छोरी म जन्मदा (कविता )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार १०:२३

छोरी म जन्मदा (कविता )
एउटा मात्र साइनो आमा थिइन
उनलाई मात्र चिनेर दुध चुसे।
आवश्यकता संगै बा थपिनु भो,
दाई, दिदी,भाई बैनी
सबै परिवार भरिभराउ
सबै आफ्ना भए
उमेर संगै साथी थपिए
इष्ट मित्र चिनजान भए
जिन्दगी सबै तिर सबै संग जोडीएर चल्यो।
मेरो घर मेरो संसार थियो।
खेत बारीका साध मेरा आफ्ना थिए
सबै म संग जोडीएको
म बिना संसार शुन्य हुन्छ सोच्थे।।
तर…… फेरी…
त्यो मेरो केही होईन!!
प्रमाणीत गर्नु पर्ने भयो।
नाता यथावत् रहेर
वस्तुको हक फेरीयो
फेरि नयाँ नाता नयाँ घर जोडीयो।
छोरी!!
फेरीन पर्ने बदलीनु पर्ने
संरक्षित भएर हुर्किदै
संरक्षित हुन जानु पर्ने।
म(छोरी) संग कमजोरी जोडीने
स्वतन्त्र हुदा इज्यत तोडीने
के छ? म संग!!!!
मलाई पढाउदा
बाबुले तिरेको फिस
मलाई खुवाउन
आमाले पकाएको भात
फरक थिएन भने
दाई र ममा किन फरक।
बराबरी खर्च गरेर पढेका हामी
म अझै बढि खर्च गरेर पठाइदैछु
मैले पढेर कमाएका प्रमाण पत्र
अरुलाई देखाएर
म शिक्षित नारी
बाबुकै पैसामा बेचिदैछु।
मेरा प्रमाण पत्रको आधारमा,
म कसकी श्रीमती बन्ने भनेर मोलमोलाई हुदैछु।
एउटा शिक्षित युवक लाखौ खर्च गरेर
मलाई लिन आउछ।
म शिक्षित युवती लाखौ खर्च गरेर उ संगै जादैछु।
जिन्दगीको मोलमोलाई गरेर
दास प्रथाको नया रुपमा
बाबु द्वारा दान गरीएर
अर्को नातामा जोडीदैछु
म मेरै बाबुको पैसामा बेचीदैछु।
देवु पराजुली
२०७६/०१/६

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु