
शिव रेग्मी
फागुन १६, काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा सहरी सुव्यवस्था कायम गर्नका लागि महानगरीय प्रहरी परिषर काठमाडौंलाई सहयोग गरेको छ ।
काठमाडौं महानगरपालिकाले आज काठमाडौंमा आयोजना गरेको काठमाडौं महानगरपालिका र महानगरीय प्रहरी परिषर काठमाडौंबीच सहरी सुव्यवस्थापनका लागि सिसी टिभी क्यामेरा प्रणाली जडान तथा सञ्चालन सम्बन्धी सम्झौता पत्र आदान प्रदान र रकम हस्तान्तरण कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रहरी महानिरिक्षक सर्बेन्द्र खनाललाई ३ करोड रुपैंयाँको चेक हस्तान्तरण गर्नुभएको थियो ।
सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुँदै काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाले प्रहरीलाई थप जिम्मेवारी दिएको उल्लेख गर्नुहुँदै महानगरले समूदाय प्रहरी साझेदारी कार्यक्रमको प्रभावकारी कायान्वयन गरेको बताउनुभयो । काठमाडौंमा शान्ति सुरक्षा कायम गर्न र सुव्यवस्था कायम गर्न यस्ता कार्यक्रमले सहयोग पुर्याउने बताउदै प्रमुख शाक्यले अरु स्थानीय तहसंग पनि सहकार्य गर्न प्रहरीलाई यस कार्यक्रमले सहयोग पुरयाउने विश्वास व्यक्त गर्नुभयो ।
अपराधका घटन हुन नदिन विशेष सक्रिय भएर लाग्न प्रहरीलाई आग्रह गर्नुहुँदै कामपा प्रमुख शाक्यले यदि बजेट कम भएमा चालु आर्थिक बर्षमा महानगरले नेपाल प्रहरीलाई २ करोड रुपैयाँ थप दिने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।
काठमाडौंको शान्ति सुरक्षा र सहरी सुव्यवस्था कायम गरी समूदायलाई सुरक्षित बनाउन महानगरपालिका लागिरहेको र महानगरको यस अभियानमा प्रहरीसंगको सहकार्यले सहयोग पुर्याउने पनि विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख शाक्यले नतिजामुखी कार्य गर्न नेपाल प्रहरीलाई आग्रह पनि गर्नुभयो ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सार्वजनिक सम्पतिको संरक्षण, प्रदुषण नियन्त्रण, फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन लगायत समग्र काठमाडौमा शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्न महानगरपालिका र प्रहरी बीचको सहकार्यले महत्वपूर्ण सहयोग पुर्याउने पनि बताउनुभएको थियो ।
कार्यक्रममा काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले सिसी क्यामेराले महानगरबासीलाई सुरक्षित बनाउन र काठमाडौंको फोहरमैला व्यवस्थापनमा सहयोग पुर्याउने बताउनुभएको थियो ।
कार्यक्रममा प्रहरी महानिरिक्षक सर्बेन्द्र खनालले प्रहरीलाई सहरलाई सुरक्षित राख्न र अपराध नियन्त्रण गर्न तथा अुसन्धान गर्नका लागि यस्ता कार्यले महत्वपूर्ण सहयोग पुर्याउने बताउदै काठमाडौंलाई सुरक्षित बनाउनका लागि प्रहरी लागिपरेको बताउनुभएको थियो ।
प्रहरीलाई प्रविधियुक्त बनाउनका लागि महानगरले गरेको सहयोग महत्वपूर्ण भएको उल्लेख गर्नुहुँदै महानिरिक्षक खनालले नेपाल प्रहरीले महानगरसंग सहकार्य गरेर कार्य गर्ने पनि बताउनुभएको थियो ।
काठमाडौं महानगरपालिका र महानगरीय प्रहरी परिषर काठमाडौंबीच सहरी सुव्यवस्थापनका लागि सिसी टिभी क्यामेरा प्रणाली जडान तथा सञ्चालन सम्बन्धी सम्झौता पत्र आदान प्रदान र रकम हस्तान्तरण कार्यक्रममा सहरी सुव्यवस्थापनका लागि सिसी टिभी क्यामेरा प्रणाली जडान तथा सञ्चालन सम्बन्धी सम्झौता पत्रमा काठमाडौं महानगरपालिकाका सह सचिव डा.टोकराज पाण्डे र प्रहरी नायब महानिरिक्षक शैलेश थापा क्षेत्रीले हस्ताक्षर गर्नुभएको थियो ।
सो सम्झौतापत्रमा काठमाडौं महानगरपालिका सूचना प्रविधि विभागका प्रमुख राज्य प्रकाश प्रधानांग र महानगरीय प्रहरी परिषर काठमाडौंका प्रमुख बसन्त लामाले साक्षीको रुपमा हस्ताक्षर गर्नुभएको छ ।
कार्यक्रममा सम्झौता पत्र आदान प्रदान पनि गरिएको थियो ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव कोइराला, सल्लाहकार राजेन्द्र स्थापित, सहसचिव भरत अर्याल, विभागीय प्रमुखहरु लगायतका कर्मचारीहरु र नेपाल प्रहरीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


