दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जङ्गली च्याउ खाँदा पश्चिम रुकुममा १२ जना बिरामी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार २९ गते, आईतवार ११:१०

रुकुम(पश्चिम) असार २९ । जङ्गली च्याउ खाँदा रुकुम पश्चिममा एकै गाउँका १२ बिरामी भएका छन् । जङ्गलबाट ल्याएको च्याउ खाँदा मुसीकोट नगरपालिका–१ चन्दननाथ टोलका १२ बिरामी परेका हुन् । च्याउ खाएर बिरामी पर्नेमा आठ वर्षीया अञ्जु केसी, छ वर्षीय अनोज केसी, १२ वर्षीय रमेश केसी, १५ वर्षीय नवीन केसी, १७ वर्षीया कल्पना केसी र ५४ वर्षीया चन्द्रकुमारी गिरी रहनुभएको छ । त्यस्तै २४ वर्षीया जमुना गिरी, २५ वर्षीया पुष्पाञ्जली गिरी, ३० वर्षीया मनिषा बुढा, ६० वर्षीया देवी खनाल, १३ वर्षीय नवराज खनाल र १६ वर्षीया हिमाली खड्का पनि च्याउ खाँदा बिरामी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिरामी सबैको मुसीकोट नगरपालिका–१ खलङ्गाको साझा अस्पतालमा उपचार भइरहेको छ । अहिले बिरामी सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार जङ्गलबाट ल्याएको च्याउ पकाएर हिजो साँझ खाएका उनीहरु लगत्तै बिरामी परेका थिए । समयमै स्वास्थ्य संस्थामा ल्याएका कारण उनीहरुलाई केही हुन नपाएको प्रहरी नायब उपरीक्षक खड्काको भनाइ छ । यसैबीच प्रहरीले जङ्गली च्याउ नखान आग्रह गरेको छ । जङ्गली च्याउ विषालु हुने र त्यसको सेवनबाट ज्यानै जाने भएकाले जङ्गलबाट ल्याएको च्याउ नखान जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक खड्काले सबैलाई आग्रह गर्नुभयो । सधैँ खाइरहेको र चिनेको च्याउसमेत विभिन्न कारणले विषालु हुनसक्ने भएकाले जङ्गली च्याउ नखान स्वास्थ्यकर्मीले समेत आग्रह गरेका छन् । जङ्गलमा पाइने विभिन्न प्रकारका च्याउ तरकारीको रुपमा खाने गरिन्छ । च्याउ खाँदा सात विरामी जाजरकोट– जङ्गलबाट ल्याएको च्याउ खाँदा जाजरकोटमा सात बिरामी परेका छन् । जङ्गलबाट ल्याएको च्याउ खाँदा बारेकोट गाउँपालिका–१ सिल्पाचौर घर भई सदरमुकाम खलङगामा डेरा गरी बस्दै आएका ३८ वर्षीय शान्त बुढा, ३५ वर्षीय रत्न बुढा, २३ वर्षीय ओमप्रकाश बुढा बिरामी परेका छन् । यस्तै २६ वर्षीय डम्बर पुन, २२ वर्षीया शान्ति पुन, २३ वर्षीय टकबहादुर पुन र ४७ वर्षीय तीलबहादुर थापा रहेका छन् । उनीहरुको जाजरकोट अस्पतालमा उपचार भइरहेको अस्पतालका डा अमिन शाहले बताउनुभयो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको शाहले बताउनुभयो । बारेकोट घरबाट खलङ्गा आउँदा फूलचाउँलीको लेकबाट रत्न बुढाले च्याउ टिपेर ल्याएको र शनिबार साँझ पकाएर खाएका थिए । खाएलगत्तै उनीहरुमा बान्ता भएको थियो । जङ्गलमा जथाभावी उम्रेको च्याउ नखाना डा शाहले सबैमा अनुरोध गर्नुभएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु