• अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानबाट ४३ जनाको मृत्यु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २९ असार २०७६, आईतवार १४:२३

    काठमाडौं–अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानबाट ४३ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परेर २० जना घाइते भएका छन् भने २४ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकरी दिए । उनका अनुसार अहिलेसम्म देशभरमा गरेर ४३ जनाको मृत्यु भएको पुष्टि भएको जानकारी दिए । अहिलेसम्म एक हजार १०४ जनाको उद्धार गरिएको छ । यो समाचार तयार पार्दासम्म ललितपुरमा र भोजपुरमा पाँच–पाँच, मकवानपुरमा चार, काठमाडौँ, खोटाङ ,ओखलढुङ्गा र काभ्रेमा तीन–तीन, धादिङ, झापा, सिन्धुलीमा दुई–दुई जना तथा पाल्पा, पर्सा, रामेछाप, ईलाम, सुनसरी, बारा, रौतहट, सिराहा, धनुषा, चितवन र डोल्पामा एक–एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतक मध्ये १८ जना महिला र २५ जना पुरुष रहेको जनाइएको छ ।
    बाढीपहिरोमा परी मकवानपुरमा चार, धनकुटामा तीन, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा दुई, दुई, खोटाङ, धादिङ, चितवन, दोलखा र रामेछापमा एक–एक गरी २० जना घाइते भएका छन् । यस्तै सिन्धुली छ, इलाम र मोरङ्गमा तीन–तीन, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, धनुषा, धादिङ, काठमाडौँ र ललितपुरमा एक–एक जना गरी २४ जना बेपत्ता भएका छन् । सुरक्षाकर्मीले अहिले पनि उद्धार कार्य भने जारी रहेको जनाएको छ ।
    पहिरोमा परी चालकको मृत्यु
    सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा नजिकै पहिरोमा परी मोटरसाइकल चालकको मृत्यु भएको छ ।
    पाल्पा मित्याल–९ का ३१ वर्षीय धनबहादुर सुनारीको मृत्यु भएको हो । उनी पाल्पाबाट बुटवलतर्फ आउँदै गर्दा तिनाउ गाउँपालिकास्थित हेडबक्स नजिक पहिरोमा परेका थिए । सुनारीलाई पहिरोसँगै तिनाउ नदीमा खसेको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रकाश शाहले जानकारी दिए । प्रहरीले उनको शव अहिले साँझ निकालेको छ । पहिरोका कारण सिद्धबाबा सडकखण्ड अवरुद्ध छ ।
    घर पुरिँदा आमाछोरीको मृत्यु
    पहिरोले घर पुरिँदा आमाछोरीको मृत्यु भएको छ । ओखलढुंगा मोलुङ गाउँपालिका–७ पात्ले तालकोटमा शनिबार पहिरोले घर पुरिँदा ४४ वर्षीया पुटी शेर्पा र उनकी १० वर्षिया छोरी याङजीको मृत्यु भएको हो । घरमा बसिरहेको अवस्थामा घर माथिबाट आएको पहिरोले घरसँगै आमा–छोरीलाई पुरेको वडाध्यक्ष हेमबहादुर सुनुवारले जानकारी दिए । दुवैको शव स्थानीयवासीले पहिरो पन्छाएर निकालेका थिए । यस्तै सिद्धिचरण नगरपालिका–६ जन्तरखानीमा पहिरोमा परी ४५ वर्षीया कान्छीमाया श्रेष्ठको मृत्यु भएको छ । उनी पहिरोले पुरिएकी थिइन् । जिल्लामा बाढीपहिरोबाट हालसम्म पाँच जनाको ज्यान गएको छ । बाढीले बगाएर शुक्रबार चिशङ्खुगढी गाउँपालिका–४ की ८५ वर्षीया पासाङकुटी शेर्पा र सुनकोशी गाउँपालिका–४ चिउरीबोटका ५५ वर्षीय कुमार राईको मृत्यु भएको थियो ।
    खोला तर्ने क्रममा तीन किशोरी बेपत्ता
    इलामको माई नगरपालिकामा बाढीले बगाएर तीन जना किशोरी बेपत्ता भएका छन् । माई नगरपालिका–१ निवासी आकृति लिम्बू, निशा साउदेन र सुनिता साउदेन बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारीका अनुसार माई नगरपालिका–६ गोतामे माविमा शुक्रबार परीक्षा सकेर शनिबार घर जाने क्रममा उनीहरुलाई खोलाले बगाएको हो । माई नगरपालिका–६ बरधरे भन्ने स्थानबाट माइखोला तरेर घर जाने क्रममा उनीहरुलाई खोलाले बगाएको भण्डारीले जानकारी दिए । उनीहरुको खोजीका लागि जिल्ला प्रहरी कार्यालय इलाम र चिसापानी प्रहरी चौकीबाट प्रहरी खटाइएको बताइएको छ । निरन्तरको पानीका कारण उद्धार कार्यमा समस्या भएको उनले बताए । खोलाले बगाएर शुक्रबार इलाम चुलाचुली गाउँपालिकाका अञ्चल लावतीको मृत्यु भएको थियो ।
    बाढीले बगाउँदा दुई जनाको मृत्यु
    बाढीले बगाउँदा बारा र पर्सामा दुई जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा पर्साको पर्सागढी नगरपालिका–१ का १० वर्षीय निखिल पटेल र बारा परवानीपुर गाउँपालिका–१ का डेढ वर्षीय विकी यादव रहेका छन् ।बाढीले बगाउँदा चार जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सिरहा कल्याणपुर नगरपालिका–४ भोक्राहाका ५५ वर्षीय कामेश्वर यादव, महोत्तरी बलवा नगरपालिका–२ बर्दियाका ७० वर्षीय हमिद मियाँ, रौतहट गढिमाई नगरपालिका–६ धरमपुरका ५० वर्षीय आनन्द देवी र पर्साको वीरगञ्ज महानगरपालिका– १३ का १४ वर्षीय अनुप पटेल छन् । यादवलाई कमला नदी तर्ने क्रममा, मियाँ खोला तर्ने क्रममा, देवी वाग्मती नदीमा दाउरा टिप्ने क्रममा तथा पटेल बाढी हेर्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।
    खोलाले बगाउँदा बालकको मृत्यु
    खोलाले बगाउँदा झापामा शनिबार एक बालकको मृत्य भएको छ । खोलाले बगाउँदा शिवसताक्षी नगरपालिका–५ का नौ वर्षीय सौगात चापागाईंको मृत्यु भएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । चापागाईंलाई घर नजिकैको बनियाँनी खोलाले बगाएको हो । उनी खेल्ने क्रममा चिप्लेर खोलामा खसेका थिए । जिल्लामा हालसम्म बाढीले बगाउँदा तीन जनाको मृत्यु भएको छ । शुक्रबार खोलाले बगाउँदा इलाम चुलाचुली गाउँपालिका–१ का ५५ वर्षीय अञ्चल लावती र सङ्खुवासभा घर भई दमक–१० मावली आएकी छ वर्षीया एलिजा न्यौपानेको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
    आजपनि भारी वर्षाको सम्भावना
    मनसुन न्यूनचापीय रेखा मध्य र पूर्वी नेपालको तराई भू–भागमा र पश्चिमी नेपालको पहाडी भू–भाग नजिक अवस्थित रहेकाले आइतबारसम्म देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले शनिबार एक विशेष बुलेटिन जारी गर्दै न्यूनचापीय रेखासँगै न्यूनचापीय क्षेत्र पनि मध्य र पूर्वी नेपाल नजिक रहेकाले आइतबारसम्म मनसुन अति सक्रिय रहने जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै शनिबार देशभर मनसुनी वर्षा जारी रही देशका पूर्व र मध्य क्षेत्रका तराई तथा पहाडी भू–भागमा केही स्थानमा र पश्चिमी भू–भागका तराई क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
    राति देशका पूर्व र मध्यक्षेत्रका पहाडी भू–भागका केही स्थानमा र पश्चिमी पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । आइतबार देशभर पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा हुने र खासगरी पूर्व तथा मध्य क्षेत्रका केही स्थानमा र पश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार देशभर पूर्ण बदली रही अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रही पूर्वी क्षेत्रका एक–दुई स्थानमा र पश्चिमी पहाडका केही स्थानमा अति भारी वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौँमा १८.० मिलीमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा २१.९, दाङ २३.४, धनगढीमा २६.५, नेपालगञ्जमा २४.५, वीरेन्द्रनगरमा २४.० र जुम्लामा १५.६ मिलीमिटर वर्षा मापन गरिएको छ ।समचार जनसवाल दैनिक बाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु