• ५ अर्व माग्दै सांसद आले

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार १९:५०

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का डोटी–१ का सांसद प्रेमबहादुर आलेले यस वर्षको बजेटमा खुटिया दीपायल सायल हुँदै कैलाश मानसरोवरसम्म जाने सडकलाई ५ अर्ब बजेट निकासा गर्न अर्थमन्त्रीसँग माग गर्नुभएको छ ।

    प्रतिनिधिसभाको बैठकमा प्रि–वजेट छलफलमा उहाँले अर्थमन्त्रीले संसदमा पेस गरेको आर्थिक वर्ष २०७६÷७७ को विनियोजन विधेयकलाई आफूले पूर्ण समर्थन गर्ने उल्लेख गर्दै उहाँले वजेटका सिद्धान्त तथा प्राथमिकतामा समेटिएका विषयहरुले वालकदेखि बृद्धासम्मकाको भावनाको कदर गरेको बताउनुभयो । भौतिक पूर्वाधार विकास सडक, सिंचाई, खानेपानीजस्ता कुरालाई प्राथमिकतामा राखेर सरकारले विगतका भन्दा फरक र अग्रगामी किसिमको बजेट ल्याउने तयारी गरेको उहाँको दावी छ । पूर्ववर्ती सरकारले निर्वाचनमा पराजय भएपछि पछि आउने सरकारलाई अप्ठ्यारो पार्ने नियतले राज्यको ढुकुटी तहसनहस पारेकाले गत वर्षको बजेट बनाउन अर्थमन्त्रीलाई धेरै गाह्रो भएको उहाँको बुझाई छ । ‘राज्यको ढुकुटी रित्याएर नेकपाको सरकारलाई अप्ठ्यारो पार्ने मनसाय राखेर कतिपय अनावश्यक काममा जथाभावी रकम वितरण गरेको पाइयो’ उहाँले भन्नुभयो ‘अर्थमन्त्री अनुभवी र दक्ष भएकाले उहाँले अर्थतन्त्रलाई मजबुत बनाएर राज्यको ढुकुटी पुनः बलियो बनाउनु भएको छ, यो सराहनीय कार्य हो ।’

    अर्थतन्त्र बलियो स्थितिमा भएको र विकास निर्माणका ठुला परियोजनाहरु सञ्चालन गर्नुपर्ने भएकाले ठूलै आकारको र जनमुखी वजेट ल्याउनु उपयुक्त हुने सांसद आलेको सुझाव छ । सरकारले सन् २०२० लाई भिजन २०–२० को रुपमा मनाउन लागेको उल्लेख गर्दै यसमा २० लाख पर्यटकलाई नेपाल भित्र्याउने लक्ष्य राम्रो भएको बताउनुभयो । ‘अर्थमन्त्रीज्यु उत्तर र दक्षिण जोड्ने सडकमार्ग खुटिया–दीपायल–सायल हुँदै तिब्बतको मानसरोवरसम्म जाने २ सय ९० किलोमिटर सडकमा ५ अर्ब रकम विनियोजन गर्नुहोस्, आगामी सन् २०२४ भित्र नेपालमा १० करोड पर्यटक आउँछन् ’ आलेले सम्भावनाहरु देखाउँदै भन्नुभयो ।

    यो सडक निर्माण गर्न सकेमा समग्र सुदूरपश्चिमकै आर्थिक स्थितिमा उल्लेख्य सुधार हुने दावी गर्दै उहाँले बजेटमा यो विषय समेटिनेमा आफू विश्वस्त रहेको आलेको भनाई छ । ‘यो योजना भनेको मेरो एउटा लक्ष्य हो, सँगसँगै जनताको पनि आशाको केन्द्र हो, यसलाई अर्थमन्त्रीज्यूले पक्कै पनि गम्भीर रुपमा मनन गर्नु हुनेछ ’ उहाँले भन्नुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु