• कतारमा व्यापार को अवसरै अवसर रहेको छ- -सुशील तामाङ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार १२:१५

    नेपालको सिन्धुपाल्चोक स्थायी घर भएका सुशील तामाङ अहिले कतारमा व्यवसायीका रुपमा चिनिन्छन । पहिलोपटक सन् २००९ मा काम गर्ने सिलसिलामा कतार पुगेका तामाङ सो समयमा एउटा कम्पनीमा लगातार ३ वर्ष काम गरेर फर्किए । तर, आर्थिक समृद्धिको हुटहुटीले नछोडेपछि सन् २०१६ मा व्यवसाय गर्ने हेतुले पुनः कतार आए । कतारलाई राम्ररी बुझेका सुशीलले समयक्रममा आफ्नै व्यवसायको थालनी गरे । अहिले कतारमा ज्वेलरी सप सञ्चालन गरिरहेका तामाङ जीवनलाई घामछाँयाको रुपमा परिभाषित गर्छन । कहिल्यै नआत्तिने र नमात्तिने हो भने जीवनमा जस्तासुकै समस्यासँग लड्न सकिन्छ भन्ने मान्यता राख्ने तामाङ कतारमा नेपाली दाजुभाईको मेहनत र लगनशीलताले समग्र नेपाली समुदायले कतारमा गौरवका साथ व्यपार व्यवसाय गर्ने स्थिति रहेको बताउँछन् । कतारमा नेपालीहरुका सुख दुखका साथी बनेका तामाङसँग कतार, कतारमा नेपालीका व्यवसाय र नेपालीबारे केन्द्रित रहेर जनसवाल दैनिककालागि रामजी बगालेले गरेको कुराकानीको सारसंक्षेप :

    के व्यवसाय गर्दै हुनुहुन्छ अहिले ?
    मेरो अहिले प्रमुख व्यवसाय भनेको सुन व्यवसाय हो । अर्थात, अहिले विगत दुई वर्षदेखि मेरो आफ्नै ज्वेलरी छ । अर्थात, म एभरेस्ट ज्वेलरी दोहा कतारको सञ्चालक हुँ । नेपालीहरू सुन किन्न एकदमै रुचाउने तर उनीहरूले पाकिस्तानीहरूको दोकानबाट सुन किनेको देखेर आफ्नै एउटा सुन दोकान खोलुँ भन्ने लागेर आफ्नै ज्वेलरी खोलेको हुँ ।

    कतारमा ज्वेलरी व्यवसाय गर्ने नेपाली तपाईँ मात्र हो त ?
    जहाँसम्म मलाई लाग्छ, पूर्ण आफ्नै स्वामित्वमा रहेको नेपालीहरूको ज्वेलरी व्यवसाय भनेको सायद मेरो एभरेस्ट ज्वेलरी मात्र हो । नेपालीहरूले पनि कतारमा विभिन्न व्यावसायहरु गरेर बसेका छन । तर, ज्वेलरी व्यवसाय भने मेरो मात्र छ । त्यसमा मलाई गर्व लाग्छ । किनभने, कुनै पनि व्यवसायको लागि लगानी मात्र ठुलो कुरा हैन । बरु, आफ्नो इच्छाशक्ति, लगाव, साहस, प्रयास र इमान्दारीताले नै हरेक मानिसलाई युनिक व्यवसायी बनाउँछ । म एकदम खुसी छु । व्यवसायको राम्रै वृद्धि र विकास भई पनि रहेको छ ।

    तपाईकोमा काम गर्ने कालीगडहरू कहाँ–कहाँका छन ?
    अहिले मसँग विशेष गरेर बंगालदेशी कालिगडहरू छन । साथै, नेपाली कालिगडहरू पनि राख्न थालेको छु अहिले बिस्तारै । कालिगड राख्दा उनीहरूको शिल्पलाई विशेष ध्यान दिनुपर्ने भएकोले कालिगड राख्ने प्रक्रियामा भने हामीले सोही अनुसारको प्रक्रियाहरू अवलम्बन गर्दछौं । नेपालीहरूसँग पनि ज्वेलरी बनाउने कला राम्रो छ । तर, कतारमा भने त्यस्ता कलायुक्त नेपालीहरू कम पाइने भएकोले हामीले अहिले अन्य देशका कालिगडहरू राख्न बाध्य भएका छौँ ।

    कतारमा मात्र लगभग चार लाख नेपालीहरू छन । तपाईँले राम्रोसँग विज्ञापन र प्रचारप्रसार गर्ने हो भने त तपाईँको व्यापार अपार रूपमा वृद्धि हुने देखिन्छ । प्रचार–प्रसार के कति गर्नुभएको छ आफ्नो व्यवसाय को ?
    हो व्यापारको प्रमुख कुरा भनेको प्रचार–प्रसार पनि हो । त्यसर्थ, नेपालीहरूलाई विशेष प्राथमिकता दिएर नेपालीहरूको विभिन्न कार्यक्रमहरूमा सहभागी भएर प्रचार–प्रसार गर्ने गर्दै आएको छ । भलै व्यापक समेटिन नसके पनि बिस्तारै प्रचार–प्रसार वृद्धि भइरहेको छ । साथै, व्यक्तिगत सञ्जाल, संगसंगठन, सामाजिक सञ्जाल र अन्य विविध माध्यमहरूमार्फत जो सकेको प्रचार–प्रसार गरिनैरहेको छु । किनभने, व्यापारलाई अपार बनाउने प्रचार–प्रसारले नै हो ।

    तपाईकोमा नेपालीहरूले पहिरने डिजाइनहरु बन्छ ? अन्य थप शुल्कहरू लाग्छ कि लाग्दैन ?
    हो हामीले नेपालीहरूको इच्छा, रहर र फेसन अनुसारकै नेपाली स्टाइलको डिजाइनहरू बनाउछौं । नेपालीहरूले प्राय २४ क्यारेटको गहना बनाउन मन पराउँछन । हामी गुणात्मकतामा विशेष प्राथमिकता दिने भएकोले प्रशस्त नेपालीहरू आउँछन । हामीकहाँ त्यस्तो अन्य वा थप शुल्कहरू केही पनि लाग्दैन । सबै मूल्यहरू पहिल्यै फिक्सड हुन्छ । हामी व्यापारसँगै जिम्मेवार र जबाफदेही पनि छौँ । ग्राहकहरूको क्षमता र सन्तुष्टिलाई पनि ख्याल गर्ने गरेका छौँ ।

    तपाइकोमा आउने नेपाली ग्राहकहरु कत्तिको सन्तुष्ट छन, गुनासो कति आउन गरेको छ ?
    अहिलेसम्मका हाम्रा ग्राहकहरु सबै सन्तुष्ट भएको पाइन्छ । उनीहरू खुसी हुन्छन । हाम्रो गुणात्मक सेवाले गर्दा त्यस्तो कम्प्लेन आउने गरेको छैन । तर, यही कहिलेकाहीँ प्राविधिक मिस्टेकले केही समस्यहरु देखा परे पनि त्यसको हामी पूर्ण जिम्मेवारी लिन्छौ । तत्कालै सुधारी हाल्छौ । समग्रमा हाम्रा ग्राहकहरू सन्तुष्ट नै छन ।

    नेपालीहरूले घर जाँदा प्राय बेरुवा बनाएर लैजाने गर्दछन । किन होला ?
    हो केही नेपालीहरूले त्यसो पनि गर्छन । यहाँ निर्माण खर्च धेरै लाग्ने भएकोले केही नेपालीहरूले त्यस्तो बेरुवा बनाएर लैजाने पनि गर्दछन । नेपालको तुलनामा यहाँ सुन सस्तोमा पाइने भएकोले पनि नेपालीहरूले बेरुवा– औठी, बाला वा सिक्री बनाएर लैजाने गर्दछन । र, हामीले पनि उनीहरूको इच्छा अनुसार सोही अनुसारको डिजाइन बनाईदिन्छम । त्यसमा कुनै समस्या नै हुँदैन ।

    तपाईँको व्यवसाय कतिबजेदेखि कतिबजेसम्म खुल्छ ?
    हाम्रो ब्यावसाय बिहान ९ बजेदेखि १ बजेसम्म र बेलुका ४ बजेदेखि राति १० बजेसम्म खुल्छ । र, यसै समयबिचमा हामीले सम्पूर्ण ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएका छौ । हप्तामा एक दिन शुक्रवार भने हाम्रो सेवा बन्द हुन्छ । यद्यपि, पूर्वसम्पर्क र बुकिङ सेवा पनि छ हाम्रोमा । तसर्थ, सबै ग्राहक महानुभावहरू एवं नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु आवश्यक आकर्षक डिजाइन–डिजाइनका ज्वेलरी किन्नको लागि माथिको समयमा सिधा ज्वेलरीसपमै पाल्न पनि सक्नुहुन्छ वा सम्पर्क गर्न सक्नुहुन्छ ।

    तपाईँकोमा कति कर्मचारी छन् अहिले ?
    अहिले लगभग १० जना जति कालिगडहरू राखेका छौ । साथै, मार्केटिङ र सेल्समा पनि सोही अनुसारको कर्मचारी राखेका छौँ । समग्रमा व्यवसायलाई उचित ढङ्गले संचालन गर्न आवश्यक कर्मचारी राखेका छौँ । किनपनि भने, व्यवसायको वृद्धि र विकास गर्ने प्रमुख कर्ता कर्मचारीहरू नै हुन । त्यसर्थ, दक्ष कर्मचारीहरू आवश्यकता अनुसार राख्नु पर्दछ । व्यवसाय राम्रोसँग चलिरहेको पनि छ । राम्रै भईरहेको छ । खुसी छु । सन्तुष्ट छु ।

    कतार बस्ने नेपालीहरूलाई के भन्न चाहनुहुन्छ ?
    नेपालीहरू यहाँ पक्कै पनि आफ्नो उज्ज्वल भविष्य निर्माण गर्ने मनोआकांक्षाले आउनुभएको हो । तसर्थ, आफ्नो काम सँगसँगै आफ्नो बचतमा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ । विभिन्न कुलतहरूमा फस्नु हुन्न । बिस्तारै जागिर खादै ज्ञान, सिप र क्षमता हासिल गरिसकेपछि सोही क्षेत्रको व्यवसाय गर्ने सोच पनि बनाउनु पर्छ किनभने दिर्घकालीनरुपमा जागिरलेभन्दा व्यवसायले व्यापक धेरै फाइदा दिन्छ । त्यसर्थ, यदि तपाईँ आफ्नो जिन्दगीलाई समृद्ध बनाउन चाहनुहुन्छ भने व्यापार गर्ने सोच बनाउनुहोस । व्यापार साँच्चै अपार रहेछ । कतारमा व्यापारको अनन्त सम्भावना रहेको छ । तपाईँले कुनै बेला कतार आउँछु भनेर सोच्नु भएको थियो जसले गर्दा तपाईँ अहिले कतारमा हुनुहुन्छ । त्यसर्थ, तपाइले अहिले म व्यापार गर्ने छु, समृद्ध व्यक्ति हुन्छु भनेर यदि अहिल्यै देखि सोच बनाउनुभयो भने तपाईँ भविष्यमा समृद्ध व्यक्ति बन्न सक्नुहुने छ । यो सिद्धान्त मेरो जीवनमा लागु भएको सिद्धान्त हो ।

    तपाईँ एउटा सफल व्यवसायी हुनुहुन्छ । तपाईँको सफलताको रहस्य के हो र तपाईँको सफलताको श्रेय कसलाई दिन चाहनुहुन्छ ?
    हरेक व्यक्तिको सफलताको श्रेय स्वयं व्यक्तिलाई नै जान्छ । अर्थात, मेरो सफलताको कर्ता वा श्रेय म नै हुँ । र मेरो सफलताको रहस्य भनेको मेरो आफ्नै आँट, साहस, लगनशीलता, विश्वास, प्रयास र सोच हो । तर, मलाई अप्रत्यक्ष एवं प्रत्यक्षरुपमा उत्प्रेरणा जगाउने विभिन्न व्यक्तिहरू, साथीभाइहरू एवं प्रियजनहरु पनि मेरो सफलताको श्रेयकर हुनुहुन्छ ।

    तपाईँ जहाँ जसरी रहेपनि विभिन्न सामाजिक कामहरू गरेर पनि नेपालीहरूलाई माया गरिरहनुभएको छ । के भन्न चाहनुहुन्छ सम्पूर्ण नेपालीहरूलार्ई ँ ?
    हो मैले जागिर खाएर मात्र हुँदैन । सामाजिक कार्यमा पनि सक्रिय हुनुपर्छ भन्ने मनोभावले तामाङ समाज कतारमा प्रवेश गरेको थिए । त्यसैको सहकार्यले आदिवासी महासङ्घ हुँदै एनआरएनसम्म सक्रिय सहभागी हुन पुगे । यी संस्थाहरूमार्फत आफ्नो व्यापार व्यवसायबाट बाँकी भएको फुर्सदको समय सामाजिक कार्यहरूमा सक्रिय हुन्छु । मलाई लाग्छ– सामाजिक सेवा भनेको सबै व्यक्तिहरूको कर्तव्य हो । अन्तमा म के भन्न चाहन्छु भने– सकेसम्म विदेशमा हैन स्वदेशमै केही व्यवसाय गर्नुहोला । आफ्नै देशलाई कर बुझाउनु होला । आफ्नै भूमि विकास गरौँ । आफ्नो ज्ञान, सिप र परिश्रम आफ्नै भूमिमा प्रयोग गरौँ । सरकारले पनि सोही अनुसारको वातावरण दिलाउन सफल होस ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु