयोजना गर्दैछ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपसभामुखलगायतको उपस्थिति रहनेछ ।
प्रजातन्त्र दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन भएको छ । दिवसकै अवसरमा सञ्चार मन्त्रालयले देशभर सञ्चालनमा रहेका सरकारी तथा निजी छापा माध्यम, एफएम रेडियो, टेलिभिजनलगायत अन्य सञ्चारमाध्यमलाई प्रजातन्त्र दिवसको विषयलाई उच्च प्राथमिकता दिई समाचार प्रसारण, बुलेटिन, परिसंवाद, अन्तरिक्रिया आदि कार्यक्रम सञ्चालन गर्न आह्वान गरेको छ । प्रजातन्त्र दिवस मनाउने सम्बन्धमा गठित प्रचारप्रसार उपसमितिको सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको अध्यक्षतामा आइतबार बसेको बैठकले नेपाल टेलिभिजन र रेडियो नेपालबाट फागुन ७ गते सैनिक मञ्च, टँुडिखेलमा आयोजना हुने कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने र अन्य टेलिभिजनले त्यसलाई लिन सक्ने व्यवस्था मिलाउने निर्णय गरेको थियो ।
तीनदिन प्रजातन्त्र दिवस मनाइने
विराटनगर । ६९औँ प्रजातन्त्र दिवस सोमबारदेखि तीनदिनसम्म विभिन्न कार्यक्रम गरी मनाउन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा ५०१ सदस्यीय प्रदेश समारोह समिति गठन गरिएको छ । समितिले तीन दिन सरकारी कार्यालय, औद्योगिक प्रतिष्ठान, शैक्षिक प्रतिष्ठान र निजी क्षेत्रका प्रतिष्ठानमा दीपावली, प्रभातफेरी, सरसफाइ गर्ने र बाल सुधारगृह तथा कोशी अञ्चल अस्पतालमा फलफूल वितरण गर्ने निर्णय गरेको छ भने नेपाल पत्रकार महासङ्घ प्रदेश समितिले विभिन्न सञ्चारमाध्यममा प्रजातन्त्र र लोकतन्त्रका विषयमा संवाद एवं अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्न आग्रह गर्ने निर्णय पनि गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रजातन्त्र दिवस मनाउन प्राप्त साधन र स्रोतको उच्चतम प्रयोग गरिने बताए । आजको जनसवालडटकममा समचार छ।


