प्रधानमन्त्री केपी शर्मा ओलीलाई लन्डनमा गैरआवासीय नेपाली संघ यूकेद्वारा अभिनन्दन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ २९ गते, बुधबार ११:२०

जेठ २९,लन्डन– १७ वर्षपछि बेलायत भ्रमणमा आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लन्डनमा गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेले अभिनन्दन गरेको छ । एनआरएन युकेको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको कदर गर्दै अभिनन्दन गरेको हो । मंगलबार बिहान लन्डनस्थित नेपाली दूतावासमा आयोजित एक समारोहमा उक्त अभिनन्दनपत्र प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा एनआरएन आइसीसीका उपाध्यक्ष कुल आचार्यले नेपालमा लगानी भित्र्याउन गैर आवासीय नेपाली संघले नेपाल सरकारसँग सहकार्य गरिरहेको स्मरण गरे । उनले हाल संसदमा विचाराधीन नागरिकता सम्बन्धि विधेयकमा रहेको गैर आवासीय नेपाली नागरिकताको प्रावधानलाई लचिलो बनाउन आग्रह गरे ।

आचार्यले ”एक पटकको नेपाली संधैको नेपाली” भन्ने मूलमन्त्र अनुरुप भावी पुस्तालाई पनि नेपालसँग जोडी राख्न गैर आवासीय नेपाली नागरिकता ऐनलाई उदार र व्यवहारिक बनाउन आग्रह गरे । प्रधानमन्त्रीसँगको भेटबारे उपाध्यक्ष आचार्यले यसरी प्रकाश पारे–‘लन्डनस्थित नेपाली दूतावासमा एनआरएन युकेका साथीहरुसहित सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई हाम्रा चासोका विषयहरु सुनाउने मौका पाइयो। मैले खासगरी गैर आवासीय नेपाली नागरिकतालाई सरल र झन्झटमुक्त बनाउन आग्रह गर्दै एनआरएन लगानी बारेमा प्रकाश पारें ।’ आचार्यले भने–‘एनआरएन युकेका अध्यक्ष योगकुमार फगामीले “भिजिट नेपाल २०२०” अभियानलाई सफल बनाउन लन्डन–काठमाडौँबीच सिधा हवाइ सेवा शुरु गर्न माग गर्नुभयो। हामीले उठाएका मुद्दाहरुमा प्रधानमन्त्रीले स्पष्ट पार्नुहुने अपेक्षा गरेका छौं। अत्यन्तै व्यस्त कार्यतालिकाका बीच पनि हामीलाई आफ्नो कुरा राख्ने मौका दिनु भएकोमा सम्माननीय प्रधानमन्त्री तथा समय मिलाई दिनु भएकोमा बेलायतका लागि नेपालका महामहिम राजदूत डा दुर्गाबहादुर सुबेदीप्रति हार्दिक आभार व्यक्त गर्दछु।

संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्यले गैर आवासीय नेपालीलाई प्रदान गरिने नागरिकताको संविधानमा रहेका ब्यवस्थाले केही कठिनाई आएको बताए । उनले नेपालमा लगानी भित्र्याउन गैर आवासीय नेपाली संघले नेपाल सरकारसँग सहकार्य गरिरहेको बताए । उनले हाल संसदमा विचाराधीन नागरिकता सम्बन्धि विधेयकमा रहेको गैर आवासीय नेपाली नागरिकताको प्रावधानलाइ छिटो, छरितो र झन्झट मुक्त बनाउन आग्रह गरे ।
कार्यक्रममा एनआरएन युकेका अध्यक्ष योगकुमार फगामीले ब्रिटिश सेनाबाट सेवानिवृत्त गोर्खा सैनिकहरुको समान पेन्सन लगायतका समस्या समाधान गर्न बेलायत सरकारसँग उच्चस्तरीय वार्ता टोली बनाउन पहल गर्न, गोर्खा सैनिकहरु त्रिपक्षीय सन्धि अनुसार बेलायत आएको हुँदा उनीहरुको नागरिकताको विषयलाई अलग ढंगले सम्बोधन गर्न आग्रह गरे । उनले गैरआवासीय नेपाली नागरिकता विदेशस्थित नेपाली दूतावासबाट वितरण हुने व्यवस्था मिलाउन पनि आग्रह गरे । फगामीले “भिजिट नेपाल २०२०” को प्रवर्द्धन गर्न जति सक्दो चाँडो नेपाल वायु सेवा निगमको लन्डन(काठमाडौँ सिधा उडानको व्यवस्था मिलाउन पनि माग गरे ।त्यस्तै एनआरएन युकेका अध्यक्ष योगकुमार फगामीले गैर आवासीय नेपाली नागरिकता विदेशस्थित नेपाली दूतावासबाट वितरण हुने व्यवस्था मिलाउन पनि आग्रह गरे । कार्यक्रममा एनआरएन युकेका उपाध्यक्षहरु शेर सुनार, प्रेम गाहा, पुनम गुरुङ, ललित न्यौपाने, सुशीला राई, महासचिव राजकुमार त्रिपाठी, एनआरएन आईसीसीका सल्लाहकार सुरेन्द्र श्रेष्ठ, प्रवक्ता रमेश सिंह सारंगकोटी, संगीता मरहट्टा, लगायतको सहभागिता थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु