दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपालमा पशु कल्याणको सवलीकरणका लागि सञ्चारमाध्यमको भूमिका नामक एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ ९ गते, बिहीबार १७:०९

काठमाडौं, ९ जेठ । नेपालमा पशु कल्याणको सवलीकरणका लागि सञ्चारमाध्यमको भूमिका नामक एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहीबार स्नेहाज केयरको आयोजनामा सम्पन्न भएको अन्तरक्रियामा सरोकारवालाहरुले पशु कल्याण स्थापनाको लागि कानूनको अभाव औंल्याए र भएका कानूनहरुको पनि प्रभावकारी कार्यान्वयनमा समस्या रहेको टिप्पणी गरेका छन्

कार्यक्रममा बोल्दै पशु सेवा विभागका महानिर्देशक डा. वंशि शर्माले पशुको कल्याण नै विभागको मूल मन्त्र रहेको सुनाए । उनले भने,‘हामीले अहिले पशु कल्याणको लागि काम गरिरहेका छौं । पशु कल्याण निर्देशिका पनि जारी गरिसकेका छौं ।’ शर्माले छाडा पशुहरुलाई हेर्ने जिम्मेवारी आफूहरुको नभएर स्थानीय निकायको भएको पनि जिकिर गरे । यद्धपी उनले पशुसँग जोडिएर आएको विषय भएकोले यसबारेमा विभागले पनि आफ्नो जिम्मेवारी पूरा गर्ने विश्वास दिलाए ।
त्यस्तै, कार्यक्रममा पशुपन्छी विकास मन्त्रालयका पूर्व सचिव डा. कृष्णचन्द्र पौडेलले पशु कल्याणको आगामी कार्यदिशाको बारेमा प्रकाश पारेका थिए । उनले पशु कल्याण प्रवद्र्धनका लागि मिडियाको महत्वपूर्ण भूमिका रहेको स्पष्ट पारे ।

पशुलाई पनि मानवलाईजस्तै पीडा हुने भएकोले पशुलाई मानवीय व्यवहार गर्नुपर्ने उनको धारणा थियो । उनले सबैले पशुपन्छीहरुको हितमा काम गर्नुपर्ने सुझाए । उनले जनगणनाजस्तै पशुगणनापनि हुनुपर्ने बताए ।

वातावरण कानूनका ज्ञाता अधिवक्ता पदम बहादुर श्रेष्ठले पशुहरुको अधिकारको लागि सम्बन्धित निकायलाई निरन्तर घचघचाउँदापनि कुनै सुनुवाई नभएकोमा गुनासो पोखे । उनले भने,‘हाम्रो सुनुवाई नहुँदा बाध्य भएर अदालत जानुपर्यो ।’

श्रेष्ठले पशुहरुको अव्यवस्थित् ढुवानीलाई व्यवस्थित् गर्नको लागि पनि सरकारसमक्ष आग्रह गरे । उनले थपे,‘पशुहरुको संरक्षण गर्नुपर्छ । अदालतले अहिले पशु कल्याण ऐन बनाउनकोलागि आदेशसमेत दिईसकेको छ ।’

उनले पशुमाथि निर्दयी व्यवहार गर्न नहुने पनि धारणा राखे । उनले पशु कल्याणको लागि स्नेहाज केयरजस्तै अन्य संस्था लागिपरे धेरै राम्रो हुने विश्वास व्यक्त गरे ।

त्यस्तै, ओआई फोकल प्वाईन्टका प्रतिनिधि डा. किरण पाण्डेले पनि आफुहरु विगत लामो समयदेखि पशु कल्याणसम्बन्धी काम गर्दै आएको सुनाए । उनले भने,‘छाडा पशु व्यवस्थापनका लागि गौशाला निर्माण सहयोग जुटाएर गर्छौं ।’
कार्यक्रममा स्नेहाज केयरकी अध्यक्ष स्नेहा श्रेष्ठले आफू विगत ५ वर्षदेखि पशु कल्याणसम्बन्धी काम गर्दै आएको सुनाईन् । उनले पशु कल्याणलाई प्रभावकारी बनाउनको लागि मिडियाको भूमिका महत्वपूर्ण रहेको सुनाउँदै आगामी दिनमा पनि यसको भूमिका अझै सशक्त हुनुपर्नेमा जोड दिईन् ।

उनले भनिन्,‘मिडियाले सुसुचित गरेपछि अहिले पशुहरुलाई माया गर्नेहरुको संख्या बढेको छ । मिडियाकै कारण पशु कल्याणबारे आम मानिसहरु सुसुचित हुनुभएको छ । यो त हामीजस्तो पशु कल्याणमा काम गर्नेहरुको लागि खुशीको कुरा हो ।’ आजको अन्तरक्रिया कार्यक्रम कपिल काफ्लेले सञ्चालन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु