बाढीको पूर्वसूचना दिन जलमापन यन्त्र जडान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार ३१ गते, मंगलवार १४:१८

बर्दिया -बबईको सल्यान घुइयाबारीमा बर्सेनि वर्षायाममा आउने बाढीको पूर्वसूचना प्रभावकारी बनाउन स्वचालित जलमापन यन्त्र जडान गरिएको छ ।

विपद् व्यवस्थापन समितिको पहलमा प्रदेश ५ को आन्तरिक तथा कानुन मन्त्रालयको सहयोगमा स्वचालित यन्त्र जडान गरिएको हो । यसअघि बबई नदीको माथिल्लो तटीय क्षेत्र चेपाङमा मात्र स्वचालित यन्त्र रहेको थियो ।

यसै साता घुइयाबारी स्थित बबई नदीमा स्वचालित जलमापन यन्त्र जडान गरिएपछि पूर्वसूचना प्रणाली प्रभावकारी हुने भएको छ । चेपाङबाट सदरमुकाम गुलरियास्थित भादामा पानीको प्रभाव करिब ६ घन्टामा आउने गर्छ ।जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारीले घुइयाबारीमा जलमापन यन्त्र जडानले बाढीको पूर्वसूचना तयारीमा थप सहयोग पुग्ने बताएका छन् ।अधिकारीले बबई नदीको घुइयाबारीमा जडान गरिएको स्वचालित यन्त्रले बाढीको पूर्वतयारीमा ३ घण्टा पहिल्यै सूचना पाउने बताए ।

जिल्ला विपद् व्यवस्थापन समितिले मनसुन सक्रिय भएकाले सबै सुरक्षा निकाय र विषयगत क्षेत्रलाई तयारी अवस्था रहन निर्देशन दिएको छ । यसै गरी स्थानीय तहलाई समेत विपद् व्यवस्थापनमा सक्रिय रहन भनिएको छ । समितिले कर्णाली तथा बबई नदीको तल्लो तटीय क्षेत्रमा रहेका पूर्वसूचना कार्यदललाई समेत तयारी अवस्थामा राखिएको छ ।२४ औं घन्टा जिल्ला आपतकालीन कार्य संचालन केन्द्रले नदीको बहाव निगरानी गर्ने गरेको छ ।नदीले सतर्कता तह पार गर्ने बित्तिकै साइरन बज्छ ।

बाढीको अवस्था हेरेर पहिल्यै नै पहिचान भएका समुदायमा जोखिम हेरेर साइरन बजाउने व्यवस्था मिलाइएको सञ्चालन केन्द्रका अधिकृतले जनाए । त्यसै गरी विपदो बेला खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउन यस वर्ष ५ लाख बराबरको खोज तथा उद्धार सामग्री सुरक्षा निकायलाई उपलब्ध गराइएको अधिकृतले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारीका अनुसार जिल्लाका तीनवटै सुरक्षा निकायलाई पानीको बहाव हेर्न डिस्प्रे वोर्ड उपलब्ध गराइएको छ । गत वर्ष पनि जिल्लामा सुरक्षा निकायसँग रहेको खोज तथा उद्धार सामग्रीको पहिचान गरी स्थानीय तहको सहयोगमा १५ लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराइएको थियो ।

जिल्ला विपद् व्यवस्थापन समितिले पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७६ तथा मनसुन पूर्वतयारी कार्ययोजना लागू गर्दै हुन सक्ने क्षति कम गर्न सबै तयारी पूरा गरेको हो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु