मेरि आमा(कविता )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २६ जेष्ठ २०७६, आईतवार ११:२९

मेरि आमा(कविता )

खकालो को झोलुङ्गामा निदाएर ,
तोते बोली मा लाडिदै,
बुट्टे घाघर मा खेलौना कि पुतली झै,
मेरो बा कि दुलही बनेर
भित्रीएकी मेरि आमा!
टालाटुली बटुली खेल्ने बेला
तामाको घ्याल्चा मा पानी ल्याउने
आमाको ममताको खास्टो भित्र
बेफिक्र निदाउने बेलामा
आफू भन्दा ठूलो पोतेरोले
दैलो पोत्ने बुहारी बनिन!
सुशील र संस्कारी बुहारी ।

जवानीको खड्केली नपुग्दै
बालापनको बलेसी ननाघ्दै,
कलिला पैताला कलिलै हुदा
कोमल मुहार ले काचुली नफेर्दै
आमा बनिन मेरि आमा,
पतै नपाइ ख्याल ख्यालमै।

नदि स्थिर रहला
सुर्य कुनै दिन न उदाउलान
बतास बहन रोकिएला
तर मेरि आमाको
आमा बन्ने गति रोकिएन,
कहिले कमेरो लाई पौष्टिक भोजन पारिन
कहिले आफ्नै पसिनाको नुनिलोमा मुछेर
सेलाएको ढिडो ले आत मारिन,
पात्रोमा तिथि फेरिए झै
दर्जन सन्तान उमारिन,
कहिले पिडिमा
कहिले बारिमा
कहिले परालमा,
छोरा छोरी कि धनी बनिन मेरि आमा।

४० नपुग्दै ८० कि झै
चाउरिएका गाला
सुकेका छाला
अङ्ग अङ्ग गुट्मुटिएका निला नशा
कुप्रीएको ढाड
साच्चै बुढी बनिन मेरि आमा
छोरा हरु बलवान् छन!
कोहि भोट
कोहि मधेस
कोहि मुग्लान
कोहि धनाढय
उनका बिरुवा ले जंगल भएको छ,
तर
बुबा ढलेको मोठ अगाडि
तेहि मोठमा तुलसी रोपेर
आफ्नो मृत्यु सैया को कल्पनामा
बसिरहेकी छिन मेरि आमा।

सुटबुटमा ठाट्टिएर
टिमिक्क छाट्टिएर
देश हाक्ने
कुलको मान राख्ने
डिङ हाक्दैछु म
आमाको लाम्टो को पोषमा
बाउको कुर्तो को जोश
घोलेर
ठुला महल उभ्याउने
होडबाजी मा लागेको छु
वृद्ध भत्ताको नोट साटेर
नातिलाइ पापा किन्दै
हसिलो मुहार पार्दै
एक छाक जाउलो
आसुको नुनिलोले निल्दैछिन मेरि आमा।

अर्ति र उपदेश को भण्डारा लगाउदै
मातापिताको भजन गाउन
दान पुन्य
अनि देशान्तर मा
हिडेका छौ हामी छोराछोरी ,
आमा खुवाउनी औसि मा
मिठाई लिएर आउदा
पोहोर औसिको मिठाई
हाम्रै लागि साचेकी छिन !
आफ्नो डढेको मुटु भुलेर
हाम्रो उन्नति मा मख्ख छिन!
करकरी लुछेको पिडौलामा
फरियाको त्यान्द्रो कसेर
सन्तान को भलोको तप गर्दैछिन !
र्‍याल कट्कटिएको थाङ्नोमा लडेर
पुकार गर्दैछिन मेरि आमा
मेरा सन्तान ले सुख पाउन
तिनका पाउमा ठेस नलागोस।

शम्भु गजुरेल
नुवाकोट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु