आठौँ राष्ट्रिय खेलकुद सम्पन्न, नवौँ राष्ट्रिय खेलकूद गण्डकीमा : एनआरएनलाई ६ स्वर्ण, २ रजत र ७ काश्य पदक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ बैशाख १२ गते, बिहीबार २१:५७

नेपालगञ्ज– आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी पहिलो भएको छ । नेपालगञ्जमा भएको प्रतियोगितामा विभागीय आर्मीले एक सय ४० स्वर्ण, १ रजत र ६८ काश्यसहित दुई सय ८९ पदक जितेर प्रथम स्थान हासिल गरेको छ । त्यस्तै प्रतियोगितामा नेपाल पुलिसले ६२ स्वर्ण, ४९ रजत र ४६ काश्यसहित कुल एक सय ५७ पदक जित्दै दोस्रो स्थान हासिल गरेको छ । त्यसै गरि एपीएफले ५३ स्वर्ण, ६९ रजत र ८१ काश्य पदकसहित २०३ पदक जितेर तेस्रो स्थान हासिल गर्न सफल भएको छ । यस्तै पदक तालिकाको चौथो स्थानमा भने प्रदेश ३ रहेको छ । प्रदेश ३ ले २२ स्वर्ण, ४० रजत र ६० काश्य पदकसहित कुल १२२ पटक हासिल गरेको छ । त्यसै गरि पाँचौ स्थानमा रहेको गण्डकी प्रदेशले १२ स्वर्ण, २१ रजत र ४४ काश्यसहित कुल ७७ पदक जितेको छ ।

 

त्यस्तै सुदूरपश्चिम प्रदशले ८ स्वर्ण, १२ रजत र ३४ काश्यसहित ५४ पदक, प्रदेश १ ले ९ स्वर्ण, २० रजत र ५९ काश्यसहित कुल ८८ पदक जित्यो । प्रदेश दुईले ६ स्वर्ण ७ रजत र २० काश्य पदक जित्यो भने एनआरएनले ६ स्वर्ण, २ रजत र ७ काश्य पदक जितेको छ ।

 

त्यस्तै कर्णाली प्रदेशले ३ स्वर्ण, ४ रजत र १७ काश्य पदक जितेको छ । विजेता टिम तथा खेलाडीलाई कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनलगायतले बुधबार साँझ नेपालगञ्ज रंगशालामा ट्रफी प्रदान गर्दै प्रतियोगिताको समापन गरेका छन् । करिब ५ हजार खेलाडीले कुल ३५ खेलमा भाग लिएको यस प्रतियोगिता वैशाख ५ गते उद्घाटन भएको प्रतियोगिताका खेलहरु चैत २७ देखि सुरु भएका थिए ।

 

नवौँ राष्ट्रिय खेलकूद गण्डकी प्रदेशमा हुने
नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता गण्डकी प्रदेशमा आगामी २०७७ फागुन २० देखि २७ गतेसम्म हुने भएको छ । आज नेपालगञ्जमा बसेको राष्ट्रिय खेलकूद परिषद् (राखेप)को बोर्ड बैठकले उक्त निर्णय गरेको हो । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा पारिवारिक शोकमा परेर अनुपस्थित भएपछि राखेप उपाध्यक्ष पीताम्बर तिम्सिनाको अध्यक्षतामा बसेको बोर्ड बैठकले सो निर्णय गरेको सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिए । कर्णाली प्रदेशले पनि नवौँ राष्ट्रिय खेलकूदको आयोजना गर्न पाउनुपर्ने माग गरे पनि भौतिक पूर्वाधार र तयारीका आधारमा सो प्रतियोगिता गण्डकी प्रदेशको पोखरामा आयोजना गर्ने निर्णय गरिएको विष्टले बताए ।
‘पूर्वाधार बनेको अवस्थामा कर्णालीमा राष्ट्रिय खेलकूद आयोजना गर्न अधिकार दिने विषयमा छलफल भएको थियो, थप प्रस्ताव नआएपछि यसअघि सहमति बनेको गण्डकी प्रदेशलाई आयोजना गर्न दिने निर्णय गरिएको हो’, सदस्य सचिव विष्टले भने । पूर्वाञ्चलमा सम्पन्न साताँै राष्ट्रिय खेलकूदको बेला तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्रले आठौँ राष्ट्रिय खेलकूद आयोजनाको दाबी गरेको थियो । तत्कालिन खेलकूदमन्त्री दलजित श्रीपाइलीले जोड गरेर मध्यपश्चिमलाई आठौँ राष्ट्रिय आयोजना गर्न दिने निर्णय गराए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु