चैत १२,काठमाडौ । नेपाल र जापानबीच श्रम सम्झौता-पत्रमा हस्ताक्षर भएको छ।
कामदार आपूर्ति बारे सहकार्यको समझदारी एमओसीमा दुई देशबीच आज हस्ताक्षर भएको हो। सम्झौता-पत्र अनुसार जापान जाने नेपाली कामदारले जापानी श्रमिक सरह सेवा सुविधा पाउने छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको उपस्थितिमा मन्त्रालयका सचिव महेश प्रसाद दाहाल र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
आउँदो अप्रिलदेखि नै कामदार भर्ना गर्ने जापानको तयारी छ। समझदारी पश्चात अब दुई देश सम्मिलित प्राविधिक कमिटी गठन हुनेछ। कमिटीले थप प्राविधिक विषयमा छलफल गर्नेछ। जापान रोजगारीमा जानका लागि एन फोर भाषा परीक्षा उत्तीर्ण हुनुपर्नेछ।
वर्षमा बढीमा ६ पटकसम्म भाषा परीक्षा सञ्चालन हुनेछ। जापानले कृषि, मत्स्यपालन, औद्योगिक क्षेत्र, होटल, रेस्टुरेन्ट, पर्यटन व्यवसायमा नेपाल, चीन, इन्डोनेसिया लगायतका नौ देशका युवा श्रमिकलाई रोजगारीको अवसर दिने गरी यो कार्यक्रम जापानले शुरू गरेको हो।