• विकास निर्माणको कार्यमा एकमतका साथ अघि बढेमा मात्रै पालिकामा बसोबास गर्ने नेपाली जनताहरु आत्मनिर्भर बन्न सक्छन : प्रभु साह

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार २०:३३

    मो.मोजिबूलाह चैत १ रौतहट। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रदेश नम्वर २ का अध्यक्ष तथा प्रतिनिधि सभा साँसद प्रभु साहले विकास निर्माणको कार्यमा एकमतका साथ अघि बढेमा मात्रै पालिकामा बसोबास गर्ने नेपाली जनताहरु आत्मनिर्भर बन्न सक्ने बताउनु भएको छ ।

    रौतहटको कटहरिया नगरपालिकाको दोश्रो नगर अधिवेशनको शुक्रवार कटहरियामा उदघाटन गर्दै उक्त कुरा बताउनु भएको हो । अध्यक्ष साहले वर्तमान सरकार प्रत्येक नेपालीलाई आत्मनिर्भर बनाई सुखी बनाउने दायित्वका साथ अघि बढेको हुँदा पालिका स्तरमा गरिने विकास निर्माणको कार्यमा हातेमालो गरेर अघि बढ्न सुझाव दिए ।

    कटहरिया बजार जिल्लाकै पुरानो एवं व्यापारिक केन्द्रको रुपमा रहेको छ, यहाँ समुचित रुपमा बाटोघाटो, स्वास्थ्य शिक्षा, स्वच्छ खानेपानीको पुर्वाधारहरु खडा गरेपछि मात्रै नगरभित्रका जनताहरु पालिका भएको महसुस गर्दै विकास निर्माण तिर एकता बद्ध भएर लाग्ने बताए । वाद विवाद तथा झिनामसिना कुराहरुमा समय खेर नफाली आपसी समझदारीमा अघि बढ्दा नगरको वृहत्तर विकास हुने प्रतिक्रिया दिए ।

    किसानहरुको उर्वर भुमिको रुपमा रहेका कटहरिया क्षेत्रमा आधुनिक कृषिको व्यवस्थापन, किसानलाई बाह्रै महिना सिचाईको लागि सोलार पम्प, लघु वित्तिय कारोवारको समुचित व्यवस्थापनको साथै शिक्षालाई सुधार गर्न विद्यालय नजाने शिक्षकलाई यथोचित कारवाही गर्न पालिकाले ठोस कानुन बनाएमा मात्रै नगरको मुहार फेरिने बताए ।

    प्रदेश साँसद कुन्दन कुश्वाहा ,नागेन्द्र यादवले निर्धारित समय भन्दा निकै ढिलो भएको नगरपरिषदबाट विकास निर्माणको ढोका खुलेको भएपनि नगरको हितमा ध्यान दिएर सहमतीमा विकासको कार्यक्रमहरु अघि बढाउन सुझाव दिए । विकास विरोधी तत्वहरुका कारण ढिलो भएको नगरपरिषदले अगामी दिनमा विकासको गति पाउन भने शुभकामना दिए ।
    कटहरिया नगरपालिकाको मेयर सियाराम कुश्वाहा ९फिरोज० ले विपक्षीहरुको विभिन्न षड्यन्त्रका कारण आफू कारागार जानु परेको जिकिर गर्दै कारागार जानु अघि विकासको लहर चलेको कटहरियामा पछिल्लो समयमा चरम भ्रष्टाचार, आर्थिक अनियमितताका कारण अहिले विपक्षीहरु नगरपरिषद गर्न नदिने मनस्थितिमा रहेको हुँदा पनि दुई तिहाई बहुमतबाट नगरपरिषद सम्पन्न गराउन पाउदा पालिका सदस्यहरुलाई धन्यवाद दिए ।

    गत असार २५ गते भित्र चालु आर्थिक बर्ष २०७५/७६ को योजना तथा कार्य निति प्रस्तुत भई विकास निर्माणको योजनाहरु अघि बढाउनु पर्ने भएपनि आफू कारागार जाँदा सवै कार्यहरु प्रभावित भएको स्वीकार गरे । ढिलो भएपनि नगरको विकासका लागि सवै संग हातेमालो गरेर अघि बढ्ने उनले स्पष्ट पारे । चालु आर्थिक बर्षमा विभिन्न शिर्षकमा गरी ४० करोड ६५ लाख १०३८ रुपैया बराबरको योजना तर्जुमा गरिएको उनले गरिएको कार्यपत्रमा उल्लेख गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु