विश्व हिन्दु महासंघको युवा अन्तर्राष्ट्रिय समिति आन्दोलनमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार १ गते, आईतवार २१:५९

काठमाडौं, १ असार । सनातन हिन्दु धर्ममाथि निरन्तर आक्रमण भइरहे रक्तपात हुने चेतावनी दिदै विश्व हिन्दु महासंघको युवा अन्तर्राष्ट्रिय समिति आन्दोलनमा उत्रिएको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिका अध्यक्ष सागर थापाले देशमा अब हुनसक्ने घटनाको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताए ।

‘धर्मनाश गर्नेहरुले अति गरे अब आन्दोलनको आँधीबेहरी चलाउँछौं,’ थापाले भने,‘देशमा अब रक्तपात भए केपी शर्मा ओलीले जिम्मा लिनुपर्छ ।’ सनातन धर्म संस्कृति र संस्कारलाई सामन्तवादको स्वरुप भन्दै हिंड्नेहरु धर्मविरोधी र राष्ट्रघाती भएको आरोप लगाए ।

संस्कृति खत्तम पार्ने उद्देश्यले आएको भन्दै विश्व हिन्दु युवा संघले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । आन्दोलनको कार्यक्रम अनुसार २ असारमा देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत् सरकारलाई ज्ञापन पत्र बुझाउने, ३ गते पशुपतिनाथमा विरोध सभा, ४ गते देशभरका मठमन्दिरहरुमा विहान साँढे ७ बजे १० मिनेट घन्टा बजाउने, ५ गते साँझ वसन्तपुरमा विरोधसभा गर्ने, ६ गते अन्र्तक्रिया, ७ गते गुठी ऐनको विरोधमा विरोध सभ ागर्ने, ८ गते देशभरका मठ मन्दिरमा ध्यान पूजा पाठ गर्ने, ९ गते रत्नपार्कमा कोणसभा गर्ने समितिका महासचिव रोशन जंग बस्नेतले जनाएको छ ।

यसैगरी, १० गते गुठी विधेयकविरद्ध देशभर कडा आन्दोलन गर्ने समितिका महासचिव बस्नेतले जानकारी दिए । विश्व हिन्दु महासंघ, नेपालका अध्यक्ष डा. रामचन्द्र अधिकारीले धर्म नरहे देशकै अस्तित्व सकिने भन्दै वर्तमान सरकार धर्मनाशमा लागेको आरोप लगाए । हिन्दु धर्ममाथि बाह्य इशारामा निरन्तर प्रहार भइरहेकाले त्यसविरुद्ध सबै एकजुट हुनुपर्ने बताए ।

पशुपति भण्डारी सेवा समाजका अध्यक्ष केदारमान भण्डारीले धर्मको रक्षा गर्नेतर्फ सबै लाग्नुपर्ने बताए । उनले हिन्दु धर्मविरुद्ध नियोजित रुपमा आक्रमण हुँदै आएको बताए । स्वामी रामबाबाले धर्मनाश गर्ने उद्देश्यले गुठी प्रथा सक्ने क्रियाकलाप भएको बताए । बैकटेश्वर पिठाधिष स्वामी पद्मधराचार्यले लामो योजना अनुसार अहिलेका गतिविधि भइरहेको बताए ।

कार्यक्रममा विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीले विधेयक फिर्ता नलिए कडा आन्दोलनको सामना गर्न तयार हुन भनिन् । देशमा भूमाफियाको इशारामा सरकार चलिरहेको भन्दै नेपाली जनता अब चुप लागेर नबस्ने बताइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु