आमा तिमीलाई एउटा प्रश्न सोध्न मन छ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलवार ११:४७

बैशाख ३१काठमाडौ । आमा तिमीलाई एउटा प्रश्न सोध्न मन छ
म भन्दा पैले
दुइटा छोरा र एउटी छोरी हुदा हुदै
तिमीले मलाई किन जन्मायौ आमा,
म गर्भमा छदा तिमी उत्साही थिइनौ
म धर्तिमा झर्दा पनि तिमीमा उत्साह रहेन।
मेरो जन्ममा छोरा वा छोरीको फर्माइस पनि थिएन
म जन्मनु र नजन्मनु संग खासै मतलब पनि रहेन।
तर तिमीले केहि त सोच्थ्यौ होलानी आमा
केहि त मनन गर्थ्यौ होलानि आमा
म गर्भमा छदा।।
मलाई दुख्ला भनेर सुस्तरी बस्यौ होला
अलि कम भारी बोक्यौ होला
अलिकती पोसीलो खायौ होला
अनि मैले लात्ती हान्दा,
हातले बिस्तारै मुसार्यौ होला,
मायाका थुप्रै सम्बन्धहरू देखायौ होला
अनि त्यहि बेलामा मेरो बारे केहि त सोच्यौ होला नी आमा।
बतासे डाडाँमा घास काट्न जादा
पछाडी भारी र अगाडी म
सकि नसकि बोकेर ओराली झर्दा
मेरो बारेमा केहि त सोच्यौ होलानी आमा।
ठुलो चट्याङ परेको बेला
सबैले आफ्नो टाउको छोप्थे
तिमी पेट भित्र मलाई छाम्थ्यौ होला
पेट भित्र मलाई छामेको बेला,
केहि त सोच्यौ होला नी आमा।।
म जन्मे पछि
पहिलो पटक म मुस्कुराउदा
पहिलो पटक म बामे सर्दा
केहि त सोच्यौ होला नि आमा।
मेरो आची धुन र सिङ्गान पुछन तिमीलाई रहर नभए पनि
म आफै पहिलो पटक आची पुछ्न सक्ने हुँदा
केहि त सोच्थ्यौ होलानी आमा।
यि सबै कुरा तिमीलाई संझना छैन होला
तर …
तर छ नि आमा,
तिमी रातभरी रोएर मलाई सुम्सुमाएको दिन
म दिन भरी खेलेर राती सुते पछि
अर्को बिहानी बाट खुट्टा नटेकेको दिन
तिमीले धेरै सोच्यौ होलानी आमा।
तिमीलाई त्यस पछिका प्रत्येक दिन याद होलानी आमा।
मैले रोएको हासेको र खेलेको प्रत्येक पल
आसुले नै मुहार धोयौ होलानी आमा।
अरुले छोराछोरी डोर्याउदा तिमीले बोक्नु पर्थ्यो मलाई
अरुले छोराछोरीलाई खेतबरीमा लैजादा
तिमीले घरमै कुर्नु पर्थ्यो मलाई
हो!! त्यती नै बेला तिमीले के सोच्थ्यौ,
जान्न मन छ आमा मलाई।
आमा आज तिम्रो सप्पै कुरा जान्न मन छ।
तिमी जस्तै आमा अनि म जस्तै छोरी भएका।
म जस्तै छोरी अनि तिमी जस्तै आमा भएका।।
थुप्रै आमाहरु के सोच्दाहुन जान्न मन छ मलाई।
आमा तिमीले के के सोचेर हुर्कायौ,
के के सोच्दै बोकेर स्कुल र अन्यत्र पुर्यायौ
सप्पै सप्पै जान्न मन छ मलाई।
तिमी जस्तै थुप्रै आमाहरुको अनुहारमा
खुशी ल्याइदिनु छ मलाई।
आमा तिम्रो बारे सप्पै जान्नु छ मलाई।।
देवु पराजुली
३१/०१/२०७६

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु