कतारमा रहेको नेपाली हरूको हितमा निरन्तर काम गर्न चाहाना छ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन ३० गते, बिहीबार १०:३५

फागुन ३०, काठमाडौं ।मोहम्मद मुक्तदा मुसलमान, लामो समयदेखि कतारमा क्रियाशील नेपालीमध्ये परिचित नाम हो । अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारका अध्यक्ष, एनआरएनए कतारका सल्लाहकार, प्रदेश नम्बर ५ को समन्वय समिति कतार समाज सेवा अभियान रुपन्देहीका सल्लाहकार, कपिलबस्तु मुस्लिम समाजका संरक्षक तथा एनआरएन कतारको पूर्व सचिवालय सदस्यजस्ता विभिन्न स्थानमा रहेर क्रियाशील रहेका मुक्तदा सधै कतारमा नेपालीको हित र सहयोगमा व्यवस्त रहन्छ । अहिले अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतार कतारको अध्यक्ष पदमा रहेका उनी कतारमा लगभग १५ वर्षदेखि निर्माण सम्बन्धी व्यवसाय, आयात निर्यात व्यवसाय र सक्रियरुपमा विभिन्न सामाजिक कार्यहरूमा समेत सहभागी हुँदै आइरहेका छन् । कतारको एनआरएनए अभियानमा विशिष्ट भूमिका निर्वाह गरेका मुक्तदाले एनआरएनको आगामी कार्यकालका लागि आफुलाई विना प्रचार र तयारीविनै अध्यक्षको बलियो दाबेदारका रुपमा प्रस्तुत गरिरहेका छन् । जहाँ र जुनसुकै स्थानमा रहेपनि कतारमा नेपालीहरुको हित र अभिवृद्धिमा काम गर्न प्रतिबद्ध मुक्तदासँग कतारमा नेपाली, नेपाली समुदाय, एनआरएनए तथा विविध मुद्वामा केन्द्रित रहेर जनसवाल दैनिकका लागि रामजी बगालेले गरेको अन्तवार्ताको सारसंक्षेप :

कतारमा के गर्दै हुनुहन्छ ? कस्तो यहाँकोे व्यवसाय ?
कतारमा म विगत लामो समयदेखि विभिन्न व्यवसायमा सक्रिय छु । जसका कारण कतारमा हाम्रो व्यवसाय राम्रारी स्थापित भएको छ । अहिले हामी केही कामदारलाई रोजगारी दिन पनि सक्षम भएका छौं । मेरो आयात–निर्यात अर्थात फुडसम्बन्धी व्यावासायमा १७ जना र निर्माण सम्बन्धी व्यवसायमा ३०० भन्दा बढी कामदारहरू रहेका छन । व्यवसाय राम्रैसँग चलिरहेको छ । म कर्मचारीहरूको संख्यामा भन्दा पनि उनीहरूलाई प्रदान गर्न सकिने सेवा सुविधामा बढी केन्द्रित हुन्छु । र, हामरो व्यवसायमा आबद्ध कर्मचारीहरू सबै सन्तुष्ट देखिन्छन । यसैमा खुसी छु ।

व्यवसाय एवं सामाजिक कार्य पनि गरिरहनुभएको छ । सामाजिक कार्यमा कत्तिको सक्रिय हुनुहुन्छ ?

व्यवसाय गर्नु मात्र ठुलो कुरा हैन । सामाजिक कार्यमा सक्रिय हुनु पनि हरेक नागरिकको कर्तव्य हो भन्ने भावले निरन्तर विभिन्न सामाजिक कार्यहरूमा सक्रियरुपमा सहभागी हुँदै आइरहेको छु । कतारमा विपदमा फसेका नेपालीहरूलाई उद्धार गर्ने देखि अन्य सर सहयोग गर्नेकार्यहरु गर्दै आइरहेको छु । यहाँ काम गर्न आएर दुःख विपदमा फसेका नेपालीहरूलाई सहयोग, उद्धार र साथ दिनकोलागि पनि सामाजिक कार्य महत्वपूर्ण अभियान साबित भईरहेको छ । त्यसर्थ, सामाजिक कार्यहरुमा सक्रिय हुनु पनि महत्वपूर्ण पक्ष हो ।

नेपाली कामदारहरूको अवस्था कस्तो छ कतारमा ?
खाडी मुलुकहरुमध्ये अहिले पछिल्लो समयको सबैभन्दा राम्रो देश कतार नै भएको तथ्याङ्कमा देखिएको छ । तर, पछिल्लो समयको नाकाबन्दीले गर्दा केही झिनो समस्या देखा परेको भए पनि त्यसको नीतिगत समाधान भईनै सकेको छ । नेपाली कामदारहरुको लागि त कतार एकदमै उचित र उपयुक्त रोजगारीको गन्तव्य बनिरहेको छ । नेपालीहरू इमानदार हुन्छन भनेर कतार सरकारले पनि नेपालीहरूलाई विशेष महत्व दिने गरेको छ । कामदारहरूले दुःख पाउनेजस्तो समस्या अहिले छैन । कहीँ कतै दलालहरूको कारण केही साना–तिना समस्याहरू देखा पर्ने गरेको भएता पनि समग्रमा नेपाली कामदारहरुकोलागि कतार उपयुक्त गन्तव्य हो ।

कतारमा नेपाली कामदारहरूलाई भविष्यमा पनि सम्भावना छ ?
हो कतारमा विशेषतः नेपालीहरूलाई सम्भावनाहरूको लहर नै छ । यहाँ कामको अभाव छैन । यहाँको श्रम बजार व्यापक छ । त्यसर्थ, जताततै श्रमका अवसरहरू प्रशस्त छन । र, हरेक कामकोलागि कतार सरकारले नेपालीहरूलाई औधी रुचाउँछन । श्रमको सबै क्षेत्रहरूमा नेपालीहरूले राम्रो अवसर पाई नै रहेका छन् र भविष्यमा पनि यस्ता सुन्दर अवसरहरू पाई नै राख्नेछन । किनभने, कतार सरकारले नै नेपालीहरूलाई प्राथमिकतामा राखेको छ त अरू कसको के लाग्छ ? अर्थात, समग्रमा नेपालीहरुको लागि कतार एकदमै विशेष मुलुक हो ।

कतामा एनआरएनको नेत्तृत्वमा जाने प्रयास गर्नुभएको थियो, असफल हुनुभयो ? के भन्नुहुन्छ ?
हो । मभित्रको बढ्दै गएको समाजसेवाको तृष्णा मेटाउन एनआरएनजस्तो विशाल संस्थामा जोडिउँ जसले गर्दा व्यापक रुपमा समाजेवामा अझ बढी सक्रिय हुन सकुँ भन्ने मनोभावले प्रयास गरेको थिए । तर, सफल हुन सकिन । र, यसपालि पुनः प्रयास गर्ने सोचमा छु । असफलताबाट भाग्ने वाला मान्छे हैन म, असफलता नै सफलताको पूर्वसंकेत हो भन्नेमा म विश्वस्त छु ।

यहाँ एनआरएन अध्यक्ष हुनुभयो भने के छ यहाँको भिजन ?
मेरो सोचाइ के भने–संस्थाले नाचगान, चाडपर्व र सांस्कृतिक कार्यक्रम गर्ने मात्र हैन बरु संस्थालाई आर्थिकरुपमा लगभग ५ लाख रियालभन्दा बढीको कोषयुक्त मजबुत बनाएर नेपालको कुनै अनाथालय, बृद्धआश्रम, स्कुल वा चिल्ड्रेन पार्क आदि संचालनार्थ दान गर्न सक्नुपर्छ जसलाई असली समाजसेवा भनिन्छ । मेरो खाट्टी सोच भनेको कतार एनआरएनले नेपालको सामाजिक एवं आर्थिक रुपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउन सक्नुपर्छ भन्ने हो । अर्थात, नेपालमा लगानी गर्नुपर्छ भन्ने नै मेरो प्रमुख सोच हो । र, यस्तो आर्थिक मजबुदीको निमित्त मैले मेरो व्यावसायिक ज्ञानलाई प्रयोग गरेर संकलन गर्न सक्नेछु भन्ने लागेको छ । साथै, कोही दुःख पाएका कामदारहरु छन भने दूतावासको सहायतामा सहयोग, उद्धार र सहायता प्रदान गर्ने कुरामा प्रतिबद्ध रहँदै आएको नै छु ।

एनआएनको चुनाव हुनेवाला छ । के छ यहाँको तयारी ?
हा हा, म त एनआरएनको चुनाव बारे सोचेको पनि थिइन । यहाँले अन्तवार्तामार्फत सम्झाएर मलाई जगाइदिनुभयो । अहिलेसम्म मैले कुनै तयारी गरेको छैन । र, कुनै तामझाममय तयारी गर्ने पक्षमा पनि छैन म । साधारणरुपमा उम्मेद्धवारी दर्ता गरेर आफ्नो उद्देश्य, लक्ष्य र भिजन प्रस्तुत गर्ने हो । त्यसकोलागि अहिल्यैदेखि तयारी गर्नुपर्छजस्तो मलाई लाग्दैन । आखिर नेतृत्वकोलागि चाहिने भनेको इमान्दारिता, सक्रियता र जवाफदेहिता हो जसको म निरन्तर विकास गरिरहेको छु, अरू तयारी के चाहिन्छ र ।
विश्वकप फुटबल २०२२ कतारमा हुँदै छ । त्यसबाट, नेपाल र नेपालीहरूले के कस्तो फाइदाहरू लिन सक्छन ?
हो, कतारमा विश्वकप फुटबल २०२२ हुँदैछ । त्यही सिलसिलामा नेपालीहरूले विभिन्न कामहरूको अवसरहरू पाउन सक्छन । किन पनि भने, नेपालीहरूलाई विभिन्न जिम्मेवारी र अवसरहरू प्रदान गर्ने भनेर कतार सरकारले नै घोषणा नै गरिसकेको छ । त्यसर्थ, विश्वकपबाट नेपालीहरूले लिन सक्ने फाइदाहरू धेरै छन । मुख्य गरेर ठुलो संख्यामा सेक्युरेटी गार्ड, होटेल व्यवस्थापन र सरकारको जीटुजी पोलिसी अन्तर्गत अनेकौँ फाइदाहरू लिन सकिन्छ ।

कतारबाट नेपाल राष्ट्रले लिन सक्ने फाइदाहरू के–के छन् ?
नेपालले कतारबाट धेरै फाइदा लिन सक्छ । कतारबाट नेपालले सिक्नुपर्ने र फाइदा लिनुपर्ने कुराहरू धेरै छन । कतारले नेपालमा सहयोग र लगानी व्यापक गर्ने भनेर घोषणा नै गरिसकेको छ । जस्तो कि खेलमैदान, एयरपोर्ट । र, कतारमा आएर धेरै समयसम्म यहाँ काम गरेर अनुभव बटुलेर नेपाल फर्किएर विभिन्न क्षेत्रमा लगानी गरेर देशकोलागि जो सकेको योगदान पनि गरिरहेको छ । साथै, कतारको प्रविधि, ज्ञान, सिप र अन्य विकासका महत्वपूर्ण रहस्यात्मक कुराहरूलाई नेपाले सिको गरेर समृद्धिको यात्रामा लम्किन सक्छ । यदि नेपाल सरकारले चाह्यो भने कतारले नेपालमा व्यापक लगानी गर्न तयार रहेको कुरा जिकिर गरिनै सकेको छ कतार सरकारले ।
यहाँ व्यापार व्यवसायको अलावा समाज सेवामा पनि सक्रिय हुनुहुन्छ ? कसरी सम्भव भईरहेको छ ?
समाजसेवा कुनै व्यवसाय हैन । कुनै व्यापार पनि हैन । तलब आउँदैन । तैपनि, आफ्नो व्यवसायबाट समय निकालेर समाजसेवामा लागिरहेको छु । किनभने, समाजसेवा हरेक सचेत नागरिकको दायित्व हो । एउटालाई दुःख विपत पर्दा अर्कोले सहयोग गरेन भने कसरी समाज रुपान्तरण र परिवर्तन हुन्छ ? व्यापार व्यवसाय, जागिर वा दौलत सँगसँगै मानिसहरूमा मानवियता पनि हुनु सबैभन्दा महत्वपूर्ण पक्ष हो । सोही भावनाले, हामी अन्तर्राष्ट्रिय मुस्लिम संघ कतार मार्फत विभिन्न सामाजिक कार्यहरूमा सक्रिय रुपमा परिचालित हुँदै आएका छौ ।

तपाईँको विचारमा व्यवसाय ठुलो कि समाजसेवा ठुलो ?
मेरोलागि त यी दुई पक्ष कुन ठुलो वा कुन सानो भन्दा पनि दुवैको बराबर महत्व छ जीवनमा । यदि व्यापार व्यवसाय भएन भने आर्थिक उपार्जन हुँदैन । आर्थिक उपार्जनबिना समाजसेवा सम्भव हुँदैन । र, समाजसेवा बिना मानवियता पुष्टि हुँदैन । खुसी र सन्तुष्टिको आधार समाजसेवा हो भने आम्दानीको आधार व्यापार हो । त्यसर्थ, व्यवसाय र समाजसेवा लाई एकै सिक्काका दुई पाटोको रूपमा लिनु उपयुक्त ठान्दछु ।
अन्तमा, नेपाल सरकार, नेपाली र कतारमा बस्ने नेपालीहरूलाई के भन्न चाहनुहुन्छ ?
नेपाल सरकार अहिले स्थायीरुपमा राम्रो काम गरिरहेको छ । अहिले सरकारको सम्पूर्ण कार्ययोजनाहरु अत्यन्त सराहनीय छन । सरकारले पनि राम्रै काम गरिरहेको छ । मूल कुरा नेपालमा भ्रष्ट्रचार भने व्यापक छ । सम्पूर्ण निकायहरूमा भ्रष्टाचार व्यापक रहेको तथ्याङ्क देखिन्छ । देशको विकासको निमित्त सबैभन्दा महत्वपूर्ण कुरा भनेको भष्ट्रचार न्यूनीकरण हो । जसकोलागि क्यासलेस सिस्टम हुनुपर्दछ । सम्पूर्ण स्तरमा डिजिटल क्यास प्रणाली अनिवार्य बनाउनुपर्छ । नेपालको भ्रष्टाचार रोकेर विकासको गतिलाई व्यापकरुपमा अघि बढाउने एउटै प्रमुख उपाय भनेकै– क्यासलेस प्रणाली हो । यसलाई सबै नेपाली र नेपाल सरकारले मनन, लागू र पालना गरुन भन्ने शुभकामना छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु