पर्सा, चैत २३ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकार चाँडै २० हजार कर्मचारी भर्नाका लागि लोकसेवा आयोग खुला गर्ने तयारीमा रहेको बताउनुभएको छ । उहाँले कर्मचारी समायोजन समाप्त भएपछि मुलुकमा कर्मचारीको ठूलो अभाव देखिएकाले पहिलो चरणमा लोक सेवामार्फत उक्त परिमाणमा कर्मचारी भर्ना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । नेपाल प्रजापति (कुम्भकार) सङ्घको आज वीरगञ्जमा आयोजित सातौँ राष्ट्रिय महाधिवेशको उद्घाटन गर्दै मन्त्री पण्डितले सरकारले कर्मचारी भर्नाका लागि खुला गर्न लागेको लोक सेवा आयोग परीक्षाको तयारीमा जुट्न युवालाई आह्वान गर्नुभयो । उहाँले मुलुकमा रहेको गरीबी, अशिक्षा र पछौटेपना अन्त्य गर्न सरकार प्रयासरत रहेको र यसका लागि विभिन्न योजना सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले तराई–मधेश समृद्धि आयोजनामार्फत पूर्वाधारको विकासमा सरकार लागेको र बेरोजगार युवालाई भत्तासमेत वितरण गर्ने नीति लिएको स्पष्ट पार्नुभयो । नेपाल प्रजापति (कुम्भकार) सङ्घका अध्यक्ष रमानन्द पण्डितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश नं २ का प्रदेशसभा सदस्य राजेश्वरप्रसाद साह, वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरागीलगायतले तराईका जिल्लामा रहेको दाइजोप्र्रथालाई अन्त्य गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।