
मान्छेले गर्न चाहाने हो भने पैसाले र अरु कुनैपनि कुराले त्यसलाई रोक्दैन । आत्मविश्वास निरन्तरको लगाव र आँट अनि सकारात्कमक सोच विचार लिएर अगाडि बढियो भने जीवन सहज र सफल बन्छ । हामीले यस्तै प्रेरणदायी थुप्रै कथाहरु पढेका र सुनेका छौं । मान्छेलाई निरन्तरको प्रयास र आँटले नै त्यो स्थानमा लैजान्छ ।त्यस्तै एक उदाहरण बनेका छन् सामाजिक अभियन्ता हुन् जगतबहादुरगुरुङ ।
दुःख कष्ट, अपाङ्गता, शिक्षा, स्वास्थ्य, जोखिम वा विपत्तिमा परेका नेपालीको उद्धार गर्ने, नेपालीहरूको एकताका लागि सक्रिय भुमिका निर्वाह गर्ने, देशको इज्जत एवंम गौरव बढाउने र कीर्तिमान कायम गर्ने, नेपालको पर्यटन प्रबद्र्धनमा सक्रियताका साथ अगुवाई र नेतृत्व गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने, नेपालको सामाजिक, आर्थिक, रूपान्तरणका लागि आर्थिक, बौद्धिक र प्राविधिक लगानी जुटाउने आदि आदि थुप्रै कार्यहरुमा उनको योगदान रहदैं आएको छ ।
आफ्नो लागि त सबैले गर्छन् तर अरूको लागि गर्नेको संख्या औलामा गन्न सकिने अवस्था छ । आफ्नो लागि भन्दा अरुको लागि केहि गर्दा आफुलाई खुसी पाउनेहरुपनि समाजमा प्रसस्त मात्रामा भेटिन्छन् । एउटा सामान्य परिवारमा नुवाकोटको विकट गाउँ तत्कालिन कुमरीमा जन्मिएका जगत गुरुङ अहिले आफ्नो कर्मका कारण गाउँ समुदायमा मात्र नभई अन्य क्षेत्रमापनि ख्याती कमाउँदैछन् ।
‘सञ्सार बदल्नेसुरुवात आफैबाट गर्नुपर्छ ।’ यो भनाइ विद्धानहरुले त्यतिकै भनेका होइनन् । यदि आफू बदलिन सकिएन भने उसले दुनियाँलाई बदल्ने कुनै पनि सोच नपाल्दा हुन्छ । व्यक्ति, घर परिवार, समाज अनि राष्ट्रप्रति यति आत्मसाथ गर्ने हो र समाजलाई अपेक्षाकृत रुपमा परिवर्तन गर्ने हो भने त्यसको सुरुवात आफ्नो घर, परिवार र समाजबाट नै गर्नुपर्दछ ।यस्ता परिवर्तनका निम्ति यदि कुनै व्यक्तिले चाह्यो भने पनि समाजका निम्ति धेरै गर्न सक्दछ र, समाजमा त्यसको प्रभाव दीर्घकालिन रुपमा पर्न सक्दछ ।
नुवाकोटको कुमरी राजनीतिक दलहरुले आफ्नो भोट बैंकको रुपमा प्रयोग गर्छन । तर यसै क्षेत्रका जनता राज्यबाट तथा स्थानिय राजनितिले निकै समयसम्म अध्यारोमा रुमलिन बाध्य बन्यो र करिव ७÷८ वर्ष अघि उनले आफ्नो पहलमा गाउँमा विजुली ल्याउन सफल भए । त्यतिमात्र नभएर देशको राजधानीसम्म पुग्न करिव ७ घण्टा हिडेरै जानुपर्ने बाध्यतालाई उन्कै पहलमा गाउँसम्मै मोटर बाटो तथा अहिले गाउँमै दिनानु दिन गाडि पुग्ने भयो । उन्ले एक्लै भएपनि यो पहल कदमी नलिएको भए आज कुमरी बासीको न सडक सपना पुरा हुन्थ्यो न त उज्यालोमै बस्ने चहाना । त्यसैले कुमरी बासीको दिनचर्या बदल्ने काम गरेका छन् जगतले ।
सानैदेखि अरुभन्दा शारीरिक रुपमा कमजोर जगतलाई परिवारले काम नलाग्ने सन्तानको रुपमा हेर्न थाल्यो । घरमा कुनै काम गर्न नसक्ने देखेपछि उनलाई स्कूल पठाए । तर, जगतले स्कूल गएपछि आफूलाई अध्ययनमा तल्लीन गराउन थाले । सामान्य विद्यार्थीका रुपमा जगतले क्रमशः माथिल्लो कक्षा उतिर्ण गर्दैपनि गए र वि.सं. २०४८ सालमा प्रवेशिका परीक्षा उतिर्ण गरे । त्यसपछि उनको लागि उच्चशिक्षा हासिल गर्न राजधानी छिर्नुको विकल्प थिएन । तर पारिवारिक वातावरण त्यस्तो थिएन परिवारले उनलाई राजधानीसम्म पठाएर पढाउन पारिवारिक आर्थिक अवस्थाले नै यसलाई साथ दिदैनथ्यो । तर जहाँ इच्छा त्यहाँ उपायपनि हुन्छ भनेझैं जगतलाई राजधानी छिर्न उनको कमजोर पारिवारिक आर्थिक अवस्थाले रोक्न सकेन ।
अन्ततः आमाले दिएको बाटो खर्च बापतको पचास रुपैयाँ लिएर जगत जब काठमाण्डौ छिरे । त्यपछि उनका दुखका दिनहरु सुरु भएका थिए । यसैविच, जगत कामको खोजीमा भौतारिन थाले, यसैविच, उनले कालिमाटीस्थित एउटा होटलमा सहयोगीका रुपमा काम गर्न थाले । त्यसबेलाको अवस्था सम्झदै उनी भन्छन् ‘मैले होटलमा भाँडा माझ्ने काम गरेँ, त्यतिखेर मेरो हात पूरै फुटेको थियो ।’ त्यस्तै उनले गलैंचा कारखानामा ऊन काट्ने तथा पत्रिका बेच्ने काम पनि गरे ।
जगतले आफ्नो काम गर्ने अभिलाषालाई त्यतिकै मर्न दिएनन् । झण्डै ६ महिनासम्मको कठोर कामबाट जब उनले छुटकारा पाए, उनको जीवनमा केही परिवर्तनका संकेत देखा परे । एउटा पर्यटक कम्पनीले भारी बोक्ने भरियाको खोजी गरिरहेको उनले पत्तो पाए । उनले हिमालमा जाने पर्यटकहरुको डोकोमा भारी बोक्ने काम पाए । त्यो पनि उनको लागि त्यति सहज त थिएन । हिमालको चुचुरो नजिकसम्म झण्डै ६०÷७० केजीको भारी बोकेर जानुपर्ने काम कठिन हुनु स्वभाविकै थियो । शारीरिक रुपमा कमजोर जगतले यसअघि भारी बोक्ने काम भने गरेका थिएनन्, उनी भन्छन्, ‘त्यसअघि मैले भारी बोकेको थिएन तर जिन्दगीमा भारी बोकेरै भएपनि संघर्ष गर्नु पर्छ भनेर यो काम सुरु गरेँ ।’ झण्डै ३ बर्ष उनले यो कामलाई निरन्तरता दिए ।
मानिसलाई संघर्षले जिउन मात्र होइन, अन्य परिवेशसंग जुध्नपनि सिकाउने गर्दछ । जगतले पनि भारी बोक्ने काम गर्दैगर्दा विदेशी पर्यटकहरुसँग अंग्रेजी भाषा सिक्ने अवसर प्राप्त गरे । उनलाई लाग्यो पर्यटन व्यवसायमा लाग्नु छ भने यस सम्बन्धी तालिम लिनु जरुरी छ । उनले पर्यटकहरुका निम्ति पथप्रदर्शकको तालिम लिने निधो गरे । नेपाल सरकारको मान्यताप्राप्त संस्थाबाट तालिम लिएपश्चात जगत भरियाबाट पर्यटकहरुका लागि पथप्रदर्शक बन्न पुगे ।
उनी आफ्नो कर्मथलोमा सक्रिय थिए । गाउँबाट अकस्मात उनलाई खबर आयो । उनका बाबु भीरबाट लडेर घाइते भएका छन् ।तर बाबुलाई अस्पताल ल्याउने कुनै माध्ययम थिएन त्यसको कारण थियो एउटा भौगोलिक विकटता, मोटर बाटोको पहुँच नहुनु र अर्काे थियो चरम गरिबी, अन्धविश्वास र अशिक्षा ।यसले पनि उनको समुदायको शैक्षिक अवस्थालाई पुष्टी गर्दछ । परिवारमा शिक्षाको अभावका कारण नै उनका बाबुलाई कसैले पनि अस्पताल लगेर उपचार गर्ने हिम्मत गरेन । झण्डै २ हप्तापछि जगत आफ्नो घर पुगे त्योदिन साँझ परिसकेको थियो । भोलिपल्ट बाबुलाई बोकेरै भएपनि अस्पताल ल्याउने उनले निधो गरेका थिए । बाबुसँग छलफल गर्दा उनका बाबुले बारम्बार भनिरहेका थिए कि, ‘तँ भएको भए मलाई अस्पताल लैजान्थिस् होला नि । बाबु हाम्रो गाउँमा पनि एउटा अस्पताल भए अकालमै ज्यान जाने थिएन । यदि तैले केही गर्न सकिस् भने भविष्यमा एउटा अस्पताल बना हैं ?’ बुबाको अन्तिम वाक्य जगतको निम्ति सदैव गडिरह्यो । भोलिपल्ट विहान उनको बुबाले धर्ति छोडे ।
कोही अकस्मात विरामी परेपनि उनीहरुले अस्पतालको मुख देख्दैनथेँ, गाउँघरको झारफुक र परम्परात उपचारमा नै भरपर्नु उनीहरुको नियति नै थियो । यस्तो नियतिलाई जगतले पनि भोग्न बाध्य भए ।नियतिलाई कसले रोक्न सक्थ्यो र ? मन गरुङ्गो बनाएर जगत आफ्नो कामतिर पुनः फर्किए । कामको दौरानमा धेरै विदेशी पर्यटकहरुसँग उनको समिप्यता बढ्नु स्वभाविकै थियो । कयौंले आफ्नो व्यवसायिकताभन्दा माथिको सम्बन्ध राख्न चाहेनन् भने कतिले जगतसँग आत्मिय सम्बन्ध पनि राखे । यही क्रममा सन् २००७ मा उनीसँग ३ जना अमेरिकी पर्यटकको भटे भयो । उनीहरुसँग काम गर्ने दौरानमा जगतले आफ्नो विगत र वर्तमान उनीहरुसँग व्यक्त गरे । उनको यो कुराले ती पर्यटकको मन छोयो । अनि उनीहरुले जगतको गाउँमा जाने निधो गरे । जगतले आफ्नो गाउँमा उनीहरुलाई हार्दिकतापूर्वक लिएर गए । समुदायमा पनि अनौठो र उत्साहपूर्ण स्वागत थियो । जब जगतको गाउँमा ती पर्यटकहरु पुगेर फर्के उनीहरुले आफूले सक्ने जति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसको झण्डै १० महिनापछि जगतलाई उनीहरुले आफ्नो मुलुक अमेरिका डाकेर त्यहाँ आर्थिक सहयोग जुटाउने काम गरे । उनीहरुले ४० हजार डलर सहयोग स्वरुप जगतको गाउँको विकासका निम्ति उपलब्ध गराउने प्रतिवद्धता गरे । तत्कालै जगत आफ्नो गाउँ फर्किएर समुदायमा यस बारेमा छलफल चलाए । तर उनको कुरालाई पत्याईहाल्ने अवस्था थिएन र उनलाई कसैले सहयोग गरेनन् । ‘एउटा सामान्य परिवारमा जन्मिएको तामाङको बच्चाले बाटो खन्ने काम कसरी गर्न सक्छ ?’ भने कतिले । तर उनको अठोेट र सहयोगीहरुको हातको समर्थनले उनले आफ्नो गाउँसम्मको १३ किलोमिटर बाटो खन्ने कामको अगुवाइ गरे ।मुख्य राजमार्गबाट गाउँसम्मको यात्रा गर्न सडक मार्ग जोडिनु आफैमा उल्लेखनीय उपलब्धी थियो ।
अब उनको लक्ष्य गाउँमा स्वास्थ्य संस्था सञ्चालन गर्नु थियो । त्यसको निम्ति प्रारम्भमा उनले सन् २००९ मा २२ जना विदेशी विशेषज्ञ चिकित्सकहरु ल्याएर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरे । गाउँमा अधिकांश महिलाहरुमा आँङ खस्ने समस्या देखियो । शिविरमा आएका २ सय ५० जना महिलाहरुको स्वास्थ्य परीक्षण गर्दा ६० जनालाई तत्कालै उपचार गर्नुपर्ने देखियो । उनीहरुका निम्ति गाउँमा उपचार सम्भव नभएपछि राजधानीको अस्पतालमा ल्याएर उपचार गरियो । अहिले तिनै आमाहरु जसको उपचारमा सहयोगी भूमिका निर्वाह गरेका जगतलाई आशिर्वाद दिँदै भन्छन्, ‘सायद तिमी नभएको भए हामी अहिलेसम्म बाँच्ने थिएनौं, तिमी त हाम्रो छोरा नै हौ ।’
अहिले कुमरीमा जगतकै प्रयासमा उनको बुबाको नामबाट सुकमान मेमोरियल पोलिक्लिनिक सञ्चालनमा रहेको छ । जहाँ उपचारका स्थानीयहरुले स्वास्थ्य सेवा प्राप्त गरिरहेका छन् । गाउँमा आफ्नो समुदायबाट पाएको सद्भाव र मायाबाट जगत भावुक हुँदै भन्छन् ,‘जीवनाई सार्थक रुपमा अगाडि बढाउन स्वास्थ्य र शिक्षा अनिवार्य छ ।’ स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा अगाडि बढाउनको निम्ति उनले समुदाय स्तरमा महिला दिदीबहिनीहरुलाई साक्षरता अभियान पनि चलाए । उनी भन्छन्, ‘जबसम्म महिला शिक्षित हुँदैन, तबसम्म घर,परिवार र समुदाय शिक्षित हुनै सक्दैन ।’ अहिले उक्त क्षेत्रमा सुविधा सम्पन्न विद्यालय समेत उनकै प्रयासमा निर्माण भएको छ । अहिले झण्डै ४ सय विद्यार्थीहरुले सो विद्यालयमा अध्ययन गरिरहेका छन् ।
यसरी एउटा गरिव बाबुआमाको कोखबाट जन्मिएका जगतले आज आफ्नै प्रयासमा आफ्नो गाउँमा उदाहरणीय कार्य गरेर सारा दुनियालाई चकित मात्र हैन गाउँलेहरुको बलियो भरोसाका खम्बाको रुपमा समेत आफुलाई उभ्याएका छन् । उनले समाजमा रहेका असहाय, गरिव, उपचार नपाएर तड्पिरहेकाहरुको लागि समेत आर्थिक तथा अन्य सक्दो सहयोग निरन्तर रुपमा गर्दै आएका छन् । उपचार नपाएर अकालमै मर्नुपर्ने कुमरीबासीको लागि पोलिक्लिनिक चलाउनु, मोटरबाटो निर्माण गर्नु तथा बषौंदेखि अन्धकार रहेको गाउँमा विजुली पु¥याउने कार्य आफैमा निकै चुनौतिपुर्ण कार्य त हुँदै हो त्यो भन्दा धेरै उन्को महानता पनि हो । यस जगतमा जन्मिएका सबै मान्छेले जगत परिवर्तन गर्न सक्दैनन् र यत्तिका हिम्मतपनि गदैनन् तर एउटा तामाङको बच्चा भएर उन्ले यतिका काम गरेर समाजमा योगदान गरेका छन् साँच्चै उनले जगत परिवर्तन नै गरेका छन् । जनताका हरदुःखका सहयात्री जगत गुरुङको आगामी यात्राहरुपनि यस्तै सफल बन्दै जाउन र उनि गाउँलेहरुको सदैव सारथी बनिरहुँन शुभकामना ।


