बुटवल -प्रदेशसभा सदस्यहरूलाई प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले तथ्यमा आधारित रहेर बोल्न आग्रह गर्नुभएको छ ।
मुख्यमन्त्री पोखरेलले ‘तथ्यमा फरक परे जनताको विश्वास घट्छ नैतिकतामा प्रश्न उठछ त्यसैले त्यसलाई ध्यान दिनुस्’, भन्नुभयो ।
प्रदेश ५ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको संसदीय अभ्यास र व्यवस्थापन कार्यविधि सम्बन्धी अतर्क्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले नैतिकतामा प्रश्न उठने गरी प्रस्तुत नहुन प्रदेश सभा सदस्यहरूलाई आग्रह गर्नुभएको छ। साथै आफ्नो निर्वाचन क्षेत्रमा हुने हरेक विकास निर्माणका कामको अनुगमन गर्न समेत मुख्यमन्त्री पोखरेलले आग्रह गर्नुभयो।
‘तपाईंको निर्वाचन क्षेत्रमा जाने हरेक बजेटको सही ढंगले सदुपयोग भएको छर छैन हेर्ने काम तपाईंहरूको अधिकार क्षेत्रभित्र पर्छ सही ढंगले अगाडि बढेको छरछैन भनेर अनुगमन गर्नुस्’, उँहाले भन्नुभयो।
उँहाले भन्नुभयो ‘सञ्चार माध्यममा आएका विषयहरू सत्य र तथ्यमा आधारित नहुन पनि सक्छन् तर सांसदहरूले बोल्दा तथ्यमा आधारित रहेर बोल्नुपर्छ’।
प्रदेशसभा सोमबारको बैठकमा नेकपाकै सदस्य तुलाराम बसन्त घर्तीमगरले प्रदेश सरकारले असारको १५ दिनमा गोष्ठी र सेमिनारजस्ता कार्यक्रम गरेर १५ दिनमा डेढ अर्बभन्दा बढी रकम सकाएको भनेर आरोप लगाएका थिए।
मुख्यमन्त्रीले प्रदेश ५ अन्य प्रदेशभन्दा सफल र व्यवस्थित रहेको भन्दै अरु प्रदेशका माननीयहरूले प्रदेश ५ बाट सिक्ने अवस्थामा ल्याउने काम प्रदेशसभा सदस्यहरूको भुमिका रहेको बताउनुभयो ।