ललितपुर, ३० श्रावण – लगनखेल स्थित एतिहासिक न्हु पोखरी पूनर्निर्माण गुरुयोजना उपर बृहद छलफल गरिएको छ । उक्त छलफल कार्यक्रम ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, ललितपुर ०५ नम्बर वडाका अध्यक्ष बिकासमान श्रेष्ठ, सम्बन्धित उपभोक्ता समिती , पुर्वाधार समितिका सदस्यहरु, बिज्ञ एबम् महानगरका प्राबिधिक र वडा ५ का जन प्रतिनिधिको ऊपस्थितीमा सम्पन्न भएको हो ।
महानगरको बोर्ड हलमा आज आयोजित उक्त कार्यक्रम माझ छलफलका क्रममा पोखरी संरक्षण समितिका संयोजक आर्किटेक्ट विजय श्रेष्ठले गुरुयोजनाको प्राविधिक डिजाईन प्रस्तुत गरेका थिए ।आर्किटेक्ट श्रेष्ठद्वारा प्रस्तुत गुरुयोजना डिजाइनमा पोखरीको पुरानो संरचनालाई ध्यानमा राख्दै वर्तमान आवश्यक्ता अनुरुप आधुनिकता सुहाउँदो ढाँचालाई समेटिएको देखाइएको छ । सो आर्किटेक्ट डिजाइनले पार्क निर्माण, बत्ती जडान, पोखरीको तटबन्ध, खुला क्षेत्रको उपयोगिता, पानी संकलन आदी बिषयको प्राविधिक पक्षलाई समेटेको छ ।
छलफलका क्रममा मेयर महर्जनले न्हु पोखरीको पूनर्निर्माणका लागि महानगरपालिकाले आवश्यक बजेट विनियोजन गरेको बताउदै यसको पुनर्निमाण कार्य लक्षित समय भित्र नै सम्पन्न हुने बताए । मेयर महर्जनले आर्टिटेक्ट डिजार्इन उपर टिप्पणी गर्दै यसको प्राविधिक पक्ष अपाङ् मैत्री, वातावारण मैत्री र संरचनागत रुपमा सापेक्ष हुनुपर्ने धारणा राखेका थिए ।
त्यसै गरि ललितपुर ०५ नंबर वडाका अध्यक्ष विकासमान श्रेष्ठले पोखरीको पूनर्निर्माणमा मेयर महर्जन, स्थानिय बासिन्दा लगायतले देखाउदै आएको तदरुकताको प्रशंसा गरेका थिए ।
छलफलका क्रममा बिज्ञ एबम् महानगरका प्राबिधिकहरुले पोखरीको पूनर्निर्माण डिजाइनमा आंशिक परिमार्जनको लागि सुझाव पेश गरेका थिए ।