च्याम्पियन्स लिगको उपाधि छिनोफानो आज, दुई इंग्लिस क्लब भिड्दै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ १८ गते, शनिबार १४:२२

कमल योञ्जन, काठमाडौ । युरोपियन च्याम्पियन्स लिगको फाइनल खेल आज राति हुँदैछ । स्पेनको म्याड्रिडस्थित वान्डा मेट्रोपोलिसानो रंगशालामा राति १२:४५ बजेबाट सुरु हुने उक्त खेलमा उपाधिका लागि दुई इंग्लिस क्लबहरु लिभरपुल र टोटनह्याम आमनेसामने हुँदैछन् ।

यसअघि सम्पन्न सेमिफाइनलमा लिभरपुलले ला लिगा च्याम्पियन बार्सिलोनालाई चमत्कारिक ढंगले समग्रमा ४–३ गोल अन्तरले हराएर फाइनल यात्रा तय गरेको हो भने टोटनह्याम र डच क्लब आयाक्सबीचको खेल समग्रमा ३–३ को बराबरीमा टुंगिएपछि टोटनह्याम अवे गोलको आधारमा फाइनल पुगेको हो ।

लिभरपुल हारको श्रृङ्खला तोड्न व्याकुल, टोटनह्याम इतिहास रच्न आतुर

आजको खेल जित्न सकेमा लिभरपुलले एकातिर अघिल्लो सिजन फाइनलमा रियल म्याड्रिडसँग हारेको चोट मेटाउनेछ भने अर्कोतर्फ छैटौँपटक च्याम्पियन्स लिगको उपाधि आफ्नो पोल्टामा पार्नेछ । प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले आफ्नो नाममा पारेपछि लिभरपुल यो सिजन उपाधिविहीन रहेको छ । हालसम्म तीनपटक च्याम्पियन्स लिगको फाइनलमा हारिसकेको लिभरपुलले हारको श्रृङ्खला तोड्न सेमिफाइनलको जस्तै आक्रामक खेल पस्कनु पर्नेछ । पहिलो रोजाइका फरवार्डद्वय मोहम्मद सलाह र रोबर्टो फिर्मिनो पूर्णरुपमा फिट भइसकेकाले लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोप उपाधि जित्नेमा आशावादी देखिन्छन् । फुटबलको यो महाभिडन्तमा लिभरपुलका एक हस्ती मानिने नावी केइटा भने चोटका कारण मैदानमा हुने छैनन् । तर सर्जियो माने, भर्जिल, रोबर्टसन, मिल्नर, फाबिन्हो, अलेक्जेन्डर आर्नोल्ड जस्ता अनुभवी खेलाडीहरुले लिभरपुललाई जिताउन हरसम्भव प्रयत्न गर्नेछन् । सेमिफाइनलमा बार्सिलोनालाई हराउन दुई दुई गोल गरेका युवा खेलाडीहरु ओरिगी र जर्जिनियो विज्नाल्डम बेञ्चमै रहलान् वा मैदान प्रवेश गर्लान् भन्ने कुरा प्रशिक्षक क्लोपको चतुरतामा भर पर्नेछ ।

उता टोटनह्याम पनि पहिलोपटक लिग उपाधि जितेर इतिहास रच्ने दाउमा हुनेछ । विश्वकप २०१८ का गोल्डेन बुट विजेता फरवार्ड ह्यारी केन आजको खेलमा उपलब्ध हुने भएकोले टोटनह्यामका पूरै टीम उत्साहित छन् । उनी लिगकै अन्तिम आठमा म्यानचेस्टर सिटीसँगको खेलमा घाइते भई बेञ्चमै बस्दै आएका थिए । त्यसैगरी क्लबलाई फाइनल पुर्याउन आयाक्स विरुद्ध सेमिफाइनलमा ह्याट्रिक गरेका ब्राजिलियन फरवार्ड लुकास मौराले आजको खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्नेमा सहकर्मी खेलाडीहरु विश्वस्त छन् । जारी सिजन उत्कृष्ट लयमा रहेका दक्षिण कोरियाली खेलाडी फरवार्ड सन ह्युङ मिन पनि आज लिभरपुलको लागि उत्तिकै खतरा बन्न सक्नेछन् । उनलाई इरिक्सन, रोज, सिसोको जस्ता खेलाडीहरुको साथले गोल गर्न थप हौसला मिल्नेमा टोटनह्यामका प्रशिक्षक मौरीसियो पोचेटिनो ढुक्क छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु