
बैशाख १९
जनताको जलविद्युत कार्यक्रमअन्तर्गत खुलाइएको रसुवागढी र सान्जेन जलविद्युत कम्पनीको साधारण सेयर बाँडफाँड गरिएको छ। उर्जामन्त्री वर्षमान पुनको उपस्थितिमा मन्त्रालयमा एक कार्यक्रमका बीच सेयर बाँडफाँड गरिएको हो।
रसुवागढीको सेयरमा सर्वसाधारण आवेदकले ५० कित्तासम्म सेयर पाएका छन् भने सान्जेनको २० कित्तासम्म दिइएको छ।
रसुवागढीकोभन्दा सान्जेनको माग गरिएको सेयर संख्या कम भएपछि समानुपातिक रुपमा बाँडफाँड गर्दा सान्जेनको सेयर कित्ता कम परेको हो।
सान्जेन जलविद्युत
कम्पनीले यसअघि खुलाएको प्राथमिक सेयर बाँडफाँड गरिएको छ। १० कित्ताका लागि आवेदन दिने सबैलाई सो बराबरको सेयर प्रदान गरिएको छ। ५९ हजार ४५५ जनाले १० कित्ताको माग गरेका थिए।
सोभन्दा बढीका लागि आवेदन दिनेलाई पनि १० कित्ताका दरले सेयर प्रदान गरी बाँकी रहेको सेयर गोलाप्रथाबाट थप १० कित्ताका दरले अर्थात कुल २० कित्ता प्रदान गरिएको छ।
२ लाख ९ हजार ३२८ आवेदकले २० कित्ताका दरले सेयर पाएका छन्। २० वा सोभन्दा बढीको माग गर्नेमध्येबाट २० हजार १४४ जनाले मात्रै १० कित्ताका दरले सेयर पाएका छन्।
कुल ३ लाख ५९७ आवेदन परेकोमा ११ हजार ७ सय आवेदन विविध कारणले रद्द भएको थियो। कर्मचारी तथा सामुहिक लगानी कोषहरुलाई छुट्याएर ४९ लाख ८२ हजार २५० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो।
सान्जेनका दुई आयोजना रसुवा जिल्लाको आमाछोदीङ्गमो गाँउपालिकामा निर्माणाधीन अवस्थामा छन्। कम्पनीले माथिल्लो सान्जेनबाट १४. ८ मेगावाट क्षमतामा विद्युत उत्पादन गर्नेछ भने अर्को सान्जेनको क्षमता ४२. ४ मेगावाट छ।
रसुवागढी जलविद्युत
१० देखि ४० कित्तासम्म सेयर माग गर्नेले मागेजति नै पाएका छन्। ५० कित्ताभन्दा बढी माग गर्ने सबैलाई ४० कित्ता दिएर बाँकी रहेको सेयरबाट पुनः गोलाप्रथा गरी १० कित्ताका दरले प्रदान गरिएको हो।
५० कित्ताभन्दा बढीका लागि आवेदन दिनेमध्येबाट गोलाप्रथा गर्दा २५ हजार ६९३ आवेदकले थप १० कित्ता अर्थात ५० कित्ताका दरले पाएका छन्।
कुल ३ लाख २ हजार ४३ आवेदन परेको थियो। जसमध्ये २ लाख ९१ हजार २७२ आवेदन मात्रै स्वीकृत भएका थिए।
कर्मचारी तथा सामुहिक लगानी कोषहरुलाई छुट्याएर ९३ लाख ३९ हजार ४६७ कित्ता सेयरका लागि सर्वसाधारणका तर्फबाट आवेदन माग गरिएको थियो।
कम्पनीले बनाउने रसुवागढी आयोजना रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा निर्माणाधिन अवस्थामा छ। भोटेकोसी नदी यसको प्रमुख जलस्रोत हो। १११ मेगावाट क्षमताको आयोजनाको कुल अनुमानित लागत व्याजसहित १६ अर्ब ७८ करोड रुपैयाँ रहेको छ ।


