नयाँ बर्षको शुभकामना (कविता) –सरस्वती गजुरेल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ बैशाख १ गते, आईतवार १४:२५

सुख, शान्ति र समृद्धिको बहार बनी आओस्
आत्मियता र भात्तृत्वले शान्ति विगुल छाओस्
हत्या, हिंसा र अपराध विलाएर जाउन्
समृद्धि र सद्गुण फर्की–फर्की आउन् ।

रोग शोक महामारी नासिएर जाओस्
नेता जनता सबैमा सद्बुद्दिले छाओस्
अन्यायलाई न्याय अनि दोषी परुन जेलमा
सोझासाझी नपरुन है दुई नम्बरी खेलमा ।

भ्रष्टाचारी, बलात्कारी किरा परी मरोस्
समाजसेवी, कर्मनिष्ठ सधै अघि बढोस्
हावाहुरी, बाढीपहिरो, भुकम्पको नाश
हरकोहिको मुहारमा छाओस् नयाँ आशा ।

स्वाभिमानी शिर झुकाई रुक्न नपरोस्
परदेशीको हेपाईमा झुक्न नपरोस्
नयाँ साल, नयाँ चाल, खुशी लहर देख्न
हतारमा छन यी कलम परिवर्तन लेख्न ।

आफ्नो देशको सीप, श्रम बेच्न नपरे
रिसराग एकअर्कामा कहिल्यै नगरे
खुशी रहोस् सबको मन आशु नझरोस्
आत्मबल र आत्मविश्वास कहिल्यै नमरोस् ।

सकारात्मक बन्नु सधै लिई असल भावना
नयाँ बर्षको सबैलाई लाखौंलाख शुभकामना ।।

सरस्वती गजुरेल
बेलकोटगढी नगरपालिका– १०, नुवाकोट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु