
काठमाडौं–भारत र पाकिस्तानबीच तनाव बढेपछी नेपालले आफ्नो धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै वार्ता र शान्तिपूर्ण माध्यमद्वारा समस्या समाधानका लागि आग्रह गरेको छ । विज्ञप्तिमा कश्मिरको पलवामामा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच बढेको तनावलाई लिएर नेपाल सरकार चिन्तित रहेको उल्लेख गरेको छ ।
नेपालले सार्कको अध्यक्ष राष्ट्रका नाताले नेपाल दक्षिण एसियामा शान्ति र स्थायित्वको महत्वमा जोड दिन चाहेको उल्लेख गरेको छ । नेपालले दुवै पक्षलाई अधिकतम संयम अपनाउन र यस क्षेत्रमा शान्ति र सुरक्षामा खलल पुग्ने कार्य नगर्न आग्रह गरेको छ । साथै तनावलाई कम गरेर स्थिति सामान्यिकरण गर्नका लागि वार्ता र शान्तिपूर्ण माध्यममार्फत समाधान खोज्न पनि नेपालले भारत र पाकिस्तानलाई आग्रह गरेको छ ।


