• कविता – सरस्वती गजुरेल – बास्तविकता मेरो देशको

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलवार २०:४१

    बास्तबिकता मेरो देशको

    वयस्क छोरोले खाडीमा पैसाको बीरुवा कुरिरहँदा
    बृद्ध बा–आमा मर्नुअघी हिरनको आशले छटपटिरहेछन्
    स्याहार–सुसार त कहाँ हो कहाँ एकादेशको कथा !
    आफ्नै सौन्दर्यतालाई अभिशाप मान्दै
    एसिडै एसिडको उपहार बोकिरहेछीन छोरी
    लेखिएका ती कानुनहरु सेता कागजमा
    काला र चम्किला टल्किरहने अक्षरहरुले गिज्याइरहेछन् ।

    ती स्वतन्त्रता अपहरित
    अन्याय भोग्न विवश ती निर्दोष मनहरुले
    हट्दै गएको केही रुढीबादी तरपनी
    देखेर वाक्क छिन मेरी नेपाल आमा
    भड्किलो परम्परा रितिरिवाज अनि
    देखावटी आधुनिकताको खोक्रो नमुना
    धमिराको देबलले खोक्रिएको काठजस्तै
    भ्रष्टाचारी, घुसखोरी र अन्यायको मुस्लोले
    ढाकिएको घुर्मैलो बादल छ मेरो देशमा
    जस्ले शान्ति र न्यायको उज्जर प्रकाश छेकिरहेछ ।

    जबर्जस्त हटाएपनी बालविवाह
    सामाजिक सञ्जालले भित्राएको विकृती
    हाईफाई र शैक्षिक अन्धाहरुको बडापन
    दाइजो र आडम्बरिताको विशाल त्यो माला
    बृद्ध विधवा आमाले भिर्न विवश बोक्सीको पगरी
    बृद्धाश्रमको त्यो बिलौनामय रोदनका आँशु ढिका
    कठै ती कलिला कर्णधार दिनदहाडै बलात्कृत हुँदा
    अपराधीले उन्मुक्ति, पीडितले अन्याय पाएको देख्दा
    बरु अन्धो अनि बहिरो बनाइदेउन भगवान मलाई
    कि त एक असल सपूत जन्माइदेउ न देशलाई ।

    विदेशीले दिनहुँ सिमाना मिचिरहँदा,
    नेपाल आमाको छातीमा कुल्चिरहँदा
    खाडिमा साठी डिग्रीको तापले जलेको मुटु
    ढुकढुकी स्वास लिएर पर्खिरहेछ देश फर्कन भनि
    रोहिरहेछिन हाम्री आमा भाक्कानिदै
    आफ्नो कोख किन बाँझो भएन भनी
    लुछाचुडि गरी कुल्चिरहँदा आफ्नी आमालाई
    टुलुटुलु हेरिमात्र रहने सन्तान किन जन्मे भनि ।

    रोल्पाली मानेदाईले जब आन्नदले भुँडी भर्छन
    तब तिमी खुशीले बेस्सरी हास्नेछौ नि आमा
    पि.आर. धारी सन्ततिले जब निसङ्कोच चुम्नेछन
    आमाका फुटेका हात र बाबाका कोतरिएका खुट्टाहरु
    तव,
    डिग्री पासका सट्टिफिकेट सजावटी सामान बन्ने छैनन्
    पि. एच. डि. धारीहरुले बहुविवाह, छोराको आश गर्दैनन्
    विधवा आमा बोक्सी र बालिका बलात्कृत हुने छैनन्
    मास्टरकी छोरीले निर्धक्क प्रेमीसगं बिहे गर्नेछिन
    फोहोर र प्रदुषण उडाएर लैजाने छ विकास लहरहरुले
    अनि बल्ल मुसुक्क मुस्कुराउँदै हाँस्नेछ मेरो देश
    सुन्दर फूलहरुले जस्तैगरि मगमगी बास्ना दिएर
    हिमाल झै सेता हँसिला ती दन्तलहर देखाएर
    हाँसी रहने छ मेरो देश, म त्यहि प्रतिक्षामा छु ।


    सरस्वती गजुरेल
    बेलकोटगढी–१०, नुवाकोट
    (विज्ञान विषयको शिक्षीका कल्याणीदेवी माध्यामिक विद्यालय जिलिङ)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु