काठमाडौं, १९ असार । गैरआवासीय नेपाली संघ ( एनआरएनए)का अध्यक्ष भवन भट्ट, संघका संरक्षक तथा नागरिकताको निरन्तरता सम्बन्धी कार्यदल का संयोजक रामप्रताप थापा, उपाध्यक्ष कुल आचार्यसहितको एनआरएनएको समुहले काठमाडौँमा राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठ एवम् कानून, न्याय तथा संसदीय मामिला मंत्री भानुभक्त ढकालसंग छुट्टाछुट्टै भेट गरेको छ ।
भेटमा समूहले संसदमा विचाराधीन नागरिकता विधेयक अन्तर्गतको गैर आवासीय नेपाली नागरिकताको प्रावधानलाई संसारभरि फैलिएका गैर आवासीय नेपालीहरुको चाहना बमोजिम छिटो, छरितो र झन्झटमुक्त किसिमले वितरण गर्ने व्यवस्था मिलाउनका लागि अनुरोध गरेको छ ।
भेटपछि जनसवाल राष्ट्रिय दैनिकलाई प्रतिक्रिया दिदैं अध्यक्ष भट्टले उहाँहरु दुवै मागहरुप्रति सकारात्मक हुनुका साथै आआफ्नो स्थानबाट सक्दो सहयोग गर्ने वचन दिएको जानकारी दिए । नागरिकतासम्बन्धी विषय छिट्टै टुंगिनेमा आफुहरु विश्वस्त रहेको र संघले आफुले गर्नुपर्ने कामहरु तिब्र गतिमा गरिरहेको पनि भट्टले बताए ।