किशोर सेढाई
भारतको पूर्वी मूख्य प्रवेशद्धार आसामको मूख्य राजधानी शहर गुवाहाटीबाट ६ कि.मि. पश्चिम उत्तर तथा ब्रह्मपूत्र नदीको दक्षिणमा अवस्थित कामाख्या मन्दिर आफैमा एक इतिहास हो ।
पौराणिक कथा अनुसार भगवान शिवको माता सती प्रतिको मोह भंग गर्न भगवान बिष्णुले आफनो सुदर्शन चक्रद्धारा सती देवीको मृत शरीरलाई ५१ टुक्रा गरि दिए फलस्वरुप सतीको एउटा अंग योनी यही स्थानमा खस्यो र यही स्थानमा कामाख्या महापीठको उत्पति भएको विश्वास गरिन्छ । यस एैतिहासकि मन्दिरलाई भगवती माँ कामाख्या भनेर पनि परापूर्व कालदेखि मानिदै आएको छ ।
इ.बी सम्बत ८ औ शताब्दीमा निर्मित तथा १७ औं शताब्दीमा पूननिर्माण गरिएको कामाख्या मन्दिर गुवाहाटीको नीलाचल पहाडमा अवस्थित रहेको छ । कामाख्या मन्दिर भारतमा रहेका चारवटा शक्ति पीठ मध्ये पूर्वी भारतको प्रमुख शक्ति पीठ हो । शक्तिका उपासक तन्त्र विद्याका साधकहरु महिनौंसम्म कामाख्या मन्दिर परिसरमा बसेर शक्तिको उपासना र ध्यान गर्ने गर्दछन ।
कामाख्या मन्दिर र नेपालको सम्बन्ध ः कामाख्या मन्दिर नेपाल र नेपालीहरुको जनमानसमा झुण्डिएको एक पर्यायबाची शब्द हो । नेपालका पहिलो राणा प्रधानमन्त्री जंगबहादुर राणाको समयमानै प्रधानमन्त्री जंगबहादुरले आफनो सरकारको लालमोहर सहित केही नेपाली ब्राह्मणहरुलाई कामाख्या मन्दिरमा पूजााआजा गर्न पठाइएको इतिहासमा उल्लेख छ । सो समय देखि ती नेपाली पुजारीहरु कामाख्या मन्दिर परिसरमानै बसोवास गरि कामाख्या मन्दिरमा पूजाआजा गर्दै आएका छन ।
कामाख्या मन्दिरमा भेटिएका एक लालमोहरीया पूरोहित पुर्णचन्द्र शर्मा (पाण्डा)
नेपाली पूरोहित (पाण्डा )पूर्णचन्द शर्माको भनाई अनुसार उनका पहिलो पुस्ताका कुर्पा हजुरबुवा नेपालका पहिलो राणा प्रधानमन्त्री जंगबहादुर राणाको इच्छा अनुसार तत्कालीन सरकारको लालमोहर लिएर असमको कामाख्या मन्दिर आएका हुन। नेपालबाट सरकारको लालमोहर लिएर आएको कारणलेनै अहिले पनि कामाख्या मन्दिरमा रहेका नेपाली पुरोहितहरु ऋाफुहरुलाई लालमोहरिया पाण्डा भन्न रुचाउछन । आफुहरु आफनो पुर्खाहरुले कामाख्या मन्दिरमा भक्तजनहरुलाई गर्ने गरेको सेवा तथा सहयोग अहिले पनि पाँचौ पुस्ताको रुपमा गरि रहेको स्मरण गर्नु हुन्छ पुरोहित पूर्णचन्द्र शर्मा । उँहाको भनाई अनुसार नेपालबाट बर्षेनी झण्डै ३ हजार देखि पाँच हजारसम्म भक्तजनहरु कामाख्या मन्दिरमा दर्शन गर्न आउछन।
उहाँले भक्तजनहरु कामाख्या मन्दिरमा आएर पूजा आजा गर्न सहयोग होस भन्ने धेयले आफनो सम्पर्क र ठेगाना पनि भक्तजनहरुलाई उपलब्ध गराउने गरेको अनुभव बताउनु भयो ।
कामाख्या मन्दिरमा भेटिएका नेपाली दर्शनार्थीहरुसंग जिज्ञासा राख्दा उनीहरुले मन्दिरमा दर्शन गर्न , विशेष यज्ञ आदि गर्दा नेपाली पाण्डाबाट धेरै सहयोग प्राप्त भएको प्रतिक्रिया दिएका थिए ।
कामाख्या मन्दिरमा मन्दिर दर्शन गर्न गएका श्रद्धालु भक्तजनहरुलाई मन्दिरमा दर्शन गर्दा पूजाआजा विधिमा सहज भूमिका निर्वाह गर्ने पुरोहितलाई पाण्डा भनेर सम्बोधन गर्ने गरिन्छ । नेपालबाट गएका हाल ५ औं पुस्ताका पुरोहितपनि आफुहरुलाई नेपाली लालमोहरीय पाण्डा भनेर भक्तजनहरुलाई मन्दिरको मूल प्रवेशद्धारमा बसेर आफुप्रति आकर्षित गर्ने गर्दछन ।कसरी पुग्ने कामाख्या मन्दिर ः नेपालको पूर्वी नाका काँकरभिट्टाबाट सिलीगुडी हँुदै रात्रि बसमा १२ घण्टामा गुवाहाटी पुग्न सकिन्छ भने रेलबाट जाने हो भने न्यूजलपाईगुडी रेल जंक्शनबाट रेलद्धारा गुवाहाटी जंक्शनसम्म राजधानी एक्सप्रेसमा ६ घण्टा र अरु एक्सप्रेस रेलहरुमा ८ देखि १० घण्टामा पुग्न सकिन्छ ।
यसैगरी छिटो छरितोको लागि नेपालका पूर्वी नाका काँकरभिट्टाबाट मात्र १८.६ कि.मिटरको दुरीमा रहेको बागडोगरा बिमानस्थलबाट गुवाहाटीको लागि नियमित विभिन्न भारतीय घरेलु उडान सेवा उपलब्ध छन । बागडोगराबाट विमानमा गुवाहाटीको पूर्वी क्षेत्रकै व्यस्त लोकप्रिय गोपीनाथ बरदलै अन्तराष्ट्रिय विमानस्थल करिब ४५ देखि ५५ मिनेटमै पुग्न सकिन्छ र गुवाहाटी बसाईमा तीर्थ यात्रुहरुले पाँचतारे होटल देखि सामान्य होटलमा पनि आफनो बसाईको व्यवस्था गर्न सकछन ।