
काठमाडौं। नेपालमा वार्षिक सवासय फिल्महरु निर्माण हुँदै प्रदर्शनमा आउँछन् । जसमध्ये १० वटा चलचित्रले मुश्किलले लगानी उठाउने गरेका छन् । बर्षमा दुई वा तीन चलचित्रले भने राम्रै आम्दानी गर्छन् । प्रविधिको विकास–विस्तारसँगै चलचित्रको बजार फराकिलो बन्दैछ । नेपाल बाहिर पनि नेपाली फिल्म चल्ने गरेका छन्, जसले फिल्म क्षेत्रलाई भरथेग मात्र गरेका छैन निर्मातालाई सुरक्षित समेत गरेको छ । अझ डिजिटल बजारले फिल्म क्षेत्रलाई नयाँ आस दिएको छ । रजतपटमा फिल्महरुलाई गीतले पब्लिसिटीको दरिलो टेको त दिएकै छ भने बजार बढाउन समेत सहायकसिद्ध भएको छ । फिल्म चल्नुमा गीतको पनि धेरथोर भूमिका रहने छँदैछ, निर्माताहरूले यूट्यूबमा राखिने गीतबाट ‘भ्यूज’ को आधारमा करीब १५ प्रतिशत मुनाफा पाइरहेका छन् ।
लगानी सुरक्षित गरेको फिल्म ‘दुई रुपैयाँ’ को कुटुमा कुटु अहिलेसम्म यूट्यूबमा हेरिएकामध्ये सर्वाधिक भ्यूज पाएको नेपाली गीत हो । लोक लयको सो गीतमा फागुन दोश्रो सातासम्ममा यो गीतको भिडियो ९ करोड ४५ लाखभन्दा बढी पटक हेरिएका छन् । यसबाट करीब रु १ करोड ४० लाख आम्दानी भएको अनुमान छ । यो फिल्मको निर्माणको लागत भने रु ६० लाख हो । निर्माताहरूका अनुसार यूट्यूबमा एक करोड भ्यूज हुँदा डिजिटल अधिकारप्राप्त कम्पनीबाट करीब १५ लाख रुपैयाँ प्राप्त हुन्छ । पहिला यो गीत फिल्म छक्का पञ्जा टिमले लिने भनिए पनि फिल्ममा समावेश भने गरेकोे थिएन ।
फिल्मको कुल लगात रकम नै एउटा गीतले कमाएको सायद नेपाली फिल्ममा यो नै पहिलो पटक हो । हुन त करोड क्लवको लिष्टमा यो गीत मात्र हैन दर्जनौं गीतहरु करोड क्लवमा परिरहेका छन् । तर यति धेरै रुचाईएको गीत भने कुटुमा कुटु नै पहिलो हो । गीत संगीतलाई राम्रो बनाउन सके फिल्मलाई त प्रत्यक्ष फाईदा पुग्छ नै, आम्दानीमा पनि केही राहत पक्कै हुनेछ । फिल्म निर्माण गर्दा कथा, पटकथासँगै गीत संगीतमा पनि मेहनत गर्ने की निर्माताज्यूहरु ?


