काठमाडौं – चलचित्र ‘छ माया छपक्कै’को पहिलो गीत सार्वजनिक भएको छ । गीत सार्वजनिकसँगै चलचित्रको प्रदर्शन मिती असोजको २४ गते पनि तय गरिएको हो ।
‘जुनको जुनेली’ बोलको गीतमा बसन्त थापाको संगीत र राजेन्द्र थापाको शब्द रहेको छ भने गीतमा स्वयम् बसन्त र मिना निरौलाको स्वर रहेको छ । लोक शैलीमा रहेको रोमान्टिक उक्त गीतमा चलचित्रका मुख्य कलाकारहरुलाई फिचरिङ गरिएको छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकारहरु दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, वुद्दि तामाङ लगायतको फिचरिङ रहेको छ ।
आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् । विपिन मल्लको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, हरि हुमागाँइको छायांकन रहेको चलचित्रमा दिपकराज गिरीको पटकथा, दिपेन्द्र लामाको कथा रहेको छ ।