• वैशाख अन्तिमसम्मबाट पेट्रोलियम पाइपलाइन सञ्चालनमा आउने निश्चित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार ०८:३३

    काठमाडौं–पाइपबाट पानीमात्र आउने अनुभव गरिरहेका हामी नेपालीकालागि पाइपबाटै पेट्रोल, डिजेल आउँछ भन्दा पनि अनौठो लाग्न सक्छ । तर, यो नेपालीकालागि आश्चर्य अब यथार्थमा रुपान्तरण हुँदैछ । नयाँ वर्ष २०७६ शुरु भएको केही समयपछि नै बहुप्रतिक्षित रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना निर्माण सकिएर आगामी वैशाख अन्तिमसम्मबाट सञ्चालनमा आउने निश्चित भएको छ । परियोजना निर्माणका क्रममा देखिएका समस्याको समाधान, विभिन्न नीतिगत अस्पष्टता हल गरिएसँगै आयोजनाको निर्माणले तीव्रता पाएको छ ।

    नेपाल आयल निगमको नेतृत्व सम्हाल्ले लगत्तै कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले उक्त परियोजनालाई तोकिएको समयभित्रै सम्पन्न गर्न ताकेता तथा कुनै समस्या देखिए समाधानका लागि सहजीकरण गर्दै आएका छन् । निर्माणाधीन पाइपलाइन परियोजनाको नेपालतर्फ कुल ३६ दशमलव २ किमीमध्ये नौ किलोमिटर पर्सा राष्ट्रिय निकुञ्जबाहेक अन्य भागमा पाइपलाइन निर्माणको काम सम्पन्न भइसकेको छ भने नौ किलोमिटरको जङ्गल क्षेत्रमा पाइपलाइन बिछ्याउने काम काम धमाधम भइरहेको परियोजनाका इञ्जिनीयर शरदप्रसाद पौडेलले जानकारी दिए ।

    रुख कटानीको निर्णय हुन नसक्दा पाइपलाइन परियोजनाको काम अगाडि बढ्न सकेको थिएन । गत माघ ३ गतेको मन्त्रिपरिषद्को बैठकले पाइपलाइन परियोजनामा पर्ने रुख हटाउनेसम्बन्धी निर्णय गरेसँगै अहिले सो क्षेत्रमा धमाधम रुख हटाउने काम भइरहेको छ । जङ्गल क्षेत्रमा डेढ किमी पाइपलाइन गाड्ने काम भइसकेको छ । उक्त क्षेत्रमा छ हजार ५६३ रुख काट्नुपर्ने हुन्छ । रुख कटान र पाइपलाइन बिछ्याउने काम एकसाथ अघि बढिरहेको आयोजनाले जनाएको छ । नेपालतर्फ गत वैशाखदेखि पाइपलाइन बिच्छयाउन थालिएको हो । उक्त पाइपलाइन परियोजना सञ्चालनमा आएसँगै इन्धन ढुवानी भाडा वार्षिक झण्डै रु दुई अर्ब कम हुनेछ । पाइपलाइन सञ्चालनमा आएसँगै इन्धन ढुवानीलागतको न्यूनीकरणले उपभोक्ता मूल्यसमेत समायोजन हुनेछ । देशभित्र खपत हुने डिजेलमध्ये ७० प्रतिशत अमलेखगञ्जबाट आपूर्ति हुँदै आएको निगमले जनाएको छ । शुरुआती चरणमा पाइपलाइनबाट डिजेल मात्र ल्याइनेछ ।

    पाइपलाइनबाट डिजेल आपूर्ति हुने भएपछि अमलेखगन्ज डिपोले ३९ हजार किलोलिटरका दुई र ४१ हजार किलोलिटरका दुई भण्डार ट्याङ्कलाई पाइपलाइनबाट आउने इन्धनको प्रेसर धान्न सक्ने गरी स्तरोन्नति गर्ने काम भइरहेको छ । दैनिक चार हजार किलोलिटर डिजेल पाइपलाइनबाट आपूर्ति हुने निगमका अमलेखगञ्ज डिपो प्रमुख प्रदीप यादवले जानकारी दिए । भारत सरकारको सहयोगमा निर्माण भइरहेको परियोजना भारत सरकार स्वामित्वको भारतीय आयल कर्पोरेशन (आइओसी) ले कार्यान्वयन गरिरहेको छ । सन् २०१५ को अगष्टमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापा र उनका भारतीय समकक्षी धर्मेन्द्र प्रधानले हस्ताक्षर गरेसँगै परियोजना निर्माण शुरु भएको हो ।

    परियोजनाको लागत दुई अर्ब ७५ करोड भारतीय रुपैयाँ (नेपाली रुपैयाँ करीब चार अर्ब ४० करोड) रहेको छ । जसमध्ये अमलेखगञ्ज डिपोको स्तरोन्नति, सुरक्षा प्रबन्ध तथा बफर जमिनसमेत गरेर निगमले ७५ करोड भारतीय रुपैयाँ खर्च गर्ने भनिए पनि अहिलेसम्म सबै लागत भारतीय पक्षले नै व्यहोरिरहेको छ । भारत सरकारले यो परियोजना कार्यान्वयनलाई विशेष प्राथमिकता दिएको छ । अहिले भारततर्फ मोतिहारीदेखि पटनासम्म पाइपलाइन विस्तारको काम भइरहेको बताइएको छ । तत्काललाई आइओसीले मोतिहारीबाट पाइपमार्फत् तेल पठाएपनि मोतिहारी–पटना पाइपलाइन निर्माण सम्पन्न भएपछि भने पटनाबाटै इन्धन आपूर्ति गरिने भारतीय पक्षको भनाइ छ ।
    पाइप लाइनबाट पठाइएको तेलको मात्रा पढ्न सकिने गरी दुवै देशका भन्सार नाकामा विशेष प्रकारका मिटर जडान गरिनेछ । उक्त मिटरमा कति परिमाणमा तेल आपूर्ति भएको छ । सो आधारमा भन्सार कार्यालयले पेट्रोलियमको भन्सार निर्धारण गर्नेछ । शुरुमा डिजेलमात्र आपूर्ति गरिने भएपनि यो पाइपलाइनबाट डिजेल र पेट्रोल दुवै सकिने निगमको भनाइ छ ।मोतिहारी–अमलेखगञ्ज पाइपलाइन निर्माणसँगै उक्त पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्ने निगमको योजना रहेको छ । यसले ढुवानी लागत कटौती गर्नुका साथै चुहावटमा उल्लेख्य कमी आउनेछ । त्यसैगरी तापक्रमको घटबढका कारण हुने प्राविधिक चुहावट पनि कम हुनेछ ।

    पहिलो चरणमा एक सय ९० किलोलिटर प्रतिघण्टाका दरले विहारको राजधानी पटनाबाट डिजल आउनेछन् । तर मोतिहारी डिपो सञ्चालनमा आएपछि प्रतिघण्टा २०० किलोलिटर डिजल अमलेखगञ्ज डिपोमा भण्डारण हुनेछन् । भारतीय पक्षले सन २०१९ सम्म मोतिहारी डिपोको निर्माण सम्पन्न गरी सक्ने लक्ष्य लिएको छ । मल्टी प्रोजेक्ट पाइपलाइन भएकाले यसबाट डिजल, पेट्रोल र मटितेलसमेत आयात हुनेछन् । परियोजना सञ्चालनमा आएपछि शुरुमा डिजेलमात्र आयात गरिने छन् । मागको करीब ६० प्रतिशत डिजल पाइपबाट नेपाल भित्रिने नेपाल आयल निगमले जनाएको छ । मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएपछि नेपाललाई निकै आर्थिक लाभ हुने व्यवसायीको भनाइ छ । यसबाट वीरगञ्ज नाका तथा भन्सार क्षेत्रमा हुने लामो जाम र भीड अन्त्य हुने तथा वीरगञ्ज पथलैया सडक खण्डमा हुने ट्याङ्करको चाप पनि घटेर जाने विश्वास लिइएको छ । नेपालमा आयात हुने कुल पेट्रोलियम पदार्थमध्ये ५० प्रतिशत हिस्सा वीरगञ्ज नाकाबाट भित्रिने भएकाले पनि पाइपलाइन सञ्चालनमा आएपछि सहज हुने विश्वास लिएको छ ।

    नेपाल आयल निगमले अहिले भारतको बैरगनिया र रक्सौलस्थित भारतीय आयल कर्पोरेशनको डिपोबाट पेट्रोलियम पदार्थ पेट्रोल, डिजल, मट्टितेल, हाइस्पीड डिजल र हवाई इन्धन ट्याङ्करमार्फत अमलेखगञ्ज डिपोमा आयात गर्दै आएको छ । मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएपछि भारतको डिपोबाट प्रतिघण्टा दुई लाख लिटर इन्धन अमलेखगञ्ज डिपोमा ल्याउने लक्ष्य नेपाल आयल निगमले लिएको छ । सरकारले मोतिहारी अमलेखगञ्ज पाइपलाइनलाई भविष्यमा विस्तार गरी चितवनसम्म लैजाने लक्ष्य लिएको छ । करीब १४ वर्ष अगाडि सन् २००४ मा नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच भएको समझदारीअनुसार पाइपलाइनमार्फत नेपालमा सिधै पेट्रोलियम पदार्थ ल्याउने उद्देश्यसहित परियोजनाले गति लिए पनि खासै प्रगति भने देखिएको थिएन । पाँच वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक नेपाल भ्रमण गर्दा तत्कालीन संविधानसभामा पाइपलाइन परियोजनालाई अघि बढाउने भनेपछि यो परियोजनाले गति लिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको गत चैतमा भएको भारत भ्रमणका क्रममा नयाँ दिल्लीको हैदराबाद हाउसबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री ओलीले संयुक्तरुपमा शिलान्यास गरेपछि सो परियोजनाले गति लिएको हो । अहिले नेपालतर्फ वीरगञ्ज भन्सारको शङ्कराचार्य द्वार नजिक पाइपलाइन निर्माणका लागि खाल्डो खनेर जमीनमुनि पाइप बिछ्याउने काम भइरहेको छ ।

    श्राेतः janasawal.com

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु