• सम्बृद्ध गाउँपालिकाको आधार तयारः धेरै काम, कम प्रचार

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार १४:१२

    काठमाडौं । माप्य दुधकोशी गाउँपालिकाको दुई आर्थिक वर्ष सन्तोषजनक रुपमा बितेको छ । दुई वर्ष अवधिमा लक्षित योजना र जनअपेक्षालाई सम्बोधन गरिएको र सम्बृद्ध गाउँपालिकाको सपना साकार पार्ने आधार तय गरिएको दाबी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले गरेका छन् ।

    प्रचारबाजीमा नभई काममा ध्यान दिइएकाले गाउँपालिकाले हासिल गरेको सफलताबारे कम प्रचार भएको अध्यक्ष राईको भनाइ छ । उनकाअनुसार उत्पादन र रोजगारीसँग प्रत्यक्ष जोडिने कार्यक्रमहरुका साथै भौतिक पूर्वाधार, सडक सञ्जाल, विद्युत, खानेपनी, शिक्षा, स्वास्थ्य, खेलकुदलगायत सबै क्षेत्रको विकास प्राथमिकताका आधारमा तीब्र गतिमा अघि बढाइएको छ ।

    अहिलेसम्म गाउँपालिकाको केही क्षेत्रबाहेक सबैलाई जोड्ने सडक सञ्जाल विस्तार भइसकेको र अहिले सडक स्तरोन्नति तथा कालोपत्रेका लागि काम अघि बढाइएको छ । त्यस्तै मोटरेबल पुल, झोलुङगे पुल, विभिन्न साँस्कृतिक केन्द्रहरुको पूर्वाधार विकास भइरहेका छन् भने उत्पाद र रोजगारका लागि विभिन्न तालिम, कृषि तथा पशुपालनका लागि अनुदान एवं प्रोत्साहनमूलक योजनाहरु सञ्चालनमा ल्याइएको छ ।

    अध्यक्ष राईले आफ्नो कार्यकालमा कृषि र पशुपालनमा आत्मनिर्भरसँगै व्यवसायिक बनाउने, तीन वटै मोटरेबल पुल निर्माण गरिसक्ने, नेपालकै आकर्षक किराती चिण्डो निर्माण गरिसक्ने, गाउँपालिकालाई पर्यटीय गन्तव्यको रुपमा विकास गर्ने, गाउँपालिकाको केन्द्रबाट प्रत्येक वडामा सडक सञ्जालले जोड्ने र मुख्य हाईवेलाई कालोपत्रे गरिसक्नेलगायतका योजनाहरु रहेको बताए ।

    यस्ता छन्, गाउँपालिकाको दुई वर्ष अवधिमा भएका काम र अघि बढाइएका योजना तथा कार्यक्रमहरुः

    सडक सञ्जाल विस्तार, स्तरोन्नति र कालोपत्रेः

    सदरमुकाम सेर्गाखोपदेखि खरिखोलासम्म जोड्न बाँकी रहेको ठूलोढुंगादेखि जुभिङसम्मको ट्रयाक ओपनका ट्रयाक ओपनको काम सम्पन्न गरिएको छ ।

    सेर्गाखोपदेखि मौरीखोलासम्मका लागि विनियोजित १ करोड ७ लाख बजेटले स्तरोन्नति गरी बर्खामासमेत गाडि चल्ने बाटो तयार भएको छ ।

    प्रदेश सरकारबाट सेर्गाखोपदेखि मुलखर्कसम्मका लागि विनियोजित १ करोड २५ लाख र मुलखर्कमुनीको आरोलाको लागि विनियोजित १ करोड ५० लाख बजेटबाट सडक कालोपत्रे गर्ने काम सुरु भइसकेको छ ।

    त्यस्तै गाउँपालिकाबाट विनियोजित ५० लाख बजेटले सरिम्या ओरालोको साँघुरो ट्रर्निङहरुलाई डिपीआरअनुसार विस्तार तथा स्तरोन्नति गर्ने काम भइरहेको छ ।

    सल्लेरी सेर्गाखोपदेखि खरिखोला डाँडाँसम्मको करिब ४५ किलोमिटर हाईवेका लागि डिपीआर बनाउने क्रममा साढे १७ किलोमिटरको डिपीआर फाइनल रिपोर्ट अइसकेको र बाँकीको डिपीआर फाइनल रिपोर्ट छिट्टै आउँदैछ ।

    कायघाटदेखि फापरेडाँडाँ हुँदै हाँकुला, त्याप्तेल र दङ्खी जोड्ने सडक, त्यस्तै फापरे डाँडाँबाट देलबय, रोचम, सोलाबन जोड्ने सडक तथा फापरे डाँडाँबाट वाप्सा, तामाखानी, टारी लामबगरसम्म सडक ट्रयाक ओपन गर्ने काम सम्पन्न भइसकेको छ । रन्यामदेखि फापरे डाँडाँसम्मको कालोपत्रका लागि डिपीआर तयार गरेर फाइनल रिपोर्ट आइसकेको छ ।

    सेतीहालबाट अम्रास, धकम्यलुङ जोडने, नाम भस्मेबाट बुर्दुम, कोफु जोड्ने सडक केहीमात्र बाँकी, छाँगाबाट सुन्दरझरना, नगियाङ, खाप्चिङ जोड्न् सडक ट्रयाक ओपन भइसकेको छ । अब यी सडकहरुको स्तरोन्नति र कालोपत्रेमा जोड दिइएको छ ।

    यसरी हेर्दा अब वडा नम्बर ७ को साकरनाम, हिल, छेछेव्या, सोलाबन, सिवुचे, वडा नम्बर १, २, ३ र ५ को केही भागबाहेक गाउँपालिकाको सबै क्षेत्रलाई सडक सञ्जालले छुइसकेको छ ।

    यसरी बन्दै तीन वटा मोटरेबल पुलः

    गाउँपालिकाको विभिन्न वडालाई जोड्ने मोटरेबल पुल निर्माणको काम अघि बढाइएको छ । आव २०७६/०७७ मा गाउँपालिकाबाट ओर्लाङघाट मोटरेबल पुलका लागि २ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । माप्य दुधकोशी गाउँपालिका वडा नम्बर १ र २ को बीचको उक्त पुल माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकालाई जोड्ने महत्वपूर्ण कडिको रुपमा रहेको छ ।

    ८ करोड ३४ लाख रुपैयाँको टेण्डर भएर निर्माण कार्य अघि बढाइएको उक्त पुलका लागि संघीय सांसदमार्फत ९० लाख, प्रदेश सरकारबाट २ करोड रुपैयाँ विनियोजन भएको छ भने बाँकी रकम माप्य दुधकोशी र खुम्बु पासाङल्हामु गाउँपालिकाबाट ५०÷५० प्रतिशत हिस्सा बजेटको व्यवस्था गर्ने सम्झौता भएको छ । ४८ मिटर लामो र ५० टन क्षमताको उक्त पुलको नाम नै माप्य खुम्बु मितेरी पुल भनेर नामारण गरिएको छ । उक्त पुल आउँदो चैत्र महिनाभित्र उद्घाटन गरिने गाउँपालिका अध्यक्ष राईको दाबी छ ।

    त्यस्तै माप्य दुधकोशी कोशीपारी तर्ने कायखेत मोटरेबलको लागि पनि आव २०७६/०७७ को बजेटमा २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । करिब ४० मिटर लामो उक्त पुलको टेण्डर आउँदो साउन महिनामा गर्ने र सुरु भएको एक वर्षभित्र पुलको निर्माण कार्य सकिनेगरी योजना अघि बढाईने छ ।

    त्यसपछि अर्को लामबगर मोटरेबल पुलका लागि पनि काम अघि बढाइएको छ र अहिले माटो परिक्षणलगायतको काम गरिएको छ ।

    झोलुङ्गे पुलः

    भौगोलिक विकटाका कारण आवतजावतमा देखिएको समस्याहरुलाई ध्यानमा राखेर आवश्यकताअनुसार झोलुङ्गे पुल निर्माण कार्य पनि तीब्रताका साथ अघि बढाइएको छ । यसक्रममा अहिलेसम्म चेल्सी खोला वडा नम्बर ४ र ३ जोड्ने झोलुङ्गे पुल तथा वडा नम्बर ६ र ३ जोड्ने दुधकोशीमा झोलुङ्गे पुल निर्माण भइसकेको छ ।

    इन्दोक (इंखु खेला) झुम्काई र सोताङ पावै जोड्ने झोलुङ्गे पुल तथा गाउँपालिकाको वडा नम्बर १ र ७ नम्बर जोड्ने ठाने खोलामा झोलुङगे पुल निर्माणका लागि बजेट आइसकेको छ ।

    खानेपानी आयोजनाः

    खानेपानीका लागि टोलटोलमा आवश्यकताअनुसार योजनाहरु अघि बढाइएको छ । गाउँपालिकाको ठूलो योजनाका रुपमा अहिले राप्छा र वाँकुको खानेपानी अघि बढाइएको छ । जसका लागि बजेटको व्यवस्थासमेत गरिएको छ ।

    गाउँपालिकाभित्रका भौतिक संरचनाहरुः

    भौतिक संरचनाको विकास गर्ने क्रममा सुविधासम्पन्न गाउँ सभाहल र प्रहरी चौकी बासाको भवन (आरसीसी विल्डिङ) निर्माण सम्पन्न गरी प्रदेश नम्बर १ का मुख्यमन्त्रीद्धारा उद्घाटन गरिसकिएको छ ।

    त्यस्तै अहिले वाकुमा पनि प्रहरी चौकीको भवन निर्माण भइरहेको र करिब ८० प्रतिशत काम काम सम्पन्न भइसकेको छ । गाउँपालिकामा कृषि विकास बैंक स्थापना गरिएको छ ।

    गाउँपालिका भरीको महिलाहरुका लागि भवन राप्छामा निर्माण सम्पन्न हुन लागेको छ । वडा नम्बर २ को वडा कार्यालय, दिलुङ संस्थाको भवन, नाममा दलित भवन, वडा नम्बर ६ को रोचम, डि (देलबय) र सिरान टोलमा १/१ वटा सामुदायिक भवन निर्माण भइसकेको छ ।

    धेरै टोलहरुमा विद्युत उत्पादन भइरहेका छन् । तिनका व्यवस्थापन तथा स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।

    तेन्दुमा निर्माणाधिन रंगशालाका लागि काम भइरहेका छ भने खाली डाँडाँको खेल मैदानको स्तरोन्नतिलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको छ । त्यसले आवश्यकता पूर्ति गर्छ । वडा नम्बर १, ५, ६ र ७ का लागि आवश्यकताअनुसार खेलकुद पूर्वाधार विकास गर्ने योजना छ ।

    त्यस्तै केन्द्रीय सरकार र प्रदेश सरकारसँग समन्वयमा वाप्साको तामाखानी उत्खनन् र गाउँपालिकाभित्र निर्माण गर्न लागिएको ३७५ मेगावाट, ११० र ४७ मेगावाटको जलविद्युत उत्पादनका लागि प्रभावकारी रुपमा काम अघि बढाउने योजना पनि उनले अघि सारेका छन् । यो गाउँपालिकाको मात्रै नभएर राष्ट्रिय अर्थतन्त्रकै लागि महत्वपूर्ण कडी भएको भन्दै उनले यसलाई जनअपेक्षाअनुरुप अघि बढाउने प्रतिबद्धतासमेत जनाए ।

    विभिन्न निकायसँगको समन्वय र साझेदारीमा प्रशुति गृह वाँकु र काँकुमा स्थापना गरिने छ । त्यस्तै जिल्ला समन्वय समितिसँगको साँझेदारीमा गाउँपालिकामा १५ सैयाँको अस्पताल निर्माण हुँदैछ ।

    पर्यटनका लागि गुरुयोजना तयार गरिदैः

    गाउँपालिकाभित्र बसोबास गर्ने विभिन्न जाति समुदायहरुको साँस्कृतिक पक्षको संरक्षन एवं प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रसँग जोड्नका लागि प्राथमिकताका साथ काम अघि बढाइएको छ । यसै शिलशिलामा वडा नम्बर २ मा मगर संग्रहालय, सरिम्यामा साँस्कृतिक संग्रहालय भवन निर्माण सम्पन्न भइसकेको छ । राप्छा र काँकुको भूमेथानको व्यवस्थापन गरिएको छ भने वाँकुको थालेम र रोचमको लागि बजेट नियोजन गरिएको छ ।

    त्यस्तै सोलाबनमा गुम्बा निर्माण गरी त्यसको आवश्यक व्यवस्थापन गरिसकिएको छ भने हिलको गुम्बाको फिनिसिङका लागि बजेट विनियोजन गरिएको छ ।

    काँकु घुम्ने मेराको गुम्बाका लागि पुस्तकालय तथा किचन व्यवस्थापन र पर्यटकीय गेट निर्माणार्थ बजेट विनियोजन ।

    अम्रासमा तामाङहरुको गुठी तथा गुम्बा निर्माणका लागि बजेट विनियोजन ।

    किरातीहरुका लागि वडा नम्बर २ मा ८० फिट उचाईको चिण्डो निर्माणको काम अघि बढाइए छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु