काठमाडौं, २३ फागुन । राष्ट्रिय जनता पार्टी (राजपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । आफ्ना निर्वाचित सांसद रेशम चौधरीमाथि आजीवन काराबास फैसलापछि राजपाको अध्यक्ष मण्डलको आपतकालिन बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले पार्टीका सांसद चौधरीलाई जन्मकैदको सजाय दिने जिल्ला अदालत कैलालीको फैसलाले पार्टीलाई स्तब्ध र मर्माहत बनाएको निष्कर्ष निकाल्दै त्यसविरुद्ध आन्दोलनमा आउन पनि सबै विचार मिल्ने अधिकारवादी एवं पहिचानवादी पार्टी, संगठन र समूहलाई आह्वान पनि गरेको छ ।
एक वर्ष बित्दा पनि आफूहरुसँग गरिएको सहमति अनुसार संविधान संशोधन समेत नगरेकाले सरकारलाई दिएको समर्थन फिर्ता लिनु परेको पार्टीद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
राजपाले सरकारलाई बाहिरबाट समर्थन गर्दै आएको थियो ।
कलाली जिल्ला अदालतले टीकापुर घटना मुद्दाको कैलाली जिल्ला अदालतले सासंद रेशम चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक झडपमा नेपाल प्रहरीका एसएसपीसहित ८ जनाको मृत्यु भएको थियो । घटनापछि फरार भएका चौधरी कैलाली १ मा राजपाबाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेका थिए । वारेसमार्फत चुनाव जितेको प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतसम्म गएका चौधरीले मुद्दा हारेपछि १४ फागुन २०७४ मा जिल्ला अदालत कैलाललीसामू आत्मसमर्पण गरेका थिए ।
तर, जेलमै रहेका बेला गत १९ पुस २०७५ मा सरकारकै विशेष पहलमा चौधरीले सांसदको शपथ लिएका थिए ।