आधुनिक पत्रकारीता अर्थात डिजिटल पत्रकारिता सुरुआत भएसंगै पत्रकारीता गर्ने र मिडिया चलाउनेहरुको होडबाजी नै चलेको छ । गाउँघरमा गोवरमा उम्रिएका च्याउ झैं जताततै पत्रकार र जताततै पत्रपत्रिका अनलाईन पोट्रल देख्न सकिन्छ । हात हातमा समाचार, घरघरमा पत्रकार तथा टोल टोलमा मिडिया नयाँ नेपालको नियति यस्तै बनेको छ ।
आधुनिक पत्रकारिताको नाममा न्युजको अपारदर्शिता, चोरी, भ्रामक कुराको प्रचार, चर्चाकोलागि गरिने यी यावद कुराहरुले पत्रकारिता जगत नेपालको सन्दर्भमा धमिलिरहेको छ । मान्छेले च्याउसरी पत्रकार र मिडियाहरुमा आफ्नो भनेजस्तो स्थान बनाउन नसकेपछि अनावश्यक रुपमा भ्रामक कुराहरु प्रचार गर्ने, अरुको चरित्रहत्या गर्ने, कसैमाथि गालि गलौज गर्ने र आफु चर्चा कमाउने उद्देश्य बोकेका हुन्छन् र त्यस्तै मान्छेहरुले यस समग्र क्षेत्रमाथिको विश्वसनियता समेत कमजोर बनाएका छन् ।
राज्यको उचित किसिमको मिडिया निति नहुनु, संबैधानिक प्रावधान विहिन चौथो अंगको नाममा जे गरेपनि छुट हुने परिपाटिले गर्दा यहि क्षेत्रमा भविष्य खोजिरहेको लाखौंको भविष्य अन्धाकारतर्फ उन्मुख हुँदै गएको छ । अनावश्यक प्रचारबाजि शैली, र हतारमा गरिने अनेकन कामलेपनि पत्रकारिता जगतको भविष्य कमजोर बन्दै गएको यर्थाथता हो । यसको पछाडि कारण भनेको अनावश्यक रुपमा खोलिएका अनेकन नाम र उपनामले चल्ने झोले मिडियाहरु प्रमुख बाधक हुन् ।
पत्रकार हुनको लागि निश्चित शैक्षिक योग्यता अथवा स्नातक गरेको हुनुपर्ने भन्ने प्रावधान बनाउने हो भने केहि हदसम्म पढेका बुझेका मान्छेहरु आउँथे र यस्ता अनावश्यक कुराहरुमा केहि हदसम्म नियन्त्रण हुनेथियो । त्यसैगरि अहिलेको प्रमुख बाधकका रुपमा रहेको मिडिया निति नै हुन् । जस्ले जसरी खोलेपनि पााईने, जे गरेपनि नियन्त्रण र नियमन नहुने परिपाटिको विकासले गर्दा च्याउसरी सबैको आ–आफ्नै मिडियाहरु रहेको पाईन्छ । यसरी धेरैओटा मिडियाहरु भएपछि प्रतिस्पर्धा हुने र प्रतिस्पर्धा गर्न नसक्ने कारणले गर्दा मिडिया चलाउनकै लागि समाजलाई दिगभ्रमित र अतिरञ्जित बनाउने किसिमका सामाग्रीहरु पोष्ट गर्ने र त्यहि सामाग्रीलाई कपि पेष्ट गर्ने परम्पराले अनलाईन मिडियामाथिको विश्वसनियता दिनानुदिन घट्दै गएको छ । यस तर्फ बेलैमा सजग रहनु हितकर हुने देखिन्छ ।
राज्यले मिडिया दर्ता गर्दा र पत्रकार हुनकोलागि निश्चित सिमाना तोकिदिने हो भनेपनि यस्ता कुराहरु निरुत्सायीत हुन्थे र विश्वसनिय पत्रकारिताले समाजमा जग बसाल्ने ठाउँ पाउने थियो । त्यसैले राज्य सञ्चालनको तहमा रहेकाहरुले तल्लो तहदेखि यस कुराको सुधारको लागि पहल गर्नुपर्ने देखिन्छ । यति हुन नसके यो देशमा सरकारी सञ्चार माध्ययम र केहि पुराना विश्वसनिय मिडियाहरु बाहेक पछिल्ला समय व्यापार र व्यवसायको लागि खोलिएका सबै मिडियालाई खारेज गरेर सच्चा पत्रकारिता र विश्वसनिय मिडिया बनाउन राज्यले पहल गनुपर्ने देखिन्छ ।
यसतर्फ बुद्धिजिवि, अग्रज पत्रकारहरु र यस क्षेत्रमा विषय विषेषज्ञता हासिल गरेकाहरुले बेलैमा सोच, मनन र चिन्तनगरी एउटा समान धारण बनाई राज्यलाई नियन्त्रण गर्न सहयोग गर्नुपर्ने देखिन्छ । यति हुन सकेमात्र पत्रकारिता जगत जनताको विश्वासको साधन र सारथी बन्ने देखिन्छ । र नेपालमा सच्चा पत्रकारिता तथा सहि मिडियाहरुको विकास हुनेछ ।
सन्तोष बजगाई
बेलकोटगढी–९, नुवाकोट