• मलेसियामा नेपाली समुदायका बीचमा स्थापित समाजसेवी लोचन बिमली

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार १६:०२

    मलेसियामा नेपाली समुदायका बीचमा स्थापित समाजसेवीका रुपमा चिनिन्छन लोचन बिमली । २५ वर्षभन्दा लामो समयदेखि मलेशियामा कार्यरत बिमली मलेशियामा नेपाली समुदाय र व्यवसायीबीच अत्यन्तै स्थापित नाम हो । नेपाल मलेशिया व्यवसायी संघका संस्थापक अध्यक्ष बिमली सन् २००० देखि २००४ सम्म उक्त संस्थाका अध्यक्ष थिए । नेपालीहरुका बीचमा असाध्यै लोकप्रिय नेपाल हाउस रेस्टुरेण्टका प्रोप्राइटर समेत रहेका बिमली हाल सौगात इम्प्लोयमेण्ट सर्भिस सञ्चालन गर्छन मलेसियामा । यस्तै उनी प्रवासी उद्धार कोष मलेशियाका सेक्रेटरी रहेर पनि काम गरिसकेका छन् ।

    नेपाली संघसंस्था, दूतावाससँगको समन्वय र स्वतन्त्र रुपमै पनि नेपाली समुदायका बीचमा आइपर्ने समस्या समाधानमा नेतृत्वदायी भूमिका निर्वाह गर्दागर्दै उनी मलेसियामा नेपाली समुदाय र व्यवसायीहरुको बीचमा लोकप्रिय बन्दै गए । झापा, दुर्गापुरका स्थायी निवासी बिमलीले आफ्नो जीवनको ऊर्जाशील समय मलेशियामा नै बिताए । त्यसैले अहिले उनलाई मलेसिया आफ्नै घर जस्तो लाग्छ । उनी भन्छन–‘हाल म ५५ वर्षको भएँ । म २५ वर्ष भन्दा बढी समयदेखि त मलेशियामा नै छु ।’
    उनको मलेसियाको याात्रा भने व्यवसायको सिलसिलामा भएको हो । सुरुमा म खासा व्यापार गर्ने बिमलीले त्यसपछि सिंगापुरमा व्यापार गरें र सोही क्रममा पछि मलेशियामा केन्द्रित भए । पछि मलेसियामै व्यवसायी स्थापित भयो र कर्मभूमि मलेसिया नै बन्यो । यसैक्रममा उनले विभिन्न सामाजिक संघसंस्थामा सक्रिय हुने अवसर पाए । मलेसियामा नेपालीहरुको बाक्लो उपस्थितीसँगै समस्या पनि बाक्लै थिए । त्यस्तैमा समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्दागर्दै उनी समाजसेवामा होमिए । उनी भन्छन– ‘म बाध्यताले समाजसेवी भएँ । त्यो बेलामा मलेशियामा नेपाली दूतावाससमेत थिएन । त्यतिवेला पनि नेपाली समुदायमा गम्भीर घटनाहरु हुन्थे । हामीले प्रवासी उद्धार कोष नै खडा गरेर समस्यामा परेका नेपालीलाई सहयोग गर्न सुरु गर्याैं ।’ उनले मलेसियामा नेपालीहरुका लागि त्यस्ता अनगिन्ती घटनाहरुमा सहयोग गरेका छन् जहाा नेपालीका लागि कोही थिएन ।

    उनी भन्छन–‘कम्पनीबाट, जेलबाट, अरु समस्याबाट धेरै उद्धार गर्याैं । १९९८ को एउटा घटना म आज पनि झल्झली सम्झदैं छु । तनहुँ दुल्हेगौंडाका कुलबहादुर मगर भन्ने मजदुर मलेशियाको स्रेमबानमा रुखबाट लडेर मरे । ग्लानी इगर इन्तान अस्पताल, क्वालालम्पुरमा उनको मृत्यु पुस्टि भयो । उनलाई नेपाल पठाउने पहल सफल भयो । अस्पताललाई तिर्नुपर्ने ४८ हजार मलेशिया रिंगेट (त्यतिवेलाको नेपाली १४ लाख ४० हजार रुपियाँ) मलेशियाका तत्कालीन गृहमन्त्री ताजुल रोशली गजलीको सहयोगमा पूर्ण छुट गराई उनको शव नेपाल पठाइयो । हाम्रै कोषबाट उनको परिवारलाई दुई लाख ७० हजार नगद तत्कालीन गृहमन्त्री गोविन्दराज जोशी र हाम्रा अध्यक्ष पदमबहादुर बिक (पदम बाबा) मार्फत दिइयो । पछि पछि त यस्ता मृत्युको घटना आम जस्तै भयो । हामीले कतिलाई उद्धार गर्याैं, कतिलाई क्षतिपूर्ति भरायौं यसको लेखाजोखा छ, तर अहिले सबैको वर्णन नगरौं ।’
    अहिले मलेशियामा छ लाखको हाराहारीमा नेपालीहरु छन् । उनीहरुलाई पर्ने समस्या पनि धेरै छन् । मलेसियामा खासमा मेनपावर कम्पनीहको गैरजिम्मेवारीपन र नेपालीहरुमा श्रमप्रतिको सम्मान नहुनु नै समस्याको कारणको मूल जड भएको बिमली बताउँछन् । उनी भन्छन–एजेन्सीहरुले आकर्षक कुरा गरेर श्रमजीवीहरुलाई प्रभावमा पार्ने, अनि उनीहरु भने जस्तो सेवा सुविधा नपाएर तनावमा, विचलनमा आउने मुख्य समस्या यही हो । हचुवाको भरमा वैदेशिक श्रम व्यवसाय गर्नेहरुका पछाडि मजदुर लाग्नु हुँदैन । लहडमा जानु पनि हुँदैन । गए पनि काम छाड्दा धेरै सोंच विचार गर्नुपर्छ ।’
    बिमलीको अनुभवमा मलेशियामा रहेका नेपाली–नेपालीबीचको सम्बन्ध समग्रमा नराम्रो छैन । तर, अपवादका रुपमा नेपालीले नेपालीलाई ठग्ने, नेपाली–नेपालीबीचमा झैझगडा गर्ने, केही बिचौलियाहरुले त मलेशियामा सञ्जाल नै खडा गरेर नेपालीहरुलाई ठग्ने धन्दा चलाउने अनि नेपालमा नेता, पहुँचवाला र पत्रकारहरुका बीचमा आएर साखुल्ले बन्ने गरेको बताउँदै बिमली त्यस्ता बिचौलियाहरु विरुद्ध पनि आफुहरु लडिरहेको बताउँछन् ।
    आफ्नो पच्चीस वर्षे मलेसिया बसाईको अनुभव बताउँदै बिमली भन्छन–‘ हेर्नुस, भूगोलका हिसावले खासै भिन्नता छैन । मलेशिया पनि पहाड र समथर जमिन भएको देश हो र नेपाल पनि । तर, विकासको दृष्टिले नेपाल मलेशियाभन्दा अझै एक सय वर्षपछि छ । त्यहाँको विकास देख्दा लोभ लाग्छ र नेपालमा पनि यस्तै भइदिए हुन्थ्यो भन्ने लागिरहन्छ । कुनै पनि देशको विकासका लागि त्यहाँको श्रम र पुँजीको समायोजन अत्यन्त महत्वको कुरा हो । त्यो महत्व मलेशियाले बुझ्यो तर नेपालले अझै बुझेको महसुस भएको छैन । खासमा महाथिर महम्मद जस्ता प्रधानमन्त्री पाउनु मलेशियाको सौभाग्य हो, जो सँग अति दूरसम्म हेरेर निर्णय लिने एउटा स्पष्ट भिजन छ ।’ अहिले उनकै गृहजिल्ला झापाका प्रधानमन्त्री केपी ओलीसँग पनि अत्यन्त ठूलो भिजन भएको बिमली बताउँछन् । ‘देशका लागि केही गरौं भन्ने पनि छ । तर, उनका अरौटे, भरौटे र आसेपासेहरुले गर्दा उनी कामयावी हुन सकेका छैनन् । देशलाई समृद्ध बनाउन र जनता सुखी हुन नेताले सपना देखेर मात्र हुँदैन । त्यो सपना साकार पार्ने योजनाहरु हुनुपर्छ, जसको एक वा दुई वर्षमा परिणाम निस्कने विश्वास जनतामा पलाओस । योजनाकारहरुसँग भिजन, मिशन र लक्ष्य देखिएन भने प्रधानमन्त्रीमा जति नै हुटहुटी भए पनि विकास, समृद्धि आउँदैन ।नेपालको श्रमशक्तिको यत्रो वैदेशिक पलायनबारे उनको धारणा स्पष्ट छ । उनी भन्छन– ‘म वैदेशिक रोजगारदाता भएर पनि के भन्छु भने यो ठीक होइन । त्यसैले मैले परिणाम देखिने विकासको कुरा गरेको हो । विकासले समृद्धि ल्याउँछ । त्यसले सँगसँगै देशभित्र नै रोजगारी सिर्जना गर्छ । त्यसपछि वैदेशिक रोजगारीको आवश्यकता नै पर्दैन । मैले के भन्न खोजेको भने समग्र विकास, व्यापार, वाणिज्य, कृषि, पर्यटन आदिलाई दृष्टि दिने योजनाकार नै भएनन् नेपालका नेतृत्वसँग । हो, नेपाल एउटा सार्वभौम देश हो । प्रजातान्त्रिक, लोकतान्त्रिक, गणतान्त्रिक सम्पूर्ण आन्दोलनका परिणाम आजको संघीय गणतान्त्रिक नेपाल हो । हजारौंहजार शहीदको वलिदान र त्यागपूर्ण संघर्षको परिणाम आजको नेपाल हो । तर, संघर्षपछिको सामाजिक रुपान्तरण नेपालमा देखिएन । यो नेताहरुकै असफलता हो ।’ उनी थप्छन– ‘जिम्मेवारी र भूमिका दिन कञ्जुस्याइँ नगर्ने हो भने नेपालमा धेरै योजनाकारहरु हुनुहुन्छ, जोसँग भिजन, मिशन र लक्ष्य पनि छ । जहाँसम्म वैदेशिक योजनाकार र परामर्शदाताको कुरा गर्नुभयो, आवश्यकता परेको खण्डमा त्यो पनि ठूलो कुरा होइन । हेर्नुस, देश बनाउने कुरामा अरुको वुद्धि र योजना पनि सुन्नुपर्छ । त्यसका लागि मलेशियाकै योजनाकार चाहियो भने पनि हामी व्यवसायीहरु त्यसको सहजता या वातावरण निर्माण गर्न तयार छौं । त्यतिमात्र होइन हामी लगानी ल्याउने भूमिकाका लागि पनि तयार छौं । यो त नेपाल सरकारको चाहनाको विषय हो ।’
    अहिले पछिल्लो समय मलेशियाको श्रम रोजगारीमा देखिएको गतिरोधलाई बिमली कुटनितीक कमजोरी मान्छन । उन भन्छन् –‘हालका श्रम मन्त्री गोकर्ण विस्टले मलेशियासँग जुन श्रम सम्झौता गर्नुभयो, यो श्रम सम्झौता गर्नुपूर्व कूटनीतिक पहलबाट भएको भए यो समस्या आउँदैन थियो । उहाँलाई कसैले गलत सल्लाह दिएको र उहाँले त्यसलाई मान्दा नै आज यो समस्या आएको हो । मलेशियाको दूतावास यहाँ छ र नेपालको दूतावास पनि उहाँ छ । यी कूटनीतिक क्षेत्रबाट पहल गरेर मन्त्रीले श्रम सम्झौता गर्नुभएको भए आज यो समस्या आउने थिएन । कूटनीतिक पहल नगरी हठात र हचुवा निर्णय गर्दा यो समस्या आएको हो ।’ बिमलीे मन्त्रीको यो निर्णयले पुराना मलेशियामा कार्यरत नेपाली श्रमिकलाई केही असर नगरेको भएपनि नयाँ कामदार मलेसिया जानका लागि अड्चन पैदा हुँदा समस्या आएको बताउँछन् । उनी भन्छन– ‘तर, यसबारेमा मन्त्रीबाट पनि पछिल्ला दिनमा कमजोरी भएको मानेर सच्याउने तिर उद्धत रहेको सुनेका छौं । यो राम्रो हो ।’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु