काठमाडौं -म्यानमारको यान्गोनमा शनिबारदेखि सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्रशान्त क्षेत्रीय बैठकको आज औपचारिक उद्घाटन भएको छ । म्यानमारका युनियन मिन्ष्टिर अफ कोअपरेशनचो टिनले बैठकको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा प्रमुख अतिथि म्यानमारका अन्तर्राष्ट्रिय सहयोग मन्त्री चो टिन हुनुहुन्छ भने उद्घाटनमा विशेष अतिथि नेपाल सरकारका पूर्व परराष्ट्र मन्त्री डा. प्रकाश शरण महत, संघका सल्लाहकार तथा नेपालका संघीय संसदका माननीय सदस्य डा. सूर्य पाठक, म्यानमारका लागि नेपाली राजदुत भीम उदास साथै संघका केन्द्रिय अध्यक्ष भवन भट्ट र प्रमुख संरक्षक तथा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो हुनुहुन्छ । उद्घाटनमा विभिन्न नेपाली गीत र सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो । म्यानमारमा २ लाख बढी नेपाली भाषी रहेका छन् । ‘नेपालको समृद्धिका लागि गैरआवासीय नेपालीहरुको भूमिका’ विषयमा केन्द्रित रहने बैठक जुलाई ६ र ७ गरी दुईदिने आयोजना भएको हो । बैठकको औपचारिक उद्घाटन आज भएपनि शनिबार एसिया क्षेत्रका राष्ट्रिय समन्वय परिषदको प्रतिवेदनको प्रस्तुति र महिला तथा युवासँग सम्बन्धित कार्यक्रम सम्पन्न भइसकेका छन् ।
शनिबारको बैठकको सुरुवात केन्द्रिय अध्यक्ष भवन भट्टको सम्वोधनबाट भएको थियो भने सभापतित्व क्षेत्रीय संयोजक किरणविक्रम थापाले गरेका थिए । बैठकमा नेपाल सरकारका पूर्व परराष्ट्र मन्त्री डा. प्रकाश शरण महत, संघीय संसदका माननीय सदस्य डा. सूर्य पाठक, म्यानमारका लागि नेपाली राजदूत तथा संघका संस्थापक महासचिव भीम उदास, संघका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतो, उपाध्यक्ष कुमार पन्त र कुल आचार्य, महासचिव डा. बद्री केसी, सचिव डिवि क्षेत्री, प्रवक्ता भूषण घिमिरे, युवा संयोजक सुदन थापा, सल्लाहकार डा. हेमराज शर्मा लगायत अन्य पदाधिकारी एवं सदस्य र अभियन्ताहरुको सहभागिता रहेको छ ।
यसैगरी भेलामा एनआरएनए आइसिसी सल्लाहाकर गोबिन्द सुबेदी, मध्यपूर्व संयोजक आर के शर्मा, एनआरएनए मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, पूर्व एसिया प्यासिफिक डिआरसी गोबिन्द श्रेष्ठ, एनआरएनए ओसेनिया संयोजक धर्मराज अधिकारी, एनआरएन जापान अध्यक्ष टासी वाङ्ग्दि लामा, आइसिसी सदस्य मुकेश बरुवाल, आइसिसी सदस्य मनोज गोर्खाली ,महेश श्रेष्ठ, बिश्व राई, सुदिप कार्की, कपिलदेब थापा,राजु सैयद एनआरएनए एसिया महिला संयोजक जुनु गुरुङलगायत दर्जनौ देशबाट सयौ प्रतिनिधी तथा सहभागीहरु म्यानमार आइसकेका छन् ।
शनिबारको बैठकमा मुलत प्रवासमा रहेका नेपाली समुदायको क्रियाकलाप नेपाली समुदायले भोग्ने गरेका समस्या र नेपालको कला संस्कृति तथा भाषा प्रवर्धनका कामहरुबारेमा सहभागीहरुले छलफल गरेका थिए । सयौं वर्षको इतिहास बोकेको म्यानमारको नेपाली समुदायले नेपालीहरुको संस्कृति बचाएर राख्न सकेको कुराको सबैले प्रशंसा गरेका थिए । खासगरी थाइल्याण्ड र म्यानमारमा धेरै पहिले देखि नेपालीहरुको बसोवास रहेकाले अन्य मुलुकका नेपालीको भन्दा फरक मुद्दाहरु समेत भएकाले ति विषयमा संघ र सरकारको समेत फरक चासो हुनुपर्ने धारणा बैठकमा उठेको थियो । महिला सत्रमा गैरआवासीय नेपाली अभियानमा महिला तथा युवाहरुको भूमिका अग्रणी हुनु पर्ने नेपाली आमाबाट जन्मेका सबैले नेपाली नागरिकताको अधिकार पाउनु पर्ने आवाज उठाइएको थियो ।
त्यसै गरी युवा सत्रमा दोस्रो तेस्रो पुस्ताका गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली अभियानमा सक्रिय गराउनु पर्ने धारणा व्यक्त गरियो । मुलत युवाहरुको विश्वासको तह बढाउनु पर्ने र विभिन्न मुलुकमा रहेका युवाहरुबीच अनुभवहरुको आदानप्रदान गर्दै सहकार्यको वातावरण बनाउनु पर्ने कुरामा जोड दिइएको थियो । क्षेत्रीय बैठकमा एसिया क्षेत्रका जापान, चीन, मकाउ, मलेसिया, थाइल्याण्ड, हङकङ, दक्षिण कोरिया र आयोजक राष्ट्र म्यानमारको सहभागिता रहेको छ भने अन्य क्षेत्र अमेरिका, युरोप, मध्यपूर्व र ओसिनियाको समेत प्रतिनिधित्व रहेको छ । शनिबारको बैठकको संचालन क्षेत्रीय उपसंयोजक पारशमणि पोख्रेल र गणेश शर्माले गरेका थिए । करिब तीनसयको सहभागिता हेको बैठकमा नेपालको समृद्धिसम्बन्धी विभिन्नमा छलफल गरी निर्णय लिइने छ । शनिबारको बैठक पछि सहभागीहरुलाई म्यानमार स्थित नेपाली दुतावासले रात्रिभोजसहितको स्वागत कार्यक्रम आयोजना गरेको थियो ।