नेत्र बिक्रम बिमली / बिर्तामोड । त्रिभुवन आर्मी क्लब चौथो झापा गोल्डकप च्याम्पियन बनेको छ । सोमबार सम्पन्न फाइनल खेलमा मगमग झापा ११ लाई ५—३ गोलअन्तरले पराजित गर्दै आर्मीले उपाधि जितेको हो । जितेसँगै आर्मीले नगद १२ लाख ५५ हजारसहित ट्रफी हात पार्यो । उपविजेता बनेको झापाले नगद ६ लाख ५ हजारमा चित्त बुझायो । डोमालाल राजवंशी रंगशालामा सम्पन्न प फाइनल खेलमा आर्मीले जितका लागि पहिलो हाफमा २ र दोस्रो हाफमा ३ गोल गर्यो ।इझापाले भने पहिलो हाफमा एक र दोस्रो हाफमा २ गोल गरेको थियो । पहिलो हाफको २४ मिनेटमा आर्मीका सन्तोष तामाङ फ्रि किक मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले व्यत्तिगत २ गोल गरे । आर्मीको जितका लागि क्याप्टेन भरत खवास, टेकबहादुर बुढाथोकी, नवयुग श्रेष्ठले गोल गरेका हुन् । झापाका लागि योगेश गुरुङ, विदेशी खेलाडी फान्सिस् र भिक्टोरले गोल गरे । झापा गोल्डकपको फाइनलमा झापा र आर्मीको यो तेस्रो भेट हो । आर्मीले झापालाई नै पराजित गर्दै पहिलो र तेस्रो सिजनको उपाधि हात पारेको थियो । झापा ११ भने चौथो पटक फाइनलमा पुगेपनि हालसम्म उपाधी रक्षा गर्न सकेन ।