• मुलुकमा बाढि, पहिरो र डुबानबाट ठूलो क्षति भएको छ । यस्तो अवस्थामा संसद अवरुद्ध गर्नु राम्रो कुरा होईन्: प्रमुख सचेतक उमाशंकर अरगरिया

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ श्रावण २०७६, आईतवार १८:२२

    काठमाडौं, १९ साउन । सत्तारुढ दल समाजवादी पार्टी, नेपालका संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले कांग्रेस र राजपाले अविलम्ब वार्तामार्फत सहमति गरेर संसद सुचारु गर्नुपर्ने बताएका छन् । उनले भने,‘देश अहिले राष्ट्रिय विपतिको बेला हो । मुलुकमा बाढि, पहिरो र डुबानबाट ठूलो क्षति भएको छ । यस्तो अवस्थामा संसद अवरुद्ध गर्नु राम्रो कुरा होईन् ।’

    आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अरगरियाले लाल आयोगको प्रतिवेदन सरकारले तत्काल सार्वजनिक गर्नुपर्ने पनि बताए । उनले भने,‘सभामुखले समेत सरकारलाई रुलिङ गरेको विषय हो, त्यसैले सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ ।’ उनले सर्लाहीको हत्या प्रकरणको विषयमा पनि स्थानीयस्तरमा सर्वदलीय बैठक बसेर सहमति भैसकेको सुनाए । उनले भने,‘कांग्रेसकै नेतृत्वमा त्यहाँ सर्वपक्षीय सहमति भएको छ । पीडितलाई क्षतिपूर्ति दिईएको छ ।’

    उनले एउटा घट्नालाई लिएर यसरी संसदीय छानबिन समिति गठन गर्दा गलत नजिर बस्नेतर्फ पनि सचेत गराए । उनले भने,‘यसअघिका कांग्रेस वा कम्युनिष्ट जसको सरकार भएको बेलामा पनि प्रहरी प्रशासनलाई भातृसंगठनको रुपमा प्रयोग गरिएको छ । धेरै नागरिकको हत्या भएको छ। त्यसैले बरु, दिर्घकालिन समाधानको लागि केही उपाय सोचौं । कांग्रेस र राजपाले जारी राखेको संसद अवरोधले देश र जनता दुवैलाई राम्रो गर्दैन् ।’

    त्यस्तै, उनले लोकसेवा आयोगको विज्ञापन संविधानविपरित प्रकाशित भएको विषय र आफूहरुले सम्बिन्धत मन्त्रीको राजीनामा मागेको विषयमा कांग्रेसको पर्याप्त ध्यान नगएकोतर्फ आक्रोश पोखे । उनले भने,‘हामीले लोकसेवा आयोगको विज्ञापन संविधानको मर्म र भावनाविपरित आयो । राज्य व्यवस्था समितिको बैठकको निर्देशन मन्त्रीले पालना नगरेको र बारम्बार अवज्ञा गरेकोले हामीले मन्त्री लालबाबु पण्डितको राजीनामा मागेका थियौं । यो विषयमा कांग्रेस मौन छ ।’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु