• कांग्रेस बिग्रिएकाले बिपी कांग्रेसमा लाग्न बाध्य भएँ– नेता श्याम गुरुङ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलवार १८:०६

    काठमाडौ । नुवाकोटका नेपाली कांग्रेस (विपी) का अध्यक्ष श्याम गुरुङले बिग्रिएको कांग्रेसलाई तह लगाउन आफू नयाँ कांग्रेसमा प्रवेश गरेको बताएका छन् । उनले कांग्रेसले सही ‘ट्रयाक’ लिन नसकेको आरोप लगाए ।
    अघिल्लो साता अध्यक्ष चयन भएका उनले नुवाकोटमा काम गर्नेभन्दा पनि गफ गर्नेको संख्या बढी भएकाले जनताले न्याया नपाएको बताए । नेपाली कांग्रेसको राजनीतिमा लागेर आफ्नो जिवन बिताएका उनले नुवाकोटका कांग्रेस नेताले नै पार्टी सिध्याएको र अब पुनर्जन्म हुन नसक्ने दावी गरे । ‘हाम्रा ती नेताहरु स्वार्थी भए, जनता र कार्यकर्तालाई चिन्न सकेनन् अहिले परिणाम भोगे’ गुरुङले भने ‘कसरी राजनीति गर्नुपर्छ भन्ने मैले बुझेको छु, कसैले सिकाउनु पर्दैन ।’ गुरुङले प्रत्येक जनताको झुपडीमा गएर राजनीति गर्ने बताए ।
    ‘म प्रत्येक जनताको घरमा जान्छु, के छ समस्या बुझ्छु र निकासका लागि सक्दो पहल गर्छु, अरु नेताको जस्तै बजारमा गएर भाषण गर्ने र हात हल्लाउँदै हिँड्ने खालको राजनीति मेरो हुँदैन’ उनले भने ‘ नेताहरु गफमा पीएच्डी गरेका छन्, न चुनाव जित्ने गाउँ जान्छन् न चुनाव हार्ने ।’ उनले नेपाली कांग्रेसले वीपी कोइरालाको विचारलाई तिलाञ्जली दिएको आरोप लगाए । कांग्रेसले बिपीको बिचार छोडेकाले पार्टीको यो दुर्दशा भएको पनि बताए । उनले कांग्रेसका नेताहरु टुप्पामा पुगेकाले फर्किएर तल नहेरेको आरोप लगाए ।
    गुरुङले कांग्रेस छोड्नु रहर नभएर वाध्यता भएको बताए । उनले लामो सोचका साथ सही निर्णय गरेर वीपी कांग्रेसमा लागेकोमा खुशी भएको जनाए । नुवाकोटमा तरुण दलको नेतृत्वसँगै केही गाउँपालिका अध्यक्ष पनि चयन गरिसकेको छ । गुरुङले सबैलाई सम्मान गरेर अघि बढ्ने र संगठन निर्माणमा लागिपर्ने प्रतिवद्धता जनाए । उनले आगामी निर्वाचनमा परिणाम ल्याएर सबैलाई चकित पार्नेसमेत दावी गरे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु