
बैशाख ७, नुवाकोट ।तारकेश्वर कलाकार समाज, नुवाकोटले नयाँ वर्ष २०७६को अवसरमा शुभकामना आदान–प्रदान, विशेष साँस्कृतिक कार्यक्रम सहितको सपथग्रहण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।
राजधानीमा आयोजित विशेष कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद बहादुरसिंह तामाङले कलाकारहरु भनेको राष्ट्रको गहना भएकोले यसको उत्थान र संरक्षणमा आफु लागि पर्ने बताए । तामाङले तारकेश्वर कलाकार समाजलाई समय र परिस्थिति अनुकुल सहयोग गर्दै जाने पनि बताए ।
कार्यक्रममा गन्तव्य नेपाल ग्रुप तथा राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)का केन्द्रीय अध्यक्ष शिव अधिकारी (अविरल)ले तारकेश्वर कलाकार समाजले छोटो समयमै साँगीतिक क्षेत्रमा ठुलो फड्को मारेको बताउँदै यसको संरक्षणको लागि आफु हरतवरले सहयोग गर्दै जाने बताए । उनले निर्धक्कका साथ देशको संस्कृति संरक्षणको लागि लागि पर्न कलाकारहरुलाई अनुरोध गर्दै तारकेश्वर कलाकार समाजको भवन निर्माणको लागि कोषको अभियान सञ्चालन गर्न आफु इच्छुक रहेको पनि बताए ।
कार्यक्रममा तारकेश्वर लगायतका ठाउँबाट बाक्लो रुपमा कलाकारहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रम समाजका अध्यक्ष दुर्गा तामाङको सभापतित्वमा सम्पन्न भएको थियो ।


