कतार – गैरआवासीय नेपली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति (एनसिसी) कतारको २०१९–२०२१ कार्यकालका लागि मोहम्मद मुक्तदा मुसलमानको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शुक्रबार सम्पन्न भएको निर्वाचनमा मुसलमानले अध्यक्षमा अर्का प्रत्यासी तेज कटुवाललाई पराजित गरेका हुन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी तेज कटुवाललाई फराकिलो मतले पराजित गरेका हुन् ।
प्रतिस्पर्धी कटुवालले प्राप्त गरेको १ हजार १ सय २६ मतलाई ९ सय ४० भोटले उछिन्दै मुक्तदाले २ हजार ६६ मत प्राप्त गरेका थिए। निर्वाचनबाट मुक्तदा समर्थक कार्यसमिति निर्वाचन भएको छ । दोहा । अन्य पदमासमेत मुसलमानले नेतृत्व गरेको समुहका उम्मेदवारले क्लिन स्विप गरेका छन् । त्यस्तै आईसीसी सदस्यमा ४ जना विजयी भएका छन् । जसमा रमेश भट्ट, होमनाथ शर्मा , युवराज शर्मा र केबी हमाल रहेक छन्।
यसैगरी प्रथम उपाध्यक्षमा मुक्तदा समुहकै उत्तम गुरुङ विजयी भएका छन् । उनले २ हजार १ सय ९३ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नारायण भण्डारीले ८ सय ९० भोट ल्याएका थिए । द्वितीय उपाध्यक्षमा टंक कुमार खड्का विजयी भए । खड्काले २ हजार १ सय ५६ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी ईश्वर काफ्लेले ८ सय ८७ मत ल्याएका थिए।
त्यस्तै महासचिवमा पदम गिरि विजयी भएका छन्। उनले १ हजार ९ सय ५ भोट प्राप्त गरे भने उनका निकट प्रतिस्पर्धी माया केसीले १ हजार १ स भोट पाइन्।सचिवमा अपसर खान र नेत्र भुजेल (नियम) विजयी भएका छन्। खानले १ हजार ९ सय ८८ र भुजेलले २ हजार ६ सय मत ल्याएका थिए। कोषाध्यक्षमा विनोद प्रसाद बसौला विजयी भए । उनले प्रतिस्पर्धी राम प्रसाद गौतमको ८ सय १६ भोटका विरुद्ध २ हजार ५९ भोट ल्याएका थिए। सहकोषाध्यक्षमा तनबिर आलम विजयी भएका छन् । उनको भोट १९ सय ४३ छ भने निकटतम प्रतिस्पर्धी बुद्धबहादुर पाण्डेको १ हजार १ भोट रहेको छ।
युवा संयोजकमा रविन मगर विजयी भएका छन् । प्रतिस्पर्धी श्याम कुमार डाँगीले ल्याएको ७ सय ४६ मतभन्दा १५ सय ३० भोट बढी प्राप्त गर्दे मगरले जित्न सफल भए। महिला उपाध्यक्षमा सरिता भण्डारी र महिला संयोजकमा अम्बिका खत्री यसअघि नै निर्विरोध चयन भएका थिए। विजयी हुने उनीहरु सबै मुक्तदा समूहकै उम्मेदवार हुन्। निर्वाचन दोहास्थित नेपाली राजदूतावासमा शुक्रबार सम्पन्न भएको थियो।
मुक्तदा एनआरएनए एनसीसी कतारको सल्लाहकार, अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजका निवर्तमान अध्यक्षसहित विभिन्न सामाजिक संघसंस्थामासमेत आवद्ध रहेका छन् । कतारमा व्यवसाय गरिरहेका मुक्तदा अघिल्लो कार्यसमितिमा पनि अध्यक्षका उम्मेदवार थिए । उनी यसपटक अघिल्लो पटकको हारलाई बदलेर एकपटक एनआरएनए एनसीसी कतारको नेतृत्व सम्हाल्ने घोषणासहित निर्वाचनमा लागेका थिए । बिजयपछि जनसवाल डटकमसमग कुरा गर्दै उनले भने –‘सामाजिक काम गर्नका लागि हरेक कुरा दिन सक्नुपर्छ, त्यसका लागि म तयार भएर आएको छु र सबैको समर्थनमा काम अघि बढाउनेछु ।’
अध्यक्षमा बिजयी मुक्तदाको नेकपा पार्टीमा बलियो पहुँच रहेको छ । एनआरएनए अभियानमा अनुभवसमेत बटुलेका मुक्तदाले संस्थाभित्र रहेर काम गर्दाको अनुभव र भोगाइबाट संस्थालाई थप गतिशील बनाउन लिइएको लक्ष्य र आफ्ना कामको सूचीहरुलाई अघि बढाउने बताएका छन् । कतारमा आएर नेपालीहरूले प्राप्त गरेको ज्ञान, सीप, क्षमता र अनुभवलाई नेपाल र नेपालीको हितमा जोड्ने कामलाई परिणाममुखी बनाउने उनको प्राथमिक एजेन्डा उनको घोषणा पत्रमा रहेको छ । उनले वर्तमान कार्यसमितिले सुरुवात गरेका राम्रा कामहरूको निरन्तरतामा पनि आफ्नो प्राथमिकतामा रहने बताउँदै प्रवासमा भावनात्मक तथा एकताको मार्गमा सँगै अगाडि बढ्नु पर्छ भन्ने चाहना राख्दै सबै तह र तप्काका व्यक्तिहरूसँग समन्वय गरी संस्थालाई एक दरिलो खम्बा बनाउने बताएका छन् । उनले नेपालीहरुलाई रोजगारीको अवसर, श्रमिक कल्याणकारी कोष, नेपालमा उत्पादित कृषिजन्य बस्तुको कतारमा बजार विस्तार, नेपाली विद्यालयको स्थापना, नेपालको पर्यटन प्रवद्र्धन, कामदारहरुको स्वास्थ्य उपचारमा मद्दतलगायतका मुद्दालाई प्राथमिकता दिने बताइसकेका छन् ।