• एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्यान्ड को विजयी सुरुवात

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १८ जेष्ठ २०७६, शनिबार ०७:०७

    लन्डन, १७ जेठ । आयोजक इंग्ल्यान्डले एकदिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । लण्डनस्थित दि ओभलमा भएको खेलमा दक्षिण अफ्रिकालाई १०४ रनले हराउँदै इंग्ल्यान्डले शानदार सुरुवात गरेको हो ।

    घरेलु टोलीले दिएको ३१२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३९ ओभर ५ बलमा अलआउट हुनुपूर्व २०७ रनमात्रै जोड्यो । उसका लागि सुरुवाती व्याट्सम्यान क्विन्टन डी ककले ६८ रन तथा भान डर डुसेनले ५० रन जोडे पनि टोलीलाई जिताउन सकेनन् ।

    दक्षिण अफ्रिकी टोलीलाई रोक्न इंग्ल्यान्डका जोफ्रा आर्चरले ३ विकेट लिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा ८ विकेट गुमाउँदै ३११ रन बनाएको थियो । उसका लागि बेन स्टोक्सले ८९ रन जोड्दा जेसन रोय, जो रुट र इयान मोर्गनले पनि अर्धशतकीय ईनिङ खेले ।

    जितसँगै इंग्ल्याण्डले पहिलो खेलबाट महत्वपूर्ण २ अंक जोडेको छ । प्रतियोगितामा आज वेष्ट इण्डिज र पाकिस्तान भिड्नेछन् । विश्वकप क्रिकेटको यो १२ औं संस्करणमा १० टोली सहभागी छन् । राउण्ड रबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु