
चैत १७,नुवाकोट ककनी । प्राकृतिक सौन्दर्य र पर्यटकीय महत्वलाई प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनाउने उद्देश्यले नेपाल कै प्रमुख पर्यटकिय क्षेत्र ककनीको पर्यटन प्रवद्धर्नका लागि नयाँ वर्ष २०७६ को अवसरमा साँस्कृतिक कार्यक्रम सहित छलफल हुने भएको छ । पर्यटकीय महत्व बोकेको ककनीको सर्वाङ्गीण पर्यटकीय विकासका लागि नयाँ वर्ष २०७६ को अवसरमा ककनीमा सो कार्यक्रम आयोजना हुन लागेको हो ।
शुक्रबार काठमाडौंमा ककनी पर्यटन प्रवद्धर्न समाजद्वारा आयोजित कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले ककनीमा पाईलैपिच्छे पर्यटनको संभावना रहेकोले स्थानीयहरु जागरुक भई पर्यटन व्यवसायिसँग सहकार्य गरी पर्यटनको विकासमा लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा पर्यटन व्यवसायि हरिप्रसाद तिमल्सिनाले बाटोको अवस्था सुधार गरी आधुनिक पुर्वाधारहरुको विकास हुन सकेमा ककनी नेपालकै उत्कृष्ठ पर्यटकीय क्षेत्र बन्ने बताउनु भयो । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज मध्यवर्ति क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष दावा तामाङले ककनी पर्यटकीय संभावनाले भरिएको भएपनि व्यवसायिक सदुपयोग हुन नसकेकोप्रति ध्यानाकर्षण गर्नु भयो ।
युवा पर्यटन व्यवसायि राजन सिंखडाले बाटोको कारण ककनीमा पर्यटकले चाहेर पनि लैजान सकिने अवस्था नरहेकोमा जोड दिनु हुँदै विश्वमा अर्गानिक तथा ग्रामिण पर्यटन बढिरहेकोले ककनी अर्गानिक तथा ग्रामिण पर्यटनको उत्कृष्ठ गन्तव्य बन्ने बताउनु भयो । 
नेपाल मण्डल पर्यटन नगरीका महासचिव पदम श्रेष्ठले ककनीको पर्यटन विकासमा स्थानीय सामुदायको सहभागिता र विकासको आवश्यकता औंल्याउनु भयो ।
ककनी पर्यटन प्रवद्धर्न समाजका अध्यक्ष कान्छा लामाले ककनीको पर्यटन विकासका लागि सबैलाई हातेमालो गर्न आग्रह गर्नुहुँदै नयाँ वर्षको अवसरमा बैशाख १ गते आयोजना हुने साँस्कृतिक कार्यक्रम सफल बनाउन आग्रह गर्नु भयो । 
कार्यक्रममा आयोजक संस्थाकी उपाध्यक्ष सोममाया तामाङले ककनी पर्यटन प्रवद्धर्न समाज ककनीको पर्यटन विकासका यहाँका सुन्दरता , कला, संस्कृति, रीतिरिवाज र वेशभूषाका साथै रेन्बो ट्राउट माछा, मुला, स्ट्रबेरीलगायत उत्पादनका साथै कृषि उपज, को प्रचारप्रसार लागि प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नु भयो भनें संस्थाकी कोषाध्यक्ष विमला रावलले ककनीको पर्यटन विकास सन्तोषजनक नभएकोले ककनी रोईरहेकोले ककनीको पर्यटन प्रवद्धर्न गरी हसाउन संस्था प्रतिबद्ध रहेको बताउनु भयो ।


