महिलाहरुलाई कम जिम्मेवारी दिने गरिएकाले आर्थिक रुपमा सफल हुन समस्या : उर्मिला श्रेष्ठ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र १३ गते, बुधबार १४:०२

चैत १३,बिर्तामोड । नेपाल महिला चेम्बरका केन्द्रीय अध्यक्ष उर्मिला श्रेष्ठले महिलाहरुलाई कम जिम्मेवारी दिने गरिएकाले आर्थिक रुपमा सफल हुन समस्या आएको बताएकी छन । नेपाल चेम्बर अफ कमर्स अन्तरगत नेपाल महिला चेम्बरको झापा शाखा गठन कार्यक्रम माझ उनले उक्त धारणा राखेकी हुन । अध्यक्ष श्रेष्ठले महिलाहरु समेत व्यवसायमा लाग्नुपर्ने बताईन । उनले भनिन्, ‘अब महिलाहरु व्यवसायमा लाग्नुपर्छ र पुरुषहरुभन्दा कुनै पनि हिसाबमा कमजोर नभई सबल र सक्षम हुन आवश्यक छ ।’
अध्यक्ष श्रेष्ठले महिलालाई क्रियाशील र आर्थिकरुपमा सबल बनाउन चेम्बर अफ कमर्स अन्तरगत महिला विभाग देशभर गठन गर्न लागिएको जानकारी गराएकी थिईन ।
कार्यक्रममा चेम्बर अफ कमर्स, १ नम्बर प्रदेश का अध्यक्ष राजेन्द्र घिमिरेले आफैं उद्यमी व्यवसायी बनेर वा श्रीमानको व्यापार व्यवसायमा साथ दिएर पनि महिला अब सशक्तिकरणका निम्ती जाग्ने बेला आएको बताए ।
झापा चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष सन्तोष अग्रवालले महिला चेम्बरमा कसैलाई भेदभाव नगरी क्षमता र दक्षताका आधारमा संगठित गरिने बताए ।
सो कार्यक्रममा नेकपा बिर्तामोड नगरका अध्यक्ष ज्ञानुराम प्रसाई, बिर्तामोड नगरपालिका वडा नं. ५ का अध्यक्ष राजेन्द्र लिङ्देन, रोटरी क्लव अफ बिर्तामोड मिड टाउनका अध्यक्ष शुभ कुमाई पाठक लगायतले मन्तव्य राखेका थिए ।

अन्तरक्रिया कार्यक्रममा संघका केन्द्रीय सचिव लिमा अधिकारीले सहभागीले सोधेका प्रश्नहरुको जवाफ दिएकी थिइन् । नेपाल अलैंची व्यवसायी महासंघका महासचिव तथा झापा चेम्बर अफ कमर्सका सचिव सुवास भट्टराईले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको सञ्चालन प्रेमा भट्टराईले गरेकी थिइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु