
काठमाडौं । हिन्दुराष्ट्र र राजसंस्थाको माग गर्दै आज काठमाडौंको रत्नपार्कमा खवरदारी सभा गरिएको छ । स्वतन्त्र नागरिक मञ्चको आयोजनामा भएको खवरदारी सभामा बक्ताहरुले गणतन्त्र स्थापना भएको ११ वर्ष भइसक्दा पनि देश परिवर्तनको दिशामा नगएकाले खवरदारी गर्नुपरेको बताए ।
राजसंस्था हुँदा जनताले योभन्दा कम दुःख भोग्नुपरेको उनीहरुको भनाई छ । सबै नागरिकलाई सचेतना जगाउने उद्येश्यले खवरदारी गर्दै आइएको मञ्चका संयोजक हेमबिक्रम सिलवालले बताए । उनले सम्पूर्ण पार्टिहरु पनि आफ्नो लाइनमा आउनुपर्ने पनि बताएका छन् । मञ्चले २०४७ सालको संविधान व्यूँताउनुपर्ने र अहिलेको संविधान खारेज गर्नुपर्ने भन्दै निरन्तर कार्यक्रम गर्दै आएको छ ।
सिलवालले जनताको चाहना अनुसार आफूहरुले अभियान थालेको बताए । सिलवालले देश अहिले ठूलो संकटमा परेकाले बचाउने दायित्व सबैको भएको बताए । ‘मलाई देशको चिन्ता छ , शासन गर्नेहरुले देशको नाममात्र बेचेर खाए’ सिलवालले भने ‘ अब यो पार्टी र त्यो पार्टी नभनी देश जोगाउनुपर्ने बेला आएको छ ।’ मञ्चले प्रत्येक शुक्रबार रत्नपार्कमा कार्यक्रम गर्दै आएको छ । उहाँले उपत्यकासहित नेपालगञ्ज, जुम्ला, धनगढी, बुटवल, बिराटनगर, बीरगञ्जलगायतका ठाउँमा सभा गरिँदै आएको बताए । २०७४ मंसीर १ गते मञ्चको स्थापना भएको हो ।
मञ्चले २०७२ सालमा बनेको संविधान विभेदकारी भएको भन्दै खारेजीको माग गरेको छ । उसले सबै राजनीतिक शक्तिहरुको सहमतिमा राजनीतिको विकल्प खोजिनुपर्ने जनाएको छ । मञ्चले सरकारले संसद सचिवालयमा दर्ता गरेका राष्ट्रघाती विधेयक पनि फिर्ता लिन सरकारसँग माग गरेको छ । कार्यक्रममा राष्ट्रवादी नागरिक समाजका केन्द्रीय सदस्य थर्कबहादुर बस्नेतले सरकारको गलत गतिविधिले देश संकटमा परेको बताए । उनले सरकारले जनमतको कदर गर्न नसकेको पनि आरोप लगाए । मञ्चले हिन्दु अधिराज्य पुनस्र्थापना गर्नुपर्ने अडान राखेको छ ।
‘जनताको केही पनि काम भएको छैन, केही राहत पाउनुको साटो उल्टै आहत पाएका छन्’ बस्नेतले भने ‘ विधिको शासन छैन, व्यक्तिको शासन भएकाले यो अवस्था आयो ।’ कार्यक्रममा वरिष्ठ अधिवक्ता विष्णुप्रसाद भट्टराई, पत्रकार प्रेम कैदीलगायतले पनि बोल्नुभएको थियो ।


