आयोगको पूर्ण बैठक बसेर निर्णय गर्छौं, अहिलेलाई आवेदन जारी : प्रवक्ता शर्मा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २९ जेष्ठ २०७६, बुधबार १९:५८
काठमाडौं, २९ जेठ । लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले आयोगले संविधानसम्वत रुपमा विज्ञापन गरेको जिकिर गरेका छन् । विज्ञापन रद्द गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनबारे आयोगको पूर्ण बैठक बसेरमात्रै निर्णय गरिने उनको भनाई छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले आयोग स्वच्छ निकाय भएकोले कानून र संविधानको पूर्ण पालना गर्ने विश्वास दिलाए । उनले भने,‘आयोगले योग्य र भरोसायोग्य जनशक्ति नियुक्ती गर्छ । आयोग विवादमा आउँदैन् ।’ आयोगले समितिको निर्देशन तथा निर्णयलाई सम्मान गर्ने उनको भनाई छ । उनले भने,‘समिति आफैंमा सार्वभौम निकाय हो । हामी समितिको निर्णय पालना गर्छौं ।’

यद्धपी उनले आयोग उम्मेद्धवारप्रति पनि उतिकै उत्तरदायी र जिम्मेवार रहेको सुनाए । उनले थपे,‘समितिको निर्देशन आयोगमा दर्ता भैसकेको छ । अब यस सम्बन्धमा छलफल गरेरमात्रै हामी यथाशक्य छिटो निश्कर्षमा पुग्छौं ।’

उनले आयोगको पूर्ण पदाधिकारीको बैठक नबसुञ्जेल आवेदन प्रक्रिया नरोकिनेपनि स्पष्ट पारे । उनले भने,‘हामी छिट्टै यसको समाधान दिन्छौं । उम्मेद्धवारलाई अप्ठ्यारो नपरोस भन्नेतर्फ आयोग सचेत छ ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु