शव परिक्षण गर्न समय लाग्ने भएपछि टुँडिखेलको आजको श्रद्धान्जली सभा स्थगित : शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन १६ गते, बिहीबार १७:४४

फागुन १६, काठमाडौं– परीक्षणका लागि शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएकोमा शव परिक्षण गर्न समय लाग्ने भएपछि टुँडिखेलको आजको श्रद्धान्जली सभा स्थगित भएको हो । शव पहिचान गर्न सक्ने अवस्थामा नरहेकोले डीएनए परिक्षण गर्नु पर्ने भएकाले समय लाग्ने भएको हो । टुँडिखेलमा शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म श्रद्धान्जलीका लागि राखिने भएको छ ।
पोष्टमार्टमको कामले समय लिएको हुँदा ताप्लेजुंग दुर्घटनामा दिवंगत मन्त्रीसहितका व्यक्तित्वप्रति श्रद्धान्जली कार्यक्रम भोली बिहान ८-११ बजेसम्म हुने प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् ।
पोस्टमर्टमका लागि शिक्षण अस्पतालले डा.रामप्रसाद उप्रेतीलगायत सात जनाको टोलीलाई खटाएको छ । टोलीले एउटा शवको पोस्टमर्टमका लागि कम्तीमा एक घण्टा लाग्ने बताइएको छ ।
एउटा शवलाई एक घण्टा लाग्ने हुँदा सातै वटा शव पोस्टमर्टम गर्दा कम्तीमा पनि सात घण्टासमय लाग्ने बताइएको छ ।
पोस्टमर्टम सँगसँगै कतिपय शव नचिनिने अवस्थामा रहेकाले डीएनए परीक्षणमार्फत पनि छुट्याउनु पर्ने भएकाले त्यसका लागि थप समय लागेको हो ।
काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो । जनसवाल डट कम

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु